अत्यधिक उत्साही हुँदा ८० प्रतिशत मुटु ब्लक भयो, त्यसैले लियो केकेको ज्यान
एजेन्सीः लोकप्रिय भारतीय गायक केके (कृष्णकुमार कुन्नथ) को मङ्गलबार मृत्यु भयो। मृत्युको कारण थियो- हृदयघात।
अहिले उनको मृत्युको अरू कारण पनि बाहिर आएको छ। भारतीय सञ्चारमाध्यम भास्करका अनुसार केकेको मृत्यु हृदयघात नै हो तर हृदयघातको लक्षणलाई नजरअन्दाज गर्नु चाहिँ सबैभन्दा ठूलो कारण हो।
सुरुमा त कन्सर्ट भएको हलको एसीले काम नगर्नु त्यसमाथि हलमा क्षमताभन्दा अत्यधिक दर्शक उपस्थित हुनुले पनि केकेलाई गाह्रो बनायो। करिब तीन हजार पाँच सय जनालाई कन्सर्टको पास वितरण गरिएकोमा पाँच हजारभन्दा बढी उपस्थित थिए।
कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहेका केकेले एकदिनअघि नै एसीले काम नगरेको भन्दै व्यवस्थापकलाई भनिसकेका थिए। तर यसको सम्बोधन भएन।
यता केकेको पोस्टमोर्टम रिपोर्ट पनि आइसकेको छ। त्यहाँ भनिएको छ- कन्सर्टमा ज्यादा उत्साही हुनाले उनको मुटु ८० प्रतिशत ब्लक भयो। यसैकारण उनको ज्यान गयो। बेहोश हुनासाथ सीपीआर दिएको भए उनको ज्यान बच्न सक्थ्यो।
यस्तै केकेले आफ्नै शरीरमाथि लापरबाही गर्नु पनि मृत्युको कारण हो। उनको छाती दुखिरहेको थियो। तर उनले यसलाई एसिडिटी सम्झिए। औषधि पनि त्यसैको खाए।
एक पटक मात्र होइन। पहिला पनि उनले छाती दुख्नासाथ एन्टासिड लिन्थे। यो कुरा केकेकी श्रीमतीले बताएकी हुन्। कन्सर्टअघि पनि केकेले काँध र हात दुखेको भन्दै श्रीमतीलाई भनेका थिए।
जेठ २०, २०७९ शुक्रबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।