कांग्रेस पोखरा महानगर समितिले सोध्यो आफ्नै सचिब थापाललाई स्पष्टीकरण 

कांग्रेस पोखरा महानगर समितिले सोध्यो आफ्नै सचिब थापाललाई स्पष्टीकरण 

पोखरा : नेपाली कांग्रेस पोखरा महानगर समितिले सचिब गणेश बहादुर थापाललाई स्पष्टीकरण सोधेको छ। थापाले जेठ १६ गते पार्टीमा कुनै छफफल नै नगरी लेटरप्याड र छाप प्रयोग पोखरा महानगर कमिटीको नाममा मतदातालाई धन्यवाद दिएको विषयमा कांग्रेस महानगर कमिटीका अध्यक्ष सुरेन्दमान विजुक्छेले ७ दिन भित्र स्पष्टीकरण सोधेका छन्।

थापाले जनताले गठबन्धन र कांग्रेसलाई महानगर कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेलीले विकासलाई नयाँ उचाइमा पुर्याउने अवसर दिएकाले सबैलाई धन्यवाद दिएका थिए। सचिव थापाद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको थियो, ‘२३ वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विजय गराइ आगामी ५ वर्षका लागि पोखराको नेतृत्व गर्न नेपाली कांग्रेसलाई जिम्मेवारी दिएको छ। यो जिम्मेवारीलाई कांग्रेसले गम्भीरताका साथ निर्वाह गर्छ।’

नगर समितिको १९ गते बसेको कार्यसमितिले लेटरप्याड र छापको अनधिकृत प्रयोग गरी संस्थागत धारणा भन्दै विज्ञप्ति जारी गरेकाले थापालाई अनुशासन उल्लंघन होइन भनेर प्रश्न गरेको छ। ‘१९ गते समितिको सल्लाह निर्णय र निष्कर्ष बिना नै विज्ञप्ति निकाल्नु आफू संलग्न समितिकै मान मर्दन गर्नु होइन? यसरी मान मर्दन गर्नुको दुराशय के हो?

यस प्रकारको हर्कत गरे बापत नेपाली कांग्रेसको विधान र नियमावली अनुसार तपाईँ उपर अनुशासन उल्ंघनको कारबाही अघि किन नबढाउने,’ नगर सभापति बिजुक्छेद्वारा लेखिएको विज्ञप्तिमा भनिएको छ, ‘यदि अनुशासनको कारबाही नगर्नुपर्ने भए सो कारण सहित यो पत्र प्राप्त मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहोला।’

जेठ १९, २०७९ बिहीबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।