अमृता टन्डन मृत्यु प्रकरण : घर र माइती पक्षको विवादले शव ५६ दिनदेखि अस्पतालमै
बुटवल : मृत्यु भएको ५६ दिन बितिसक्दा पनि रूपन्देहीको तिलोत्तमा-२, जानकीनगरकी अमृता खत्रीको अन्त्येष्टि हुन सकेको छैन। उनको शव अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ।
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा, जानकीनगरकी अमृताको मृत्यु ३० चैतमा भएको थियो। उनको मृत्यु शंकास्पद भएको भन्दै माइती पक्ष अहिले पनि आन्दोलित छ। माइती पक्षले निष्पक्ष छानविनका लागि दबाब दिँदै अहिलेसम्म शवको अन्त्येष्टि गर्न मानेका छैनन्।
माइती पक्षकै सल्लाहमा शवको पोष्टमार्टम गरे पनि न्याय नपाउँदासम्म शव अन्त्येष्टि नगर्ने माइती पक्षले बताएको छ। माइती पक्ष सडकमा आन्दोलनमा आएपछि अधिकारकर्मीहरुले समेत उक्त आन्दोलनमा ऐक्यद्धता जनाएका थिए। अमृताको भिसेरा परीक्षणको रिपोर्ट आउन बाँकी नै छ।
अमृताको शव प्रादेशिक अस्पतालमै रहिरहेका बेला केटा पक्षको परिवारले भने शवको अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै अदालतमा रिट दायर गरेको छ। अमृताको अन्त्येष्टि गर्न पाउनुपर्ने भन्दै माइती पक्ष र अधिकारकर्मीलाई विपक्षी बनाएर परिवारले उच्च अदालत तुल्सीपुरमा रिट दायर गरेका हुन्।
टण्डन परिवारले माइती पक्ष सहित इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, मेची-महाकाली बुहारी अभियानलाई विपक्षी बनाएर दायर गरेको रिटमा विपक्षीहरुले मानवअधिकारको हनन् गरेको, अन्त्येष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्न समेत असुरक्षित भएको उल्लेख छ।
अमृताको मृत्यु शंकास्पद भन्दै माइती पक्ष श्रीमान् प्रेम टण्डन, उनका बुबा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिई दबाबका लागि भन्दै सडक आन्दोलनमा उत्रिएका थिए।
जिल्ला अदालत रुपन्देहीले श्रीमान् प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाएको छ भने प्रमाण नपुगेको भन्दै मृतकका सासु दिपा टण्डन र ससुरा टहलसिंह टण्डन दुवैलाई जनही २/२ लाख धरौटीमा रिहा गरेको छ।
प्रेम विवाह गरेकी अमृताले घरमा बारम्बार मानसिक यातना पाइरहेकी थिइन्। उनका दाजु पुष्पक खत्रीले बहिनीलाई विभिन्न बहानामा मानसिक यातना दिने गरेकाले अमृताको मृत्यु नभई परिवारकै मिलेमतोमा हत्या भएको बताए।
यतिसम्म कि अमृताले मृत्यु हुनुअघि गत ३ भदौमा वडा कार्यालयमा समेत श्रीमान् तथा परिवारले दाइजो नल्याएको भन्दै सताउने गरेकाले घरमा बस्ने वातावरण नरहेको व्यहोरा खुलाउँदै उजुरी दर्ता गरेकी थिइन्। त्यसपछि वडाले घर र माइती पक्षलाई कार्यालयमा बोलाएर सहमति गराएको थियो।
घटना हुने दिन पनि अमृता माइतमा रहे पनि उनका श्रीमान् प्रेम टण्डनले बारम्बार फोन गरेर बोलाएका थिए। त्यसपछि घर पुगेकी अमृताले ‘म यहाँ बस्न सक्दिनँ, मलाई बचाउनुहोस् दाइ, म मर्न चाहन्नँ’ भनेर म्यासेज पठाएकी थिइन्।
त्यसको केही मिनेटमा अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेमले अमृताका दाजु पुष्पकलाई अस्पतालमा बोलाएका थिए। तर त्यहाँ पुग्नासाथ उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए।
दाजु पुष्पकले घरमै बहिनीको हत्या गरी अस्पताल लगेर नाटक गरेको बताए। उनले शव जलाएर न्याय नमिल्ने भएकाले न्याय नपाउँदासम्म बहिनीको अन्त्येष्टि नगर्ने समेत बताए। उनले जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा जाहेरी दिइएको बताए। उनले घटनामा प्रत्यक्ष संलग्न अमृताका ससुरा टहलसिंह टण्डन र सासु आमा दिपा टण्डन धरौटीमा छुटेको भन्दै जाहेरी दिएको जानकारी दिए।
‘जिल्लाबाट न्याय नपाएपछि उच्च अदालतमा निवदेन दिएका छौं। आशा छ, न्याय यहाँबाट मिल्छ,’ उनले भने।
रूपन्देही प्रहरीका प्रवक्ता नवरत्न पौडेलले अमृताको मृत्यु प्रकरणमा अनुसन्धान गरी सबै विवरण अदालतमा बुझाइसकेको बताए।
जेठ २५, २०७९ बुधबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।