यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पुर्णपाठसहित)

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पुर्णपाठसहित)

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन्। यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ। उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रूपमा मान्दै आएका छन्। मुख्यमन्त्रीको यही सूत्रलाई मूल उद्देश्य ठानेर विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई समेत निरन्तरता दिइएको उल्लेख गरिएको छ।

मुख्यमन्त्रीसँग जोडिएर आएका अधिकांश पुराना कार्यक्रमहरूलाई पनि निरन्तरता दिइएको छ। यसअघि लोकप्रिय मानिएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिएको छ। सरकारले उपलब्धिका रूपमा यही कार्यक्रमका लिँदै आएको छ। अघिल्लो पटक निकै लोकप्रिय मानिएको कर्णाली उज्यालो कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।

खेलकुद पूर्वाधारका क्षेत्रमा र प्रदेश रंगशालालाई निरन्तरता दिइएको छ। पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पतालका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने नीति, कार्यक्रममा समेटिएको छ। 

संघीय सरकाले ल्याएको बजेटकै जगमा रहेर सुर्खेतको रामघाटमा बन्ने विमानस्थललाई समन्वयकारी भूमिका खेल्ने बताइएको छ। प्रदेशको परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक, व्यावसायिक, प्रतिस्पर्धात्मक, उच्च मूल्ययुक्त र जलवायुमैत्री बनाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्न आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

यस्तै सबै किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ। कृषि क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यावसायिक कृषकलाई ‘मुख्यमन्त्री कृषक सम्मान’ कार्यक्रमबाट सम्मान गरिने उल्लेख गरिएको छ। यस्तै वन क्षेत्रको विकासका लागि केही नयाँ कार्यक्रम ल्याइएको छ।

‘दिगो वन व्यवस्थापन: स्वच्छ र समृद्ध जीवनयापन’ भन्ने सोचको कार्यान्वयन गर्न वन पैदावारको सहज र सरल आपूर्ति, वन क्षेत्रबाट हुने राजस्व सङ्कलनमा अभिवृद्धि र वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरिने उल्लेख छ। उपयोगी र मूल्यवान प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षारोपण कार्यलाई अभियानको रूपमा अगाडि बढाउन आर्थिक वर्ष २०७९–०८० लाई ‘कर्णाली वृक्षारोपण वर्ष’ घोषणा गरी कार्यक्रम कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा भनिएको छ।

जेठ २४, २०७९ मंगलबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।