तारा एयरको विमान दुर्घटनामा मारिएकाहरूको शवअगाडि सशस्त्र प्रहरीको 'सेलिब्रेशन'

तारा एयरको विमान दुर्घटनामा मारिएकाहरूको शवअगाडि सशस्त्र प्रहरीको 'सेलिब्रेशन'

काठमाडौंः गत आइतबार तारा एयरको ९एन-एईटी विमान बेपत्ता भयो। देशका तीन वटै सुरक्षा निकाय परिचालन भए- बेपत्ता विमान खोज्न।

प्रविधि, जनशक्ति, इन्टेल सबैथोक भएर पनि सुरक्षा निकायले विमान फेला पारेनन्। अन्ततः भोलिपल्ट स्थानीय युवकले मानापाथी हिमालको फेदीमा रहेको पहाडमा ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा विमान फेला पारे।

खोजी तथा उद्धारका लागि पुगेको तीन वटै सुरक्षा निकाय त्यसपछि शव संकलनतिर लाग्यो। शव छरपस्ट भएको हुँदा सेना, सशस्त्र र प्रहरीले मेहनत गरे। तर, तिनैमध्येका सशस्त्र प्रहरीका एक सदस्यले भने निकै असंवेदनशील व्यवहार गरेका छन्।

बाक्लो हुस्सु र चिसो मौसमका कारण तिनले ज्याकेट लगाएका छन्। जसका कारण उनको नेमप्लेट (छातीमा नाम लेखिएको भाग) र काँधको 'फुली' देखिँदैन। उनी कुन पदका हुन भन्ने पनि पुष्टि हुँदैन। तर, फुली नदेखिनु नै असंवेदनशील हुन छुट हुनु भने होइन।

उनले संकलन गरेर राखिएका शवअगाडि उभिएर 'थम्ब्स-अप' पोज दिएका छन्। सशस्त्र प्रहरी बलको सदस्य भएर कुनबेला थम्ब्स-अप पोज दिने भन्ने सामान्य हेक्का समेत नहुनु भनेको संगठनको कमजोरी पनि हो।

सुरक्षा निकायका सदस्य भावनामा बहकिनु हुँदैन, तर संवेदनशील स्थानमा अनुशासित हुन चाहिँ उनीहरूलाई सिकाउनैपर्ने हो।

फेरि ती सशस्त्र प्रहरीले एउटा मात्र फोटो खिचेका पनि होइनन्। उकेरालाई प्राप्त तीन वटा फोटोमा उनी सेलिब्रेशनको 'मूड'मा छन्।

पछाडि दुर्घटनाको दर्दनाक दृश्य छ, अगाडि सशस्त्र प्रहरीको मुस्कानसहितको फोटो सेसन। एउटा फोटोमा त उनी ग्रुप फोटो सेसन गराउन पनि गएका छन्। तर, उनकै अरू साथीले वास्ता गरेनन्। उनी भने तन्कीतन्की फोटो खिचाइरहेको प्रष्ट देखिन्छ।

जेठ २१, २०७९ शनिबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।