यातायात कार्यालय कास्कीले तत्काल नयाँ र सरुवा दर्ता भई आउने सवारीको मात्र इम्बोस्ड जडान गर्ने
पोखरा : यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ।
यातायात व्यवस्था विभागले बागमतीसहित गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनका धनीलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नुपर्ने उर्दी जारी गर्दै यदी नजोडेको अवस्थामा कारबाही गर्ने सूचना जारी गरेसँगै सेवाग्रहहिको भिड बढेपछि कार्यलयले मंगलबार सूचना जारी गर्दै दिनमा सिमित संख्यालाई मात्र सेवा दिन सक्ने बताएको हो।
कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने पूर्वाधार र जनशक्ति नभएको उल्लेख गर्दे दैनिक रुपमा ४० देखि ५० जालाई मात्र इम्बोस्ड नम्बर प्लेट दिन सक्ने बताएको हो। सेवाग्राहीलाई सेवा दिन सक्ने गरी आवश्यक पूर्वाधारसहित जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि कार्यालयले नयाँ दर्ता भएका र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जानकारी दिएको छ।
‘सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल नयाँ दर्ता भएका तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने छ’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकारले एक महिना समयावधि तोकेर सूचना जारी गरेपछि अहिले कार्यालय परिसरमा सवारी साधनको भिड लागेको छ। यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल उपकरण तथा जनशक्तिको क्षमता अनुसार दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान मात्र गर्न सक्ने क्षमता रहेको उल्लेख गरेको छ। यातायात कार्यालय गण्डकीमा ठुला साना गरी २ लाख ८६ हजार सवारी साधन दर्ता रहेका छन्।
जेठ २४, २०७९ मंगलबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।