काठमाडौंभन्दा भैरहवाबाट कुवेत जाँदा आठ हजार सस्तो, थुप्रै एयरलाइन्सले देखाए उडान भर्ने चासो
बुटवलः कुवेत–भैरहवा उडान सुरु गरेको जजिरा एयरलाइन्सबाट यात्रा गर्दा काठमाडौं-कुवेत यात्राभन्दा सस्तो पर्ने भएको छ। पहिलो व्यावसायिक उडानको रूपमा विमानस्थलमा जजिराले छुट पाएको थियो। त्यही छुट हुने शुल्क जजिराले टिकट शुल्कमा घटाएको हो।
उडान हुनुअघि यात्रुको चाप कम हुनसक्ने आशंका गरेको एयरलाइन्स व्यवस्थापन टिम अहिले यात्रुको चाप बढी देखेपछि पनि हौसिएको हो। जजिरा एयरलाइन्सका नेपालस्थित वाणिज्य व्यवस्थापक अमित नागरथले यात्रुको चाप सोचेभन्दा बढी भएको बताउँदै आफूहरूले यात्रुलाई छुट दिँदा काठमाडौं–कुवेतको भन्दा भैरहवा–कुवेतको हवाई भाडा सस्तो पारिएको बताए।
काठमाडौं–कुवेतको भन्दा भैरहवा–कुवेतको हवाई भाडा प्रतियात्रु करिब आठ हजार रुपैयाँले सस्तो रहेको उनले बताए। ‘सरकारबाट सहुलियत पाएका छौँ। त्यही सहुलियत हामीले यात्रुलाई दिएका छौँ’, उनले भने।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आकर्षित गर्न विमान ल्याण्डिङ, पार्किङ लगायतका शुल्कमा नेपाल सरकारले छुट दिएको छ।
यसबारेमा केही दिनअघि नेपाल नागरिक उड्डययन प्राधिकरणले स्वीकृतिका लागि सरकार समक्ष पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले हालै स्वीकृत गरेको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्यामकिशोर साहले जजिरा एयरलाइन्सले विमानस्थलको एक पटक प्रयोग गरेबापत बुझाउनु पर्ने दुई लाख २५ हजार रुपैयाँको शुल्क छुट पाएको बताए।
गत जेठ २ गते (मे १६)देखि जजिरा एयरलाइन्सले हप्तामा तीन पटक कुवेत–भैरहवा उडान सञ्चालन गर्दै आएको छ।
जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ विमान सोमबार, बुधबार र शुक्रबार नियमित रूपमा भैरहवाका लागि उडान सञ्चालन गर्दै आएको छ।
उडान सञ्चालन भएदेखि काठमाडौंबाट श्रम स्वीकृति लिएका कैयौं नेपाली श्रमिक भैरहवा पायक पर्ने भएकाले काठमाडौंको सट्टा भैरहवाबाट उड्ने गरेको उनले बताए।
अन्य एयरवेजको उडानमा चासो
भैरहवामा देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यहाँ उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीले चासो देखाएका छन्।
विमानस्थलका प्रवक्ता साहका अनुसार श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयर, र चिनियाँ एयरलाइन्सहरूले उडानका लागि चासो दिएका छन्। त्यसमध्ये छिट्टै एयर अरेबियाले उडान भर्ने बताइएको छ।
उडानपूर्व गर्नुपर्ने केही चरणको तयारी एयर अरेवियाले गरेकाले चाँडै नै उडान सुरू हुने उनले बताए।
श्रम इकाई नहुँदा समस्या
विमानस्थलमा श्रम इकाई छैन। अन्तर्राष्ट्रिय उडान भइसक्दा पनि श्रम इकाई नहुँदा म्यानपावर मार्फत जाने श्रमिकलाई असहज भएको हुने गरेको छ।
भैरहवामा श्रम कार्यालयले इकाई राख्ने तयारी भने भएको छ। श्रम गन्तव्य मुलुकमा आउजाउ गर्ने नेपालीका लागि शाखा सञ्चालनमा ल्याइने बताइएको छ।
दुई साताअघि मात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा कार्यालय र विमानस्थलभित्रै इकाई सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए।
असार १ गतेबाट श्रम कार्यालय सञ्चालनमा आउने बताइएको छ। वैदेशिक रोजगारका लागि आउजाउ गर्नेहरूले श्रम स्वीकृति र आवश्यक कागजात बनाउन उक्त शाखाबाट सहज हुनेछ।
हाल अनलाइनमार्फत श्रम स्वीकृति दिँदै आएको वैदेशिक रोजगार विभागले म्यानपावर मार्फत जाने कामदारलाई काठमाडौं आउन नपर्ने गरी प्रक्रिया अगाडि बढाएको हो।
हाल बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने काम भइरहे पनि म्यानपावर मार्फत जाने कामदारका लागि अब सहज हुनेछ।
जेठ २०, २०७९ शुक्रबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।