सुर्खेत जिसस निर्वाचन : माओवादी एमालेसँग मिल्ने पक्का, कांग्रेस तनावमा

सुर्खेत जिसस निर्वाचन : माओवादी एमालेसँग मिल्ने पक्का, कांग्रेस तनावमा

सुर्खेत : जिल्ला समन्वय समिति सुर्खेतको २७ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनलाई छोडेर माओवादीले एमालेसँग गठबन्धन गरेपछि कांग्रेसलाई तनाव भएको छ। गठबन्धनको निर्णय विपरीत माओवादीले एमालेसँग गठबन्धन गर्ने निर्णयसँगै मनोनयन दर्ता गरेको हो।

प्रमुख उपप्रमुखसहित ९ वटै पदमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन्। प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका हुन।

यस्तै, सदस्यमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमट्टाले मनोनयन उम्मेदवारी दिएका छन्।
माओवादीबाट शान्ति ताराम मगर र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी कांग्रेसबाट प्रमुखमा  दिलीप वाग्ले, सदस्यमा उजिर सिं विक, रत्नादेवी ढुंगाना, लिलाजंग शाह, गौरी परियारले मनोनयन दर्ता गरेका छन्। यद्यपी माओवादीका लागि भने कांग्रेसले उपप्रमुख र तीन सदस्य समेत माओवादीका लागि खाली छोडेर मनोनयन दर्ता गरेको छ। मओवादीलाई साथमा लिनका लागि एमाले र  कांग्रेसले प्रतिस्पर्धा गरिरहेका छन्।

सत्तारुढ गठबन्धन दलहरुबीच जिल्लाको भागवण्डा गरेर पाँच जिल्लामा कांग्रेस, चार जिल्लामा माओवादी र एक जिल्लामा समाजवादीले प्रमुख पाउने भनेर प्रदेश संयन्त्रले निर्देशन दिएपछि त्यस विपरीत जिल्लास्तरमा गठबन्धन दलहरु लागेका छन्।

‘कांग्रेससँग हाम्रो सहमति भएन। कांग्रेससँगको सहमति भएकै कारण हामीले स्थानीय तहको निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्यो’ माओवादी केन्द्रका एक नेताले भने, केन्द्रले गरेको गठबन्धनबाट हामीलाई घाटा भयो।’

सुर्खेतमा जिल्ला समन्वय समितिमा एमालेका ९, माओवादीको एक र कांग्रेसको आठ मतदाता रहेको छ। यसरी हेर्दा जिससको निर्वाचनका लागि माओवादी नै निर्णायक देखिएको छ।

जेठ २४, २०७९ मंगलबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।