हिजोका कुरा : एक आविष्कारक जो विज्ञान पढ्न खोटाङबाट ११ दिन हिँडेर काठमाडौं आए
७० वर्षअघि खोटाङको रावाखार्पामा जन्मेका प्रा.डा. जीवराज पोख्रेलले प्रारम्भिक शिक्षा गाउँबाटै हासिल गरे। उच्च शिक्षाको लागि गाउँबाट काठमाडौं आएका उनले प्लस टु अध्ययन अमृत साइन्स कलेजबाट गरेका हुन्।
आर्किटेक्चर विषयमा भारतको गुजरातस्थित महाराजा शायजिराओ बरोडा युनिभर्सिटीबाट स्नातक तह पूरा गरेका पोख्रेलले नेपाल फर्किएर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकमा प्राध्यापकको भूमिका निभाए।
प्राध्यापनकै क्रममा उनले बेलायतको योर्क युनिभर्सिटीबाट वास्तुकला संरक्षण विषयमा स्नात्तकोत्तर र विद्यावारिधि हासिल गरे। स्कलरसिपमा वास्तुकला संरक्षणमा विद्यावारिधि सकिएलगत्तै नेपाल फर्किएका प्रा.डा. पोख्रेलको अधिकांश समय अध्यापनमै बित्यो।
उनले नेपालको मौलिक आर्किटेक्चर संरक्षण, सहरी योजना, विपद् व्यवस्थापनमा सक्रिय भूमिका निभाएका छन्। लुम्बिनीको मायादेवी मन्दिर डिजाइन उनले गरेको उत्कृष्ट परियोजनाभित्र पर्छ। यति मात्र नभई पोख्रेलले ‘शिष्य सम्वाद', 'पाटनको कृष्ण मन्दिर', 'मैना बुलबुल', 'आर्किटेक्चर ओ आर्किटेक्चर’ जस्ता पुस्तक पनि लेखेका छन्।
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)का उपकुलपति समेत रहिसकेका प्रा.डा. पोख्रेल यतिबेला सेवानिबृत्त (रिटायर्ड) जीवन बिताइरहेका छन्।
विदेशले चिनेका तर नेपालले नचिनेका वैज्ञानिक पोख्रेल रिटायर्ड जीवनमा पनि व्यस्त छन्। उनी आफ्नो विगत यसरी सम्झन्छन्:
रिटायर्ड जीवन झनै व्यस्त
वास्तवमा म एक आर्किटेक्ट हुँ। प्राध्यापक, नास्टको उपकुलपति (नास्टको कुलपति हुनु भनेको आफैंमा देशको प्रधानमन्त्री हुनु हो जस्तो लाग्छ, मलाई), सहरी योजना विज्ञ, वैज्ञानिक, विपद् जोखिम न्यूनीकरण एवं रोकथाम विज्ञको रुपमा मलाई चिन्ने गरिन्छ।
विगतमा मैले भवनहरु डिजाइन, सहरी योजना आदिमा भूमिका निभाएको छु। हालको पुल्चोक क्याम्पसमा स्नातकोत्तर तहको ‘सहरी योजना’को संस्थापक संयोजक म थिएँ। त्यतिबेला मैले सुरु गरेका कोर्सहरु पुल्चोकमा अझै पनि चलिरहेका छन्।
