गण्डकी प्रदेश सरकारले मिर्गौला प्रत्यारोपणदेखि जनआन्दोलन, जनयुद्धका घाइतेको निःशुल्क उपचार गर्ने

गण्डकी प्रदेश सरकारले मिर्गौला प्रत्यारोपणदेखि जनआन्दोलन, जनयुद्धका घाइतेको निःशुल्क उपचार गर्ने

पोखरा : गण्डकी प्रदेश सरकारले पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ। प्रदेश सरकारको आगामी आर्थिक २०७९–०८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने बताए।

उनले प्रदेश सरकारले मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने बताए। पोखरामा ५० शय्याको मुटु रोग अस्पताल स्थापना र सञ्चालन गर्ने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उल्लेख गरे।  

उनले सरकारले आगामी आर्थिक वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषण भत्ता उपलब्ध गराउने बताए। गुरुङले सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहिद तथा बेपत्ता भएकाहरूका परिवार एवं घाइते, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचार निःशुल्क गर्ने बताए। 

प्रदेश प्रमुख गुरुङले प्रदेश मातहतका सबै अस्पतालमा उनीहरूको उपचार निःशुल्क गर्ने व्यवस्थाको सुनिश्चित गरिने उल्लेख गरे। त्यसैगरी सरकारले गण्डकी प्रदेशलाइ सुन्तलाको पकेट प्रदेशका रुपमा विकास गर्ने कार्यक्रम ल्याएको उनले बताए। उनले भने ‘गण्डकी प्रदेश सुन्तला जातको फलफूलको पकेट क्षेत्र भएको हुँदा यसको व्यावसायिक खेती गर्ने किसानहरूलाई अनुदान दिने नीति लिइने छ।’

सरकारले सुन्तला जातको फलफूलको उत्पादन वृद्धि गर्न नयाँ बगैँचा स्थापनासँगै पुराना बगैँचाको बिस्तारसँगै बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ। त्यस्तै प्रदेशले युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने भएको छ।

प्रदेश प्रमुख गुरुङले सरकारले प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाउने बताए। उनले वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने उल्लेख गरे। गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने गुरुङले बताए।
 

जेठ २४, २०७९ मंगलबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।