राजनीतिक लाभमा सफल प्रचण्ड रणनीति : ढाडमा टेक्ने, टाउकोमा हान्ने
काठमाडौँ : जनयुद्धको समयमा माओवादीको नीति र कार्यशैली थियो, ‘ढाडमा टेकेर टाउकोमा हान्ने’। राजधानी काठमाडौँमा आएर तत्कालीन राजतन्त्र र सरकारमाथि प्रहार गर्ने रणनीति अनुसार यो शब्द खुब चलेको थियो माओवादीका नेता/कार्यकर्तामा।
सशस्त्र विद्रोह छाडेर संसदीय राजनीतिमा आएसँगै माओवादीका नेता/कार्यकर्ताले यो शब्द उच्चारण गर्न छाडेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो शब्द भन्न छाडिसके अहिले । तर उनले रणनीति भने छाडेका छैनन्। हिजो सत्तामाथि प्रहार गर्ने गरी उनले बनाएको यो रणनीति अहिले अन्य दल र तीनका नेतामाथि प्रयोग गरिरहेका छन्।
उनी कहिले कांग्रेसको ढाडमा टेकेर एमालेको टाउकोमा प्रहार गर्छन् त कहिले एमालेको ढाडमा टेकेर कांग्रेसको टाउकोमा प्रहार गर्छन्। रणनीति बदल्दै उनी कहिले ढाड पनि उही दलको अनि टाउको पनि उही दलको बनाउँछन्।
संसदीय अभ्यासमा आएपछिको एक कार्यकाल बहुमत पाउँदा प्रधानसेनापतिको विवादका कारण प्रहार गर्न टेक्ने ढाड सरकार अनि टाउको सेनाको संरचना बनाउँदा उनी असफल भए। माओवादी ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा पहिलो र अरू चुनावमा सधैँ तेस्रो शक्ति बन्यो। उसले जसलाई समर्थन गर्यो उसको पल्ला भारी हुने अवस्था बन्यो। १५ वर्षको निर्णायक भूमिकाको अनुभवले प्रचण्डलाई यो रणनीति कार्यान्वयन गर्न सहज बनायो।
सरकार बनाउन होस् या गिराउन उनी पटक-पटक एमाले अनि कांग्रेसलाई आवश्यकता अनुसार ढाड र टाउको बनाउँदै आएका छन्। २०६२–०६३ देखिकै उनको राजनीतिक रणनीति यस्तै छ। त्यता पुग्दा उदाहरण लामो हुनसक्छ। त्यसैले २०७४ कै घटनाक्रमबाट उनको यो रणनीतिको प्रयोग पुष्टि हुनसक्छ।
२०७४ को निर्वाचन अगाडि पहिला एमाले नेतृत्वको सरकार बनाउँदै उनी एमाले अध्यक्ष केपी ओलीको ढाडमा टेकेर कांग्रेसको टाउकोमा प्रहार गरे। यो सहकार्य लामो समय जान सकेन। अनि उनले ढाड बदलेर कांग्रेस सभापति शेरबहादुर देउवाको बुईमा आए अनि ओलीको टाउकोमा प्रहार गरेर प्रधानमन्त्री भए।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसको ढाडमा चढेर एमालेको टाउकोमा हाने। यो भन्दा त एमालेको ढाडमा चढेर कांग्रेसको टाउकोमा हान्दा बढी संसदीय लाभ हुनसक्ने आङ्कलन गरेर उनी एमालेको ढाडमा पुगे प्रदेश र सङ्घको निर्वाचनमा। अनि एमालेको ढाडमा चढेर कांग्रेसको टाउकोमा प्रहार गरे।
भरतपुर र पोखरा माओवादी र एकीकृत समाजवादीले पाएपछि दुवै मत्थर भए। अब भागबन्डाको पालो प्रदेश र सङ्घको हो। आन्तरिक छलफलमा कांग्रेसले बहुमत सिट दाबी गर्ने रणनीति बनाएपछि प्रचण्ड पुन धम्क्याउन थालेका छन् कांग्रेसलाई। अर्थात् अहिले टेक्ने ढाड पनि कांग्रेसकै अनि सिट घटाएर प्रहार गर्ने टाउको पनि कांग्रेसकै।
प्रचण्डको रणनीति प्रभावकारी देखियो। कांग्रेस सत्ताधारीबाट कमजोर प्रतिपक्षीको आकारमा पुग्यो। एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उनले त्यही भित्रका नेताहरूको ढाड र टाउको प्रयोग गरे। कहिले ओलीको ढाड प्रयोग गरेर माधव नेपालको टाउकोमा प्रहार गरे। कहिले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा प्रहार गरे।