प्रोफेसनले रिटायर्ड बनाए पनि व्यस्तता भने बढेको छ। म काम नगरी बस्नै सक्दिनँ। कान्तिपुर इन्टरनेसनल इन्जिनियरिङ कलेजमा पहिलेदेखि नै आवद्ध छु। त्यहाँ अझै जान्छु। मलाई अध्ययन गर्न, लेखिरहन, आफूले आविष्कार गरेका प्रविधिहरुलाई प्रयोग गरिरहन मनपर्छ।
हिमालयन टाइम्समा स्थापनाकालदेखि नै आफ्ना विचार लेख्न थाले पनि इकागज, कान्तिपुर, अन्नपूर्ण पोष्ट लगायत मिडियामा विचार लेखेको छु/लेखिरहन्छु। डिजास्टर, कल्चर, पोलिटिकल घटनाक्रम आदि विषयबारे लेख्छु।
पछिल्लो समय मात्र ‘मोदी भिजिटस् टु नेपाल’, ‘म्याजिक अफ बालेन शाह’ लेखेको थिएँ। हरेक हप्ता केही न केही विषयमाथि लेखिरहन्छु। जर्नलहरुको लागि आफ्नो विषयवस्तुसँग सम्बन्धित सामग्रीको रिसर्चमा व्यस्त रहन्छु। जसोतसो आफूलाई व्यस्त राखिरहन सकेको छु।
साइन्स पढ्न ११ दिन हिँडेर काठमाडौं
म मध्यमवर्गीय परिवारमा जन्मेकोले पठनपाठनमा लागि खासै अप्ठेरो थिएन। म सानो छँदा मेरो बुबाले ७ कक्षाको जाँच पास गर्नुभएको थियो। बुबा गाउँको मुखिया, डिठ्ठा हुँदै जागिर टर्मिनेट भएर वकिलसम्म हुनुभो।
ऊ बेला हाम्रो गाउँघरतिर भाषा पाठशाला भन्ने हुन्थ्यो। भाषा पाठशालामा कखरा, एक/दुई सिकाइन्थ्यो। पाठशालामा भाषा सिकेपछि स्कुलमा भर्ना हुन पाइन्थ्यो। गाउँमा स्कुल थिएन। स्कुल पढ्न या त तराई झर्नुपर्थ्यो नभए काठमाडौं आउनुपर्थ्यो। बुबाको जागिर काठमाडौं भएकोले मेरो पढाइ पनि यतै हुने पक्काजस्तै थियो।
वि.सं. २०१८ तिरको कुरा हो, बुबा वकिल भइसकेकोले उहाँको जागिर काठमाडौंमा थियो। उहाँ कार्यालयको छुट्टीमा घर जानुभएको थियो। त्यसताका म झन्डै आठ वर्षको थिएँ। साइन्स विषय पढाउन भन्दै बुबाले मलाई जन्मथलो खार्पाबाट आफूसँगै हिँडाएर काठमाडौं ल्याउनुभयो।
घरबाट हिँडेको तेस्रो बास एक जना गुरुङको घरमा बस्यौं। घरको आँगनमा उनका केटाकेटीहरु खेलिरहेका थिए। सोही बेला त्यही घरकी गुरुङ्नी आमाले बुबालाई सोध्नुभयो, ‘अनि बाजे, तपाईं त नेपाल (त्यसबेला काठमाडौंलाई नेपाल भनिन्थ्यो) जागिर खान जाने मान्छे, विचरा यी कलिलै बाबुलाई किन दु:ख दिनुभएको?’
बुबाले उहाँलाई भन्नुभयो, ‘आमा, उता पहाडमा यसको पढाइ सिद्धियो अनि काठमाडौंमा पढाउन लैजान लागेको। तपाईंले आफ्ना छोराछोरीलाई पढाउनुहुन्छ कि नाईं?’
ती आमाले भन्नुभयो, ‘ह्या बाज्या, पढेपोनि मर्छ, नपढेपोनि मर्छ, केको पढाउने?’
