बालेन साहेबको दौडधूप !
बिहान एक जना पत्रकारको फोन आयो। भन्दै थिए, ‘म सगरमाथा टेलिभिजनबाट। तपाईंसँग भेट्नु थियो। कहाँ भेट्न सक्छु होला?’
मैले सोधें, ‘किन भेट्नु थियो मसँग?’
उनले सिधा जवाफ दिए, ‘तपाईंसँग बालेन साहेबको अहिलेको दौडधूपको बारेमा कुराकानी गर्न।’
टिकटक जेनरेसनका रुपमा परिचित हुँदै गएका काठमाडौंका बालबालिकाले यो स्तम्भकारलाई बालेन साहेबसँग अनावश्यक लपेटेर सामाजिक सञ्जालमा अन्टसन्ट लेखिरहेका हुन्छन्। ती बालबालिकासँग मेरो कुनै गुनासो छैन। न त बालेन साहेबसँग नै कुनै गुनासो छ।
अहिले नेपालको पत्रकारिताको स्वरुप नै बिग्रिएको छ। यतिबेला काठमाडौं शहरमा बालेन साहेबको नाम मायावी भएको छ। तर पत्रकारले त्यो कुरा बुझेका छैनन्। ती पत्रकारहरुले थाहै पाएका छैन्, बालेन साहेबको नामको जादुले शहरका युवा-बालबालिकाहरु हायमेलिन शहरको बाँसुरी वादकको धुनमा लट्ठ परेझैं लट्ठिएका देखिन्छन्।
हो नि! शताब्दियौं पुरानो काठमाडौं शहरको नयाँ मेयरको पदमा अत्याधुनिक समयका र्यापर बालेन साहेब चुनिनु भएपछि बालबालिकाहरुमा फूर्ती आएको छ भने त्यो स्वभाविक नै हो।
२०७२ सालको भुईंचालोबाट जसोतसो जोगिएका काठमाडौं शहरका अधिकांश घरहरु शिकारीले शिकार गर्न थापेका धराप जस्ता छन्। बालबालिकाको उत्साह बढेर उनीहरु सडकमा नाच्न थाले भने छेउको घर थररर्र थर्किन्छ।
हामी बालेन साहेबको पिँढीका बालबालिकाभन्दा निकै अघि जन्मिएका डरछेरुवा मानिस हौं। अनेक वर्षदेखि शहरका संगति र विसंगति एकसाथ भोग्दै आएका छौं हामी।
बालेन साहेब महिनाको तीन लाख कमाउनु हुँदोरहेछ। उहाँले सिसडोल भ्रमणका बेला महानगर काठमाडौंले हरेक दिन बिसर्जन गरेको फोहोरको पहाडले थिचिएका स्थानीय जनतालाई त्यो तथ्य बताउनुभएको रहेछ। सामाजिक सञ्जालले स्याटेलाइट संकेत टिपेपछि थाहा पाइयो त्यो कुरा। ओहो! मेयरमा नचुनिँदासम्म तीन लाख प्रतिमहिना कमाउने बालेन साहेबलाई मेयरको तलब सुविधा पुग-नपुग के होला? उहाँको गुजारा होला न होला? शहरबासीको चिन्ताको विषय हो।
हो, यो काठमाडौं शहर विसंगतिकै थुप्रो नै हो। देशका सुबिख्यात भूगोलविद् डा. हर्क गुरुङ यो शहरमा थुप्रिएको विसंगतिकै थुप्रोमा काल कवलित हुनुभयो। उहाँले तत्कालीन सरकारलाई नेपालको राजधानी चितवनको भरतपुर सार्ने सुझाव दिनुभएको थियो।
त्यतिबेला भरतपुर अहिलेभन्दा धेरै खुला थियो, फराकिलो थियो, पानीको अभाव थिएन। त्यतिबेला डा. गुरुङको कुरा कसैले पत्याएन। ताप्लेजुङको धुन्सा जान चढेको हेलिकोप्टर दुर्घटनामा परेर उहाँको निधन भयो। नेपालको राजधानी भरतपुर सार्ने प्रस्ताव पनि त्यही दुर्घटनामा पर्यो।
