बुटवल उपमहानगरलाई करको लोभ हुँदा सडक र फुटपाथ व्यापारीको कब्जामा

बुटवल उपमहानगरलाई करको लोभ हुँदा सडक र फुटपाथ व्यापारीको कब्जामा

बुटवलः बुटवलको सडक र फुटपाथ यतिबेला हाटबजार व्यवसायीको कब्जामा पुगेको छ। सडक र फुटपाथमै व्यवसाय गरिँदा पैदलयात्रुलाई सडक पार गर्न र हिँड्न निकै सकस हुन थालेको छ।

तर, नियमनकारी निकाय बुटवल उपमहानगरले देखेको नदेखेझैं गरिरहेको छ। उल्टै कारबाही गर्नुसाटो प्रश्रय दिइरहेको छ। वर्षेनी हाटबजार व्यवसायबाट ठेकेदार लगाएर बैठकी कर असुल्दै आएको छ।

‘नियमन गर्ने स्थानीय तह हो। तर उसले हाटबजारको सेडभन्दा बाहिर हाटबजार लगाउनेबाट ठेकेदार मार्फत कर असुल्छ । हामीले व्यापारीहरूलाई त्यहाँ बसेर बजार नलगाउन पटक–पटक भनेका छौँ। तर पनि कर असुल्ने गरेपछि उनीहरू त्यहाँ बसेका छन्। नियमन निकायले यसमा चासो दिनुपर्छ’, हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जिसीले भने।

यस्तै फुटपाथमा व्यापार गर्नु रहर नभएर बाध्यता भएको भन्दै उनले यसलाई सामान्य रूपमा लिन समेत आग्रह गरे।

उपमहानगर व्यवसायी र आम नागरिकको समस्यामा गम्भीर नहुने तर कर असुल्नमा मात्र केन्द्रित हुनुले पनि यस्तो समस्या आएको उनको बुझाइ छ।

बुटवल उपमहानगरले फुटपाथ व्यवसायलाई नियमन र नियन्त्रण गर्न नसकेपछि व्यवसायीले नै अटेर गरेकाले कर असुल्न बाध्य भएको हास्यास्पद तर्क दिने गरेको छ।

बुटवलको हाटबजारलाईनमा कान्ति स्कुलअगाडि, टेलिकमअगाडि बाटो नै छेक्ने गरी हाटबजार सञ्चालन हुँदै आएको छ। दीपनगरमा पनि सडकमै हाटबजार लाग्दै आएको छ। देवीनगर, नयाँगाउँ, रानीगञ्जको अवस्था पनि उस्तै छ।

बुटवलको हाटबजारमा अन्य स्थानमा भन्दा बढी सेड छन् भने दीपनगर, देवीनगर, नयाँगाउँ, रानीगञ्ज लगायतमा सेडभन्दा बढी व्यवसायीहरूले फुटपाथ र सडकमै हाटबजार लगाउँदै आएका छन्।

फुटपाथ र सडकमै हाटबजार लाग्दा दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिहरू बढी समस्यामा परेका छन्। अपाङ्गता भएका व्यक्तिहरूको हकहित, अधिकार, पुर्नस्थापना, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने स्वतन्त्र विकास समाज नेपालकी प्रमुख सावित्रा घिमिरे ह्विलचेयर प्रयोग गर्न फुटपाथबाट सम्भव नै नभएको र मुख्य सडकमा ह्विलचेयर प्रयोग गर्दा कतिपय अपाङ्गता भएका व्यक्तिहरू दुर्घटनामा परेको समेत बताउँछिन्।

‘बौद्धिक अपाङ्गता भएकाहरूलाई अभिभावकले हिँडाउनु पर्छ। तर फुटपाथमा व्यवसायीहरूले व्यापार गर्दा अभिभावकहरूले मुख्य राजमार्गबाटै डोहोर्याउनुको विकल्प हुँदैन। त्यसैले फुटपाथलाई खाली गर्न सरोकारवाला निकायले चासो दिनुपर्छ’, उनले भनिन्।