दुईटा समुदायमा यस्तोखाले भिन्नता थियो। यता एउटा समयुदायलाई चाहिँ बालक छोरालाई एघार दिन अप्ठेरो बाटो, भीरपाखा, नदीनाला छिचोल्दै हिँडाएर पढाउनकै निम्ति काठमाडौ पुर्याउनुपर्ने। अर्कातिर, एउटा समुदायमा भने ‘पढाएर सधैं बाच्ने भए पो पढाउनु, पढाए पनि मर्छ, नपढाए पनि मर्छ’ भन्ने खालको बुझाइ थियो।
गाउँबाट पैदल आउँदा घरबाटै सामल बोकेर ल्याउनुपर्थ्यो। सामल बोक्न भरियाहरु राखिन्थ्यो। खानेकुरा टन्न हुने भएकोले भरियाहरु हिँड्न सक्दैनथे। खानेकुरा खाँदै गएपछि भारी हलुको हुँदै जान्थ्यो र उनीहरुलाई केही सहज हुन्थ्यो। भरिया नराखेको बेला भने हामी बाबुछोराले सातु र सख्खर मात्र बोक्थ्यौं।
बाटोमा जसको घरमा बास बसिन्थ्यो त्यहीँ आफूले प्रयोग गर्ने भाँडाकुँडा र दालचामलको पैसा तिर्थ्यौं। भाँडा प्रयोग गरेवापत ४ पैसा लाग्थ्यो। दाउँरा बालेर आफैं भात पकाएर खान्थ्यौं। रोटी भने अरुले नै पकाइदिन्थे। तर मेरो बुबा बाहुन भएकोले प्राय: भान्सामै खानुहुन्थ्यो अनि आफैं पकाउनुहुन्थ्यो।
०००
काठमाडौं पुगेपछि म पद्यमोदय हाइस्कुलमा ८ कक्षामा भर्ना भएँ। तर मेरो दाइले ‘तँ सानै छस्, ८ कक्षामा हुँदैन’ भनेर भोलिपल्टै सात कक्षामा झारिदिनुभयो। सात कक्षादेखि पढाइ सुरु गरें। सबै कक्षामा पहिलो श्रेणीमा उत्तीर्ण भएँ। सो समयमा बुबाले सर्वोच्च अदालतमा वकालत गर्नुहुन्थ्यो, म पुतलीसडकको पद्यमोदयमा पढ्थें।
त्यसबेला छात्रहरु मात्र हुन्थे। छात्रा हुँदैनथे भन्दा पःनि हुन्छ। एसएलसीसम्म संस्कृत, नेपाली, गणित, नैतिक शास्त्र लगायत सबै विषय पढ्नुपर्थ्यो। एकदम थोरैले मात्र साइन्स विषय रोज्थे।
बुबाले मलाई पाठशाला सिकाइपछि साइन्स विषय पढाएर इन्जिनियर बनाउने सपना बुन्नुभएको थियो। यतिबेला सम्झिँदा लाग्छ, साइन्स विषय नै पढ्न बालखैमा ११ दिन हिँड्ने मैमात्र होला।
हवाइ भाडा ८९ रुपैयाँ
२०२४ सालतिर हो क्यारे, मेरो स-परिवार खोटाङबाट इनरुवा बसाइँ सरेको थियो। बुबाले त्यहाँ घर बनाउनुभएको थियो। पद्यमोदयबाट म्याट्रिक्स (एसएलसी)दिएर म इनरुवा गएको थिएँ। पास भएँ।
यता अमृत साइन्स कलेजमा इन्टरमिडियट साइन्समा भर्ना भएको थिएँ। बुबाले त्यतिबेला नै मधेश (विराटनगर)बाट प्लेन चढाएर काठमाडौं ल्याउनुभएको थियो। त्यो मेरो पहिलो फ्लाइट थियो। त्यसबेला प्लेनको भाडा प्रतिव्यक्ति ८९ रुपैयाँ थियो। घर आउने-जाने प्लेनबाटै गर्थें। त्यसबेला बुबाले ममाथि गर्नुभएको त्यो सबैभन्दा ठूलो लगानी थियो।
‘साइन्स पढ्नुपर्छ, साइन्स पढेर इन्जिनियर हुनुपर्छ भनेर’ बुबाले पठाउनु थियो। अहिले सम्झन्छु, म निकै भाग्यमानी छोरा थिएँ। विस्तारै प्लेन भाडा पनि ८९ बाट १५०, २०० हुँदै बढेको थियो। अचेल विराटनगर-काठमाडौंको हवाई भाडा कम्तीमा पाँच हजार छ।
त्यतिखेर हामी बानेश्वरमा डेरामा बस्थ्यौं। डेरा भाडा सस्तो थियो