मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघकी सहायक महासचिवबीच भेटवार्ता, पर्यटनमा सहकार्य गर्ने प्रतिबद्धता
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजाबीच भेटवार्ता भएको छ। बिहीबार मुख्यमन्त्रीसँग भएको भेटवार्तामा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव र कोइकाका नेपाल प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा।रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहका खड्गबहादुर कमाल भेटमा सहभागी भएका थिए।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टर समेत रहेकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए।
मुख्यमन्त्री पोखरेलले संघीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्यांक व्यवस्थापन र अनुभवहरुको आदान प्रदानमा सहयोगको अपेक्षा गरेको उल्लेख गरे।
गण्डकी प्रदेश सरकारले युएनडिपी सँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी मुख्यमन्त्री पोखरेलले गराएका थिए।
उनले पर्यटन, उद्योग, कृषि आदिको पुनरुत्थानका लागि प्रदेश सरकारले काम आरम्भ गरिसकेको बताए। दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजानुका साथै दिगो विकास लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको स्थानीयकरणको कार्य थालेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो।
मुख्यमन्त्री पोखरेलले नेपालले विकासका विविध आयामसँगै प्रविधिमा दक्षिण कोरियाबाट सहयोग पाएको बताउँदै नेपाली श्रमिकहरुले कोरियामा सेवा गर्ने अवसर पाएको बताए। उनले गण्डकी विश्व विद्यालय र प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले कोइका समक्ष राखेको प्रस्तावबारे उनले स्मरण गराएका थिए।
मुख्यमन्त्री पोखरेल इसिमोडको सहयोगले नेपालका लागि उपयोगी हुँदै गएको बताउँदै पर्वतमालाको संरक्षण र वातावरण संरक्षणमा इसिमोडले खेलेको भूमिको प्रशंसा गरे।
सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताइन्। उने भनिन, ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकोमा आभारी छु। साझा समस्या समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ। गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्न सबैले सँगै सहकार्य गर्नुपर्छ।’
मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा सांकेतिक रुपमा वृक्षारोपण गरेको छ।
जेठ २६, २०७९ बिहीबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।