अन्नपूर्ण केबलकारमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष अफर

अन्नपूर्ण केबलकारमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष अफर

पोखरा : पोखरा सराङकोटमा संचालनमा आएको अन्नपूर्ण केबलकारले विशेष अफर ल्याएको छ। कम्पनीले भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीसहित नवविवाहित जोडीलाई केबलकारको टिकटमा विशेष छुट दिने अफर ल्याएको हो।

केबलकारमा फेवाताल किनाराबाट तालको दृश्यावलोकन गर्दे सराङकोट जाने कक्षा १२ को परीक्षामा सहभागी भएका छात्रछात्राहरूलाई केबलकारको भाडामा ५० प्रतिशत छुट दिइने केबलकारका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए।

छुटका लागि विद्यार्थीहरूले यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएको प्रवेश पत्र देखाउनु पर्ने पौडेलले बताए। केबलकारको यो अफर आगामी असार ३ गतेसम्म लागु हुने पौडेलले बताए।

त्यसै गरी कम्पनीले नवविवाहिता जोडीका लागि एउटा टिकटको खरिदमा अर्को टिकट निःशुल्क प्रदान गर्नेछ। यो योजनामा सहभागी हुन नवविवाहित जोडीले आफ्नो विवाह कार्ड अनिवार्य देखाउनु पर्ने छ। यो योजना भने असार मसान्तसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार गत वर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। केबलकार संचालनमा आएपछि यस क्षेत्रमा साहसिक पर्यटनका गतिविधिका साथै सूर्योदय, सूर्यास्तसहित हिमशृङखला र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ।

पोखरा लेकसाइडस्थित सेदी बगरदेखि सरांङकोट पुग्नका लागि दुई हजार १६५ मिटर दुरी पार गर्नु पर्दछ। फेवा किनाराबाट ९ मिनेटमा सरांङकोट पुग्न सकिन्छ। केबलकारमा ८ जनाको सिट क्षमता रहेका छ भने सामान ओसारपसार गर्नेसहित १८ वटा गण्डोला जडान गरिएको छ।

केबलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा रहेको छ। केबलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेस्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन्। 

जेठ २१, २०७९ शनिबार २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।