यता बुटवल उपमहानगरले फुटपाथ व्यवसायलाई नियमन र नियन्त्रण गर्न नसकेपछि व्यवसायीले नै अटेर गरेकाले कर असुल्न बाध्य भएको हास्यास्पद तर्क दिने गरेको छ।

व्यवसायीको भने गुनासो नै गुनासो छ। उपमहानगरले आफूहरूसँग कर उठाउने तर आफूहरूको समस्यामा गम्भीर नबन्ने संघका अध्यक्ष जिसीले बताए।

उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख दामोदर ज्ञवालीले सडक र फुटपाथमा व्यवसायीले व्यापार गरेकै कारण ठेकेदारले कर असुल्ने गरेको बताए। हाटबजारमा सेड खाली भए पनि व्यवसायीले बाटो खोज्दै व्यापार गर्दा ठेकेदार शुल्क उठाउन बाध्य भएको बताए।

‘व्यवसायीलाई सडक र फुटपाथ छाडेर व्यापार गर्न आग्रह गरे पनि उनीहरू अटेरी गरेर सडकै बजार लगाउँछन्। बाटोमा नबसे ठेकेदारले कर लिँदैन। बाटोमा बसेपछि त कर लिनै पर्यो’, उनले भने।

उनले सडक र फुटपाथमा बजार नलगाउन विभिन्न अभियान सञ्चालन गरे पनि कुनै पनि परिर्वतन नआएको स्वीकारे।

कर असुल्छ, गम्भीर बन्दैन
बुटवल उपमहानगरपालिकाले हाटबजार व्यवसायीहरूबाट वार्षिक एक करोड रुपैयाँ कर उठाउँछ। सबैभन्दा बढी बुटवल–५ स्थित हाटबजारबाट कर असुल्ने गरेको छ उपमहानगरले।

तर, त्यहाँका व्यवसायीको भने गुनासो नै गुनासो छ। उपमहानगरले आफूहरूसँग कर उठाउने तर आफूहरूको समस्यामा गम्भीर नबन्ने संघका अध्यक्ष जिसीले बताए।

हाटबजारमा रहेको शौचालय जीर्ण भएकाले सुधार गर्न, खानेपानीको समस्या, विद्युत विस्तार, सेडहरू समेत ढलान गर्न बाँकी रहेकाले यसबारे आफूहरूले बारम्बार माग राखे पनि सम्बोधन नभएको उनले बताए।

‘हामीबाट कर असुल्ने तर हामीबाट उठाएको करकै पैसाको केही प्रतिशत हाम्रै क्षेत्रमा लगानी नभएको यथार्थ सबैसामु छ। यसमा पालिका गम्भीर बनेर हाम्रा माग सम्बोधन हुनुपर्छ’

उनले मेयर खेलाराज पाण्डेयसँग भेटेरै संस्थागत रूपमा आफ्ना मागहरू पेश गरेको बताए। बुटवल- ५ हाटबजार, दीपनगर हाटबजार, देवीनगर हाटबजार, रानीबजार हाटबजार, नयाँगाउँ हाटबजार क्षेत्रभित्र विकास पूर्वाधारका न्युनतम कार्यहरू गर्न माग गर्दै नगरप्रमुख पाण्डेलाई ध्यानाकर्षण गराएको बताए।

संघका अनुसार बुटवलको हाटबजारबाट उपमहानगरले ठेकेदार मार्फत ६० लाख रुपैयाँ कर उठाउँदै आएको छ। दीपनगरबाट १५ लाख, देवीनगरबाट ७ लाख र रानीगञ्ज, नयाँगाउँ लगायतबाट १८ लाख गरी करिब एक करोड कर व्यवसायीबाट उठाउने गरेको संघले जनाएको छ।

जिसीका अनुसार दीपनगर हाटबजारमा खानेपानी, शौचालय, विद्युतिकरण, सेड ट्रस्ट, नाली निर्माण समेत नहुँदा व्यवसायीले सास्ती पाएका छन्।

