एक लेख जसले हलिउड नायिकालाई तिराउने भयो १५ मिलियन अमेरिकी डलर
एजेन्सी : २०१८ मा वासिङ्टन पोस्टमा ३६ वर्षिया हलिउड नायिका एम्बर हर्डले लेखेको घरेलु हिंसा सम्बन्धी लेख प्रकाशित भयो। उनले सो लेखमा कसैको नाम उल्लेख गरेकी थिइनन्। उनको लेख पूर्व श्रीमान् जनी डेप लक्षित थियो भन्ने लुकेन।
अनि ५८ वर्षीय डेपले सो लेखले आफ्नो मानहानि हुने भन्दै पूर्व श्रीमती एम्बरविरुद्ध पाँच करोड अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै मानहानिको मुद्दा दायर गरे। त्यसको बदलामा एम्बरले १० करोड अमेरिकी डलरको माग गर्दै मुद्दा गरिन्।
यही विषयमा ६ हप्तादेखि सुनुवाइ भइरहेको। अन्तमा एम्बर दोषी ठहर भइन् अदालतबाट अनि उनले एक करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति बापत पूर्वी श्रीमान्लाई दिन अदालतले आदेश दियो।
अदालतले आफ्नो विवाहबारे उनले जे बयान दिएकी थिइन् त्यो झुटो रहेको ठहर गरेको छ। निकै चर्चामा रहेको यो केस हेर्न सात सदस्यीय समिति नै गठन भएको थियो जसमा पाँच पुरुष र २ महिला थिए।
यी दुवैको भेट सन् २०११ मा भएको थियो। फिल्म 'द रम डायरी'को सुटिङको बेलामा दुवैको भेट सेटमा भएको थियो। केही वर्षपछि उनीहरूको भेट सोही फिल्मको प्रमोसनको समयमा भयो। त्यहीबाट यी दुवै निकट भए र २०१२ बाट दुवै सम्बन्धमा रहे। २०१५ मा दुवैले विवाह गरे।
विवाह भएको १५ महिनामै दुवैले आफ्नो सम्बन्ध सकिएको घोषणा गरे। एम्बरले डिभोर्सका लागि निवेदन दिइन्। उनले आफ्नो अनुहारमा रहेको दाग देखाउँदै त्यो डेपको कुटाइबाट भएको दाबी समेत गरे। डिभोर्स हुँदा उनलाई डेपले ७० लाख अमेरिकी डलर दिएका थिए।
डिभोर्सपछि उनीहरू आ-आफ्नै जीवनमा रमाइरहेका थिए। एकाएक एम्बरको लेख आएपछि माहौल बदलियो। डेप अनुबन्ध भएका सिरिजहरूबाट समेत निकालिए। उनको आलोचना बढेसँगै उनी अदालत गएका थिए।
एम्बरले अदालतमा दिएको बयानमा सन् २०१२ को प्रारम्भबाटै आफूमाथि हिंसा सुरु भएको दाबी गरेकी थिइन्। सन् २०१२ मा डेपले पहिलो पटक आफूलाई कुटेको उनको दाबी थियो। डेपको पाखुरामा भएको ट्याटु देखेर हासेकी थिइन्। उनको पाखुरामा उनले अभिनेत्री विनोदा राइडरको नामको ट्याटु बनाएका थिए। आफू हाँस्दा उनले थप्पड हानेको उनको दाबी थियो।
उनले रक्सी र लागु औषध खाएपछि डेप निकै आक्रामक हुने र आफ्नो सम्बन्ध अन्यसँग रहेको भनेर शङ्का गर्ने गरेको समेत दाबी गरेकी थिइन्। डेपले रक्सीसँगै कोकिन समेत खाने गरेको र त्यो आफूसँग लुकाउने गरेको उनको दाबी थियो।
कुटेपछि डेप गायब हुने गरेको र पछि आउने गरेको भन्दै उनले भनेकी थिइन्' नशामै फर्किएपछि उनी निकै मायालु भएर कुरा गर्थे र सबै ठिक हुने बताउँथे। सन् २०१३ मा आइपुग्दा म विभाजित भएको महसुस गरिसकेको थिए। म उनलाई निकै माया गर्थे। तर त्यो मेरा लागि सबैभन्दा खराब समय थियो।'
डेपले भने उल्टो एम्बर हिंसात्मक रहेको र उनले पटक-पटक आफूमाथि हिंसा गरेको दाबी गरे। उनले आफूलाई अपमानजनक र विषालु कुराहरू भन्ने, टिभीको रिमोटले टाउकोमा हान्ने अनि अनुहारमा वाइनको गिलास फ्याँक्ने गरेको बताएका थिए।
'एक दिन बिहान म ओच्छ्यानमा ब्युँझँदा ओच्छ्यानमा अजिब चिज थियो, त्यो मानिसको दिसा थियो' उनले बयानमा दाबी गरे। डेपको वकिलहरूले हिंसात्मक डेप नभएर एम्बर रहेको र आफ्नो करिअर अगाडि बढाउन उनले आफैँ पीडित भएको नाटक गरेको दाबी समेत गरेका थिए।
उनले ढाडको दुखाई कम गर्न औषधी खाने क्रममा आफूमा ओपिआएडको लत लागेको र त्यसबाट छुटकारा पाउन औषधी खाने गरेकोमा उनले उल्टो औषधी खान नदिने गरेको दाबी गरे।
कोर्टमा सुनुवाइको बेलामा विभिन्न प्रमाणहरू पेस भएका थिए। त्यसमा एक थियो डेपले बेलायतको अभिनेतालाई पठाएको मेसेज। त्यसमा लेखिएको थियो' उसको अनुहार जलाऔँ। जलाउनु अगाडि उसको अनुहारलाई डुबाऔँ।'
उनले सो मेसेज फिल्म मन्टी पाइथनसँग जोडिएको विषय भएको र भुतलाई जलाउने विषयमा भएको कुराकानी भएको दाबी गरे। कोर्टले यी दुवैको थेरापिस्ट र डेपलाई लागु औषध छुटाउन सहयोग गरिरहेका चिकित्सकहरूसँग समेत बयान लिएको थियो।
थेरापिस्टहरुले दुवैले एक अर्कासँग गलत व्यवहार गर्ने गरेको खुलाएका थिए। दुबैका मनोपरामर्शदताले आ-आफ्नै दाबी गरे। डेपका मनोपरामर्शदाताले एम्बर डबल पर्सनालिटी डिसअर्डको आदी भएको दाबी गरे भने एम्बरका मनोपरामर्शदाताले उनी घरेलु हिंसाको सिकार भएको दाबी गरेका थिए।
तर आदेश आउँदा भने डेपको पक्षमा आयो जसलाई एम्बरले दुखद भन्ने प्रतिक्रिया दिइन्। अब अदालतको आदेश अनुसार उनले डेपलाई १५ मिलियन अमेरिकी डलर अर्थात् एक करोड ५० लाख अमेरिकी डलर तिर्नुपर्ने छ।
जेठ १९, २०७९ बिहीबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।