हाम्रा पालामा पनि अहिलेका जस्ता राजनीतिका खेल तमासाहरु भइनै रहन्थे। अहिले विभिन्न दल-दलका नेताहरु एकअर्काका विरुध्द फोहोरी-फोहोरी दोहोरी खेल्छन् भने उतिबेला राजाको शासन चलाउने निर्दलीय संयन्त्र ‘पञ्चायत’ व्यवस्थाका होनहार सञ्चालकहरु आपसमा दन्तबजान गर्थे।
शरदचन्द्र शाह, कमल थापा, निरञ्जन थापा, उत्तम राई, दीपक बोहोरा, भुवन पाठक, उध्दव पौडेल जस्ता सञ्चालकहरु खेलाडीका नाममा राजनीतिलाई निर्देशित गर्न खटिएका हुन्थे। ती सञ्चालकहरुसँग काठमाडौंका हजारौं-हजार कामदारहरुको नियमित ठाकठुक परिरहन्थ्यो। तब न देश ‘चलेको’ देखिन्थ्यो।
बालेन साहेब महिनाको तीन लाख कमाउनु हुँदोरहेछ। उहाँले सिसडोल भ्रमणका बेला महानगर काठमाडौंले हरेक दिन बिसर्जन गरेको फोहोरको पहाडले थिचिएका स्थानीय जनतालाई त्यो तथ्य बताउनुभएको रहेछ। सामाजिक सञ्जालले स्याटेलाइट संकेत टिपेपछि थाहा पाइयो त्यो कुरा। ओहो! मेयरमा नचुनिँदासम्म तीन लाख प्रतिमहिना कमाउने बालेन साहेबलाई मेयरको तलब सुविधा पुग-नपुग के होला? उहाँको गुजारा होला न होला? शहरबासीको चिन्ताको विषय हो।
बालेन साहेब र उहाँका समकालीनहरुले निर्दलीय पञ्चायत व्यवस्थाको इतिहास पढ्न पाउनुभएको छैन होला। किनभने, त्यो कालको इतिहास विधिवत लेखिएको छैन। निर्दलीय पञ्चायत छउन्जेल क्रान्तिवीरहरुको त्यस्तो गाथा लेख्ने हिम्मत कसैले गरेन। निर्दलीय पञ्चायत ढलेपछि सबै दलका नेताहरु आपसी स्वार्थमा यति अल्झिए कि क्रान्ति-कथा लेख्ने फुर्सद कसैलाई भएन।
बल्लतल्ल लडाईं जितेर सत्तामा आएका नेतागणले सन्तानको चिन्ता गर्नैपर्यो। चिन्ता अनुसारको सुर्ता पनि गर्नुपर्यो। हिजोसम्म चप्पलमा पैताला अड्याउने संघर्षशील मनुष्यहरुका लागि पारिवारिक व्यवस्थापनको काम अलिकति कठिन हुने नै भयो।
समयको अलिकति पनि सम्झना गर्ने जोसुकैलाई थाहा छ- नेपाली राजतन्त्रको चरित्र कठोर थियो। यसको स्वभाव निरंकुश र निर्मम थियो। राजाका गुमास्ताहरुको फूर्ति थियो, सय वटा मुसा खाएपछि डकार्दै हज गर्न हिँडेको बिरालोको जस्तो। अजीव थियो त्यो जमाना। महाराज झकाए जस्तो गर्ने, त्यही मौका पारेर सेनाका जवानहरु खुकुरीले विद्रोहीहरुको टाउको छिनाल्ने।
जनकपुरधामको भ्रमणमा रहेका महाराज महेन्द्रमाथि बम हिर्काउने दुर्गानन्द झा शहीद बने। उनका दुई सहयोगी अरविन्द ठाकुर र दलसिंह बल्ल-बल्ल रिहा भएका थिए। त्यसपछि गाउँ-गाउँमा भएका विद्रोहमा को, कहाँ, कतिको संख्यामा मारिए? त्यसको हिसाब-किताब राखिएकै छैन।
