एक रात पनि टिकेन काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सम्झौता, स्थानीय पुन: आन्दोलित
काठमाडौं: बन्चरे डाँडामा काठमाडौंको फोहोर बिसर्जन गर्ने सम्बन्धमा सोमबार राति भएको सहमति मान्य नहुने भन्दै स्थानीयबासीले पुन: अवरोध गरेका छन्।
सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमति/सम्झौता आफूहरुलाई चित्त नबुझेको भन्दै धुनिबेसीका केही स्थानीबासीले काठमाडौंबाट बन्चरे डाँडा ल्याण्डफिल साइट पुगेका गाडी रोकेर मंगलबार बिहानदेखि अवरोध सिर्जना गरेका हुन्।
स्थानीयले आफ्ना माग पूरा नभई फोहोर व्यवस्थापन गर्न लागेको भन्दै अवरोध सिर्जना गरेको धादिङ धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले बताए।
‘फोहोर पनि लाने, व्यवस्थापन पनि सँगै गर्ने र अरु पनि जोडिन्छ भनेर हामीले हस्ताक्षर गर्यौं। तर जनताको माग भने अलग छ,’ उनले उकेरासँग भने, ‘बन्चरे डाँडामा अव्यवस्थित भएकोले तत्काल कम्तीमा त्यसलाई व्यवस्थित गरेर मात्र फोहोर ल्याउनूस् भन्ने स्थानीयबासीको माग छ। महानगरपालिका, फोहोर व्यवस्थापन समिति, मन्त्रालय को-को आउनुपर्छ, उहाँहरु आफूहरुको सामुन्ने आएर प्रतिबद्धता गर्नुपर्यो। अनि मात्र मान्य हुन्छ भन्ने उहाँहरुको माग छ। हामी जनप्रतिनिधिले हस्ताक्षर गरेर मात्र भएन भन्ने छ।’
हतारमा सम्झौता गराउँदा अवरोध
सोमबार साँझ प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधि, मन्त्रालय, महानगर लगायतका सम्बन्धित निकायको रोहबरमा उपत्यकाको फोहोर बन्चरे डाँडामा बिसर्जन गर्ने सहमति भएको थियो। सहमतिपश्चात् मंगलबारदेखि उठेको फोहोर सहजै बिसर्जन हुने अपेक्षा राखिएको थियो।
सोमबारको सम्झौता हतारमा गरिएकोले आज समस्या उत्पन्न भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए। ‘महानगरपालिका, मन्त्रालयलगायत सम्बन्धित निकायले हतारमा सहमति गर्नुभयो,’ उनले भने, ‘हामीले हिजै अहिले हतार नगरौं, भोलि बिहान मन्त्रालयका सचिव, महानगर, नगरका मेयर-उपमेयरहरु, प्रभावित क्षेत्रका जनप्रतिनिधि सबैको उपस्थितिमा सम्झौता र सहमति गरौंला भन्ने कुरा राखेका थियौं। तर उहाँहरुले यो सबै मिडियाबाट भइहाल्छ, सबै जनाले बुझ्नुहुन्छ भनेर हल्का रुपमा लिनुभयो, अहिले समस्या आयो।'
उनकाअनुसार सम्झौताको क्रममा प्रभावित गाउँका मुख्य व्यक्तिलाई प्रष्ट पार्न सकेको भएको आज अवरोध सुरु हुने थिएन। आज फेरि समस्या सिर्जना हुने थिएन।
सोमबार भएको सम्झौता स्थानीयलाई चित्त नबुझेकोले आन्दोलनमा उत्रिएको अध्यक्ष तामाङले बताए। ‘त्यहाँका नागरिकको मुख्य समस्यामा केन्द्रित रहेर हिजो सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। तर आज फेरि केही पात्रहरुले सहमति चित्तबुझ्दो नभएको र सो सम्झौता मान्य नभएको भन्दै अवरोध खडा गरिरहेको भन्ने छ,’ उनले भने, ‘आज कार्यपालिकाको बैठक भएकोले हामी पनि तत्काल फिल्डमा जान पाएका छैनौं। तर पनि मुख्य समस्या हल गर्न हामी सबै तत्पर नै छौं। विगतमा जस्तो कागजमा मात्र सीमित हुँदैन भनेर हामीले उहाँहरुलाई कन्भिन्स गरिरहेका छौं। यस पटक जसरी पनि कार्यान्वन जसरी पनि हुन्छ, धोका हुँदैन भनिरहेका छौं।’
विगतमा भएका गल्ती दोहोरिने आशंकाले केही स्थानीयहरुले पछि हट्न नमानेको उनले बताए। ‘विगतका सम्झौताहरु कार्यान्वयन नभएको, कागजमै सीमित रहेको हुँदा अहिले पनि त्यही दोहोरिने पो होकी भन्ने उहाँहरुको आशंका छ। विश्वस्त हुन नसकेपपछि पूर्ण रुपमा बन्द गर्ने भन्ने चर्को आवाज उठिरहेको छ,’ उनले भने।
यता बन्चरे डाडाँको अवस्था बुझ्न र वार्ता सफल पार्न काठमाडौं महानगरपालिकाको टोली फिल्डमा खटिन लागेको काठमाडौं महानगरपालिका नगर प्रहरीका डिएसपी पूर्णचन्द्र भट्टले जानकारी दिए।
‘फोहोर लिएर गएका गाडीहरु स्थानीयको अवरोधका कारण बाटोमै छन् भन्ने सुनेका छौं। तत्काल त्यहाँ पुग्ने अवस्था छैन। हामी त्यहाँको अवस्था बुझ्न जाँदैछौं,' उनले भने, ‘फेरि अवरुद्ध भए पनि सहमतिका लागि वार्ता जारी छ। हामी फिल्डमै जाँदैछौं।’
जेठ २४, २०७९ मंगलबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।