तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौँ : मेयर आचार्य 

तीन वर्षभित्र सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्छौँ : मेयर आचार्य 

पोखरा : पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ। बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले नाला निर्माणको शिलान्यास गरेका छन्। 

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री खड्काले नाला निर्माणको काम सुरुवात गर्नु बसपार्क निर्माणकै काम सुरु भएको बताए। उनले प्रदेश सरकारले थाले पनि पोखरा महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे। त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। 

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाए। उनले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रूपमा विकास गर्ने दृढता व्यक्त गरे। 

पोखरामा रहेको पुरानो बसपार्कलाई सिटीबसपार्कबनाउने र ठुलो बसपार्क पोखरा ३३ लामेआहालमा निर्माण गरिने मेयर आचार्यले बताए। उनले पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई समेत सिटी बसपार्कका रूपमा विकास गर्ने उल्लेख गरे। 

मेयर आचार्यले गएको १० वर्षमा पोखराको जनसंख्या दोब्बर बृद्धी भएको बताउँदै अहिले पोखरामा पाँच लाख भन्दा धेरै जनसंख्या रहेकाले यहाँ आउजाउ गर्नेसहित २० लाखको जनसंख्यालाई मध्यनजर गरेर बसपार्क निर्माण गरिने बताए। 

मेयर आचार्यले निर्वाचनका बेला गरिएको बाचा अनुरूप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविडी र धोलागिरि बाट प्रवेश गर्ने बित्तिकै पोखरा प्रवेश गरेको महसुस गर्ने गरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने दाबी गरे। उनले सुकुम्वासीको बसोबास रहेको पोखरा बसपार्कमा उनीहरू सन्तुष्ट हुने गरी योजना बनाएर बसपार्क निर्माण गर्ने बताए । उनले भने,‘यस क्षेत्रमा सुकम्वासीहरुकोबसोबास रहेको छ। अन्य समस्याहरू समेत यहाँ रहेका छन् । सबै समस्याको समाधान गरेर हामी तीन वर्षभित्र आधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गरिसक्छौँ । कसैले हामी माथी अन्याय हुन्छकी भनेर सोच्न जरुरी छैन। पोखरा निर्माणका लागि सबै सकारात्मक बनेर योगदान गरौँ।’ 

उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिबद्धता समेत जनाए। झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको यस जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन। पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जाने बाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ।

जेठ २५, २०७९ बुधबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।