कमला खोंचमा मारिएका भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, नख्खु जेलबाट रातारात निकालेर चक्रपथको दोबाटोमा हत्या गरिएका चार जना होनहार युवा लीला दाहाल, ठगी दाहाल, खगेन्द्र दाहाल तथा गोकर्ण कार्की सहित चार जना शहीद, विद्यार्थी राजनीतिका जीवन्त जोडी राम-लक्ष्मण।
सम्झिएर साध्य नलाग्ने मृत्युको भीड थियो राजाको निर्दलीय पञ्चायत व्यवस्था। तर समय-चक्र हो। ती राजा र उनका सकल परिवारको अत्यन्त संदीग्ध अवस्थामा हत्या भयो। त्यो हत्याको आरोप थोपरियो राजगद्दीका उत्तराधिकारी युवराज दीपेन्द्रमाथि। जनताले त्यो कुरा पत्याउनै सकेन। त्यो असहज हत्याकाण्डको बिर्को एकाएक ह्वात्त खुल्यो भने के होला? कसैलाई त्यसको रत्तिभर चिन्ता छैन।
बालेन साहेब ‘सूर्यवंशी’ हुनुहुँदो रहेछ। एक जना मित्रबाट मैले यो जानकारी पाएको हो। बालेन साहेब सूर्यवंशी हुनुहुन्छ भने त्यो ठिक छ। चन्द्रवंशी हो भने त्यो पनि ठिक छ। कुरा यत्ति हो कि, उहाँ यदुवंशी चाहिँ हुनुभएन कदापि। दुर्भाग्यवस, कृष्ण भगवान यदुवंशी थिए। उनको हत्यारा पनि यदुवंशी नै थियो।
अत्यन्त खुसी लाग्यो कि बालेन साहेबले महा-नगरपालिकाको मेयरको काम सुरु गर्नुभएछ। सिसडोल र बन्चरे डाँडाको यात्रा गर्नुभएछ। उहाँको यात्रा सुखद र सफल होस्। नागार्जुन पहाडको उत्तरपट्टिको पाखोबाट बहेर त्रिशुलीमा मिसिने कोल्पु खोलाको निरीक्षण पनि होस् बालेन साहेबबाट।
कुनैबेला, काठमाडौंका सर्वाधिक ठूला भनिने र गनिने मानिसको एउटा समूहले बागमतीको प्रदूषणबाट आफ्नो मृत देह जोगाउन गल्छी हुँदै बग्ने त्रिशुलीको किनारामा घाट बनाएर जलाउनु भन्दै वक्तव्य जारी गरेको थियो। यो जानकारी बालेन साहेबका लागि उपयोगी नै होला।
बालेन साहेबलाई थाहै होला, काठमाडौंका धेरै मानिस अहिले पनि राजधानी सार्ने दौडधूपमा लागेका छन्। उनीहरु नेपालको राजधानी कहिले नुवाकोटको बट्टार र कहिले काभ्रेको बनेपा सार्नुपर्ने कुरा गर्छन्। धेरैको छनोटमा चितवनको भरतपुर परेको छ। काठमाडौंको राजधानी भरतपुर सार्दैमा समस्या समाधान हुने होइन। त्यसका लागि बालेन साहेब जस्ता इन्जिनियरलाई सोच्न दिनुपर्छ।
बालेन साहेबका बारेमा मानिसले यतिखेर जे-जे भ्रम पालेका छन्, त्यो पाल्न दिनुपर्छ। किनभने, बालेन साहेब कलाकार हुनुहुन्छ, गायक कलाकार। उहाँको र्याप गायकी, चुनाव चिह्न लट्ठी, झपक्क पालेको दाह्री र कामकाजी शैली महानताको प्रतीक बनिसकेका छन्।
उहाँले आफ्नो कामको पहिलो प्राथमिकतामा सिसडोल-बञ्चरे पहाडमाथि खडा हुन लागेको फोहोरको महा-पहाडलाई राख्नु भएको छ। यसमा उहाँलाई सफलता मिलोस्। शुभकामना छ, बालेन साहेब। हार्दिक शुभकामना!
जेठ २१, २०७९ शनिबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।