त्यो बेला एमाले नेता शंकर पोखरेलले सार्वजनिक कार्यक्रममै' प्रचण्डले माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पुगेको' प्रतिक्रिया दिएका थिए। नेकपामा एकले अर्कालाई कारबाही गर्ने श्रृंखला चलिरहदा पोखरेलले चितवनको जिल्ला कार्यकर्ता भेलामा पुस २० मा भनेका थिए' ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन। यसपटक कमरेड प्रचण्ड फस्नुभयो।'
यो विवाद बढ्दा अन्ततः रणनीतिको प्रभावले एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्कियो।
उनले अब ढाड कांग्रेसलाई बनाए अनि प्रहार गर्ने टाउको एमाले। २०७९ को स्थानीय तहमा यही रणनीति अपनाएर सङ्कटमा परेको तेस्रो शक्तिको साख फर्काउन सफल भए। यो सफलतासँगै उनी अब टेक्ने ढाड बदल्ने रणनीतिमा रहेको सङ्केतहरू देखिइरहेको छ। उनको बोलीले कि टेक्ने ढाड पनि कांग्रेसकै अनि प्रहार खेप्ने टाउको पनि कांग्रेसकै हुने सङ्केत देखाएको छ।
यसो हुन नसके ढाड एमालेको टाउको कांग्रेसको हुन पनि सक्छ २०७४ को प्रदेश र सङ्घको निर्वाचनमा झैँ। त्यसैको सङ्केत हो 'कांग्रेसले दम्भ गरे एमालेकै हातमा पुर्याउने' उनको चेतावनी।
स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित २ सय ४९ प्रतिनिधिलाई काठमाडौँमा बुधवार प्रशिक्षण दिँदै उनले भने ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौ, अहङ्कार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने ख्याल गरे हुन्छ। कांग्रेस फेरि एमाले जस्तै अहङ्कारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहङ्कार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।’
स्थानीय तह निर्वाचनमा स्थानीय तहको भागबन्डामा भरतपुर माओवादीको भागमा नपर्ने देखिएपछि उनले यस्तै तीतो भाषा प्रयोग गरेका थिए। उनी मात्रै हैन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि उनकै रणनीतिमा मिसिँदै कांग्रेसलाई तर्साइरहेका थिए।
भरतपुर र पोखरा माओवादी र एकीकृत समाजवादीले पाएपछि दुवै मत्थर भए। अब भागबन्डाको पालो प्रदेश र सङ्घको हो। आन्तरिक छलफलमा कांग्रेसले बहुमत सिट दाबी गर्ने रणनीति बनाएपछि प्रचण्ड पुन धम्क्याउन थालेका छन् कांग्रेसलाई। अर्थात् अहिले टेक्ने ढाड पनि कांग्रेसकै अनि सिट घटाएर प्रहार गर्ने टाउको पनि कांग्रेसकै।
‘प्रचण्डको सन्देश दुई वटा हुनसक्छ। एउटा गठबन्धनको तागतबाट कांग्रेसले जे आकार ग्रहण गरेको छ, त्यो हाम्रो एक्लै हैन भन्ने सन्दर्भसँग जोडिन्छ,’ माओवादी नेता लेखनाथ न्यौपानेले भने।
राजनीतिक विश्लेषकको मत भने न्यौपानेको भन्दा अलि भिन्न छ। राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईँ स्थानीय चुनावमा अनुमान गरे भन्दा बढी सिट आएकाले प्रचण्डमा दम्भ बढेको हुनसक्ने बताउँछन्।
‘कांग्रेसले सङ्घीय निर्वाचनमा स्थानीय तहमा जितेको सिटको आधारमा हामी नै सर्वेसर्वा हौँ र त्यसरी नै मार्जनिलाइज्ड गर्छौ भन्ने किसिमको व्यवहार हुन खोज्यो भने ख्याल गर एमालेलाई फ्याँकिदियौ, स्थानीय तहमा शक्ति क्षय गरायौँ। हामीलाई गनिएन भने कांग्रेसलाई पनि एमालेको अवस्थामा पुर्याउन सक्छौँ भनेर सतर्क गराउन खोजेको हुनसक्छ,’ उनले भने।
डा चापागाईँकै विश्लेषणलाई आधार बनाएर हेर्दा प्रचण्ड तत्काल नयाँ राजनीतिक कोर्समा जाने रणनीतिमा भन्दा पनि कांग्रेसलाई बाम गठबन्धन बन्न सक्ने भन्दै तर्साएर प्रदेश र सङ्घको निर्वाचनमा आफ्नो दलको प्रतिनिधित्व बढाउने रणनीतिमा रहेको देखिन्छन्।
‘माओवादीको स्कुलिङ भनेको धम्क्याएर फाइदा लिने नै हो,’ राजनीतिशास्त्री भट्टराईले भने,'हामी एमालेसँग मिल्छौँ भनेर शेरबहादुर देउवालाई धम्क्याउने फाइदा लिने रणनीति अनुसारै उनले कांग्रेसलाई तर्साएको देखिन्छ। एमालेसँग मिले आफू दोस्रो दल हुने डरले कांग्रेस पनि डराइरहेको देखिन्छ।'
उनको अभिव्यक्ति गठबन्धनमा सहमत भन्दा पनि गठबन्धनको विपक्षमा रहेका कांग्रेसका नेता लक्षित पनि हुनसक्छ। स्थानीय तह निर्वाचनमा देउवाले बढो सकसले गठबन्धनका लागि आफ्नै दलका नेताहरूलाई मनाएका थिए।
कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन बारेमा चर्को टिप्पणी गर्दै कांग्रेस हात्तीको कान भएको र माओवादी लगायतका अरू चमेरो भएकाले चमेरोले हात्तीको कानमा शरण लिन आउने अभिव्यक्ति दिए।
नेता गुरुङको अभिव्यक्तिले माओवादीका नेताहरूको चित्त दुखायो। उनीहरूले गठबन्धनकै बैठकमै कांग्रेसका केही नेताहरूको अभिव्यक्ति हेपाहा भएको भन्दै टिप्पणी गरेका थिए। प्रदेश र सङ्घको निर्वाचनको मिति घोषणा भएसँगै कांग्रेसमा पुन गठबन्धन गर्ने या नगर्ने विवाद उठ्ने पक्का छ। त्यही विवादलाई मत्थर बनाउन पनि प्रचण्डले कांग्रेसका नेताहरूलाई पहिल्यै तर्साएको हुनसक्छ।
स्थानीय तह निर्वाचनको परिणाम आएसँगै अहिले पुन प्रधानमन्त्री बदल्ने कसरतका समाचारहरू समेत बाहिरिइरहेका छन्। एमालेको स्रोत उल्लेख गर्दै आएका समाचारको बिचमा प्रचण्ड र माधवकुमार नेपाल दुवैले आफूहरूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबीले केही न केही पाकिरहेको पुष्टि गरेको छ।
'दोस्रो तहका नेताहरूले बाम एकताको प्रयास गरिरहेका बेला सम्भव नहुँदा कांग्रेसले सम्मानजनक भाग नदिने जोखिम कम गर्न प्रचण्ड अहिलेदेखि सक्रिय भएको देखिन्छ' डा चापागाईँले भने।
के प्रचण्डले अहिले पनि आवश्यकता अनुसार अन्य दलको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति नै अपनाएका हुन् त?
‘त्यो अर्कै कुरा हो, यो अर्कै कुरा हो। विश्लेषण गर्न त पाइयो। समस्या समाधान गर्ने उद्देश्यले अघिल्लो पटक नेकपा र अहिले कांग्रेसँग गठबन्धन भएको बुझ्नुपर्छ,' माओवादी नेता न्यौपानेले भने, शुद्ध दाउपेचको रूपमा माओवादीको कोणबाट होइन।’
न्यौपाने अहिले बनेको गठबन्धन कुनै रणनीति अन्तर्गत भन्दा पनि २-२ पटक संसद् विघटन गर्ने एमाले अध्यक्ष केपी ओलीको संविधान विपरीत कदमको परिणाम भएको र यो बाध्यात्मक अवस्थामा बनेको तर्क गर्छन्।
‘कांग्रेससँगको गठबन्धन बाध्यात्मक स्थितिमा बनेको हो। झन्डै दुई तिहाइ जनमतको बेवास्ता गरेर दुई पटक संसद् विघटन गरेपछिको बाध्यात्मक अवस्थामा गठबन्धन भयो,’ न्यौपानेको तर्क छ।
राजनीतीशास्त्री महेश भट्टराई भने धम्कीको भाषा प्रयोग गर्ने माओवादीको स्वभावै भएको तर्क गर्छन्। हिजो सशस्त्र सङ्घर्षको बेलामा पनि दललाई देखाएर दरबारलाई तर्साउने अनि दरबार देखाएर दललाई तर्साएर फाइदा लिएको माओवादीका नेताहरूले अहिले कांग्रेसलाई देखाएर एमाले तर्साउने अनि एमाले देखाएर कांग्रेसलाई तर्साउने गरिरहेको उनले तर्क गरे।
‘माओवादीको स्कुलिङ भनेको धम्क्याएर फाइदा लिने नै हो,’ राजनीतिशास्त्री भट्टराईले भने,'हामी एमालेसँग मिल्छौँ भनेर शेरबहादुर देउवालाई धम्क्याउने फाइदा लिने रणनीति अनुसारै उनले कांग्रेसलाई तर्साएको देखिन्छ। एमालेसँग मिले आफू दोस्रो दल हुने डरले कांग्रेस पनि डराइरहेको देखिन्छ।'
जेठ २०, २०७९ शुक्रबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।