देवीनगर हाटबजारमा समेत नाली व्यवस्थापन, खानेपानी, फोहोरमैला व्यवस्थापन नभएको उनले बताए। उनले हाटबजार कोरिडोरभित्र पर्ने भन्दै यसको अनिवार्य विकल्प उपमहानगरपालिकाले खोजिदिनुपर्ने बताए।

दीपनगर, देवीनगरमा जस्तै खानेपानी, शौचालय, विद्युतिकरणका समस्या  नयाँगाउँ र रानीबजार हाटबजारमा पनि रहेको उनले बताए।

‘हामीबाट कर असुल्ने तर हामीबाट उठाएको करकै पैसाको केही प्रतिशत हाम्रै क्षेत्रमा लगानी नभएको यथार्थ सबैसामु छ। यसमा पालिका गम्भीर बनेर हाम्रा माग सम्बोधन हुनुपर्छ’, उनले भने।

यता उपमहानगरका मेयर खेलराज पाण्डेय यसबारेमा अझ फराकिलो ढंगले सोच्नुपर्ने बताउँछन्।

उनले हाटबजारमा धेरै समस्याहरू रहेकाले वृहत् छलफलपछि मात्र केही बोल्न सकिने बताए। 

हाटबजारमा बस, ट्रक, ट्याक्टर, जीप, बयल गाडामा सामान ल्याइ बिक्री गर्नेलाई प्रतिबोरा १० र प्रतिपेटी २ रुपैयाँका दरले बैठकी कर लिइने गरिएको छ।

‘उहाँहरूले दिएको फाइल अध्ययन गर्न बाँकी छ। एउटा मात्र हाटबजारको सवाल छैन। सबैलाई समेट्नपर्छ। भएका हाटबजार मात्र नभई नयाँ हाटबजारको सम्भावना पनि हेर्न पर्छ’, उनले भने।

कति शुल्क उठाउँछ कर?
बुटवल-५ हाटबजार र बुटवल-७ दीपनगर हाटबजारबाट उपमहानगरले समान रूपले शुल्क उठाउँदै आएको छ। माछा, मासुको पसलबाट सेडमा ४५, प्लेटमा ४० र भुईँमा ३५ रुपैयाँ उठाउँदै आएको छ। 

त्यसबाहेक सिद्रा पसल, नास्ता, भाडा, कपडा, फलफुल तरकारी, लगायतबाट सेडमा ४०, प्लेटमा ३० र भुईँमा २५ रुपैया उठाउँदै आएको छ।

यो शुल्क शनिबार, सोमबार, बुधबार र बिहीबार लगाउँदाको हो। त्यस बाहेक अन्य दिनमा हाटबजार लगाउँदा सेडमा २५, प्लेटमा २० र भुईँमा १५ रुपैयाँ तिर्नुपर्ने उपमहानगरपालिकाको वेवसाइटमा उल्लेख छ।

देवीनगर, साविक सेमलार, मोतिपुरमा भने सेडमा उठाउनुपर्ने रकम उल्लेख छैन। त्यसबाहेक कपडा, माछा मासु, आलु प्याज, खाद्यान्य, भाडा, फलफुल तरकारीका लागि प्लेटमा २५, भुईँमा २० रुपैयाँ शुल्क लाग्ने बताइएको छ।

उपमहानगरपालिकाका अनुसार प्रत्येक पसलका लागि ७ दशमलव ७ वर्ग फिट क्षेत्रफल व्यापारीका लागि उपलब्ध गर्ने र त्योभन्दा बढी क्षेत्रफल प्रयोग गरे थप शुल्क लाग्नेछ। 

हाटबजारमा बस, ट्रक, ट्याक्टर, जीप, बयल गाडामा सामान ल्याइ बिक्री गर्नेलाई प्रतिबोरा १० र प्रतिपेटी २ रुपैयाँका दरले बैठकी कर लिइने गरिएको छ।

जेठ २४, २०७९ मंगलबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।