मेयर वालेन्द्रको टोली सिसडोलको स्थानीय मनाउन असफल, झारा टार्न आएको स्थानीय जनप्रतिनिधिको आरोप
काठमाडौँ : काठमाडौँको फोहोर व्यवस्थापनको समस्या सुल्झाउन सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग छलफल गर्न पुगेका काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाह र उपमेयर सुनिला डङ्गोल निराश भएर फर्किए। मेयर र उप मेयरसहितको टोली शुक्रवार बिहानै नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल्ड साइट सिसडोल र बन्चरे डाँडा पुगेका थिए।
फोहोर मैलाबाट प्रभावित क्षेत्रका आन्दोलनरत स्थानीय एवम् जनप्रतिनिधिसँग छलफल गर्न र ल्याण्डफिल्ड साइट अवलोकन गर्न शाह र डङ्गोलसहितको टोली सिसडोल पुगेका थिए। उनीहरूले तत्काल फोहोर व्यवस्थापनमा सहजीकरण गर्न स्थानीयसँग अनुरोध गरेर काठमाडौँ फर्किएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले बताए।
‘मेयर, उपमेयरसहित हामी सिसडोल र बन्चरे पुगेर फर्किँदै छौ। सिसडोलका स्थानीय र जनप्रतिनिधीहरुसँग गफगाफ भयो’ उनले भने, ‘मुख्य त काठमाडौँ महानगरपालिकासँग सम्बन्धित विषयहरूको समाधान हामीले गर्छौ र फोहोर फाल्नलाई अहिले सहजीकरण गर्दिनुस् भनेर उहाँहरूको स्थानीयसँग अनुरोध गर्नुभएको छ। स्थानीयले निर्णय लिन्छौ भन्नुभएको छ।’
महानगरपालिकाका मेयर र उपमेयरको अवलोकनका क्रममा नुवाकोटको धुनीवेसी क्षेत्रभन्दा ककनी गाउँपालिकाका स्थानीयवासी र स्थानीय धेरैजसो जनप्रतिनिधीहरुको उपस्थिति थियो। छलफलमा स्थानीयहरू राज्य, महानगर र मन्त्रालयसँग असन्तुष्ट देखिए पनि फोहोर व्यवस्थापन सहजीकरणमा सकारात्मक नै रहेको स्वकीय सचिव शाहको दाबी छ।
‘यो आजको मात्र नभई लामो समयदेखिकै समस्या हो । उहाँहरू पहिलेदेखि नै राज्य, महानगर, मन्त्रालयहरूबाट असन्तुष्ट हुनुहुँदो रहेछ’ उनले भने, ‘हाम्रो आपत्ति मन्त्रालयसँग हो। तपाई भर्खरै आउनुभएको मेयर। तपाईँसँग हाम्रो कुनै आपत्ति होइन। तपाईँप्रति हामी निकै आशावादी छौ। हाम्रो बाध्यता बुझिदिनुस्, कर नगर्नुस् भन्ने उहाँहरूको भनाई छ।’
उपमेयरमा निर्वाचित भएपछि उपमेयर सुनिता डङ्गोल पहिलो पटक सिसडोल पुगेकी हुन्। शाह यसअघि मेयरमा निर्वाचित भए लगत्तै सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका थिए।
गाउँपालिका अध्यक्ष भन्छन्, बालेन झारा टार्न आएजस्तो देखियो’
स्थलगत अवलोकनमा आउने प्रमुख, उपप्रमुखहरू समस्या समाधान कसरी गर्ने भन्नेमा आफै स्पष्ट नभएको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए।
‘आजको छलफलमा खासै केही भएन। उहाँहरूले स्थलगत अवलोकन र निरीक्षण गर्नुभयो तर समाधानबारे कुनै स्पष्ट निर्णय दिनुभएन’ उनले भने, ‘समस्या उहाँहरूको हो। त्यत्रो सहर भरको फोहोर थुपारेर हामीलाई समस्यामा परिदिएको छ। समस्या जसले ल्याएको उहाँहरूले नै हल गर्नुपर्छ। हामीले सक्दैनौ। आज आउनुभएको उहाँहरूको तर्फबाट निरीक्षण मात्र भो, हल गर्ने उहाँहरूको कुनै निचोड र निष्कर्ष छैन।’
स्थानीय र काठमाडौँ महानगरका मेयर उपमेयरको शुक्रवारको छलफलमा तामाङ पनि उपस्थित थिए। छलफलपछि पनि स्थानीयहरू सकारात्मक नभएको र फोहोर खसाल्ने पक्षमा नरहेको उनले बताए।
‘फोहोरबाट प्रभावित क्षेत्रका आन्दोलनरत सबै बासिन्दाहरू त्यहाँ उपस्थित थिए। महानगरले समस्या सिर्जना गरेपछि समाधान पनि उहाँहरू नै गर्नुहुन्छ। हामीलाई समस्याको दिगो समाधान चाहिएको हो’ उनले भने, ‘समस्या समाधान नभएसम्म त्यहाँका बासिन्दा फोहोर खसाल्न दिने पक्षमा छैनन्। हामी पनि सकारात्मक छैनौ। आज पनि मेयर र उपमेयरले समस्याको शीर्षकअनुसार बुँदागत रूपमा समस्याको यसरी यसरी हल गर्छौ भन्दै प्रस्ट हुनुभएको भए जनताले पनि मान्न सक्नुहुन्थ्यो र हामीले पनि अनुमति दिन्थ्यौ। बालेनलगायत उहाँहरू समस्या हल गर्ने उद्देश्यले भन्दा पनि झारो टार्ने र फेरी फोहोर खसाल्ने उद्देश्यले मात्र आउनुभएको देखियो।'
के-के छ माग ?
अल्पकालीन अवधिका लागि भनेर सिसडोलमा फोहोर खसाल्न थालेको महानगरले त्यहाँ १७ वर्षसम्म निरन्तर फोहोर फालिरहेको छ। विकल्पमा बञ्चरेडाँडामा ल्यान्डफिल्ड साइड बनाइएको छ। तर योजना अनुसारको पूर्वाधार नबनाएको र ल्यान्डफिल्ड साइड प्रभावित स्थानीयको पुनर्वासबारे निर्णय नै नगरी जवर्जस्ती फोहोर फालेर अर्को सिसडोल बनाउन खोजेको भन्दै उनीहरूले पनि अवरोध गरिरहेका छन्।
सिसडोलबासीले फोहोर र मान्छे सँगै बस्न नसकिने हुँदा फोहोर हटाउन वा बस्ती अन्यत्रै सार्नुपर्ने, फोहोर मैलाको सही व्यवस्थापन हुनुपर्ने, ल्याण्डफिल साइड वरपरका बस्तीहरूमा फोहोरको दुर्गन्ध फैलिन नदिने उपाय अपनाउनुपर्ने, फोहोर मैलाले पारेको प्रभाव न्यूनीकरणका लागी आफूहरूलाई राहत, रोजगारी, शिक्षा, स्वास्थ्य आदीको सुनिश्चितता गर्नुपर्ने माग राखिरहेका छन्।
शुक्रवार गएको महानगरको प्रतिनिधिमण्डलकै अगाडि उनीहरूले तीनपिप्लेदेखि सिसडोलसम्मको बाटोको पैसा नगरपालिकाले नदिएसम्म आन्दोलन जारी रहने र तीनपिप्लेबाट माथि फोहोर बोकेको गाडी आउन नदिने नयाँ माग समेत थपेका छन्।
सन् २००५ मा ३ वर्षका लागि भनेर सिसडोल ल्याण्डफिल्ड साइट प्रयोग गरिएको थियो। त्यहाँको भरिएपछि आलेटारमा ४ वर्ष फोहोरको व्यवस्थापन भयो। त्यहाँको पनि भरिएपछि सिसडोलकै क्षमता विस्तार गरेर प्रयोगमा ल्याइयो।
काठमाडौँका सडकमा फोहोरको थाक
काठमाडौँमा दैनिक १२ सय टन फोहोर निस्कने गरेको छ। त्यसमा ५ सय ४५ टन त महानगरबाट मात्रै निस्कन्छ सडकमा। बल प्रयोग गरेर केही फोहोर बन्चरे डाँडामा पुर्याइए पनि स्थानीयको अवरोधले त्यो पनि सम्भव भएन।
यता काठमाडौँ महानगरको टेकुमा रहेको अस्थायी फोहोर राख्ने स्थान समेत भरिइसकेको छ। उता ल्यान्डफिल्डसाइडमा फोहोर फाल्न दिने पक्षमा स्थानीय तयार देखिएका छैनन्। बर्खा सुरु भइसकेकाले सडकमा थुप्रिएका फोहोर कुहिएर दुर्गन्ध फैलन थालिसकेको छ। यसले काठमाडौँको फोहोर व्यवस्थापन तत्काल समाधान हुनसक्ने सम्भावना देखिएको छैन।
जेठ २०, २०७९ शुक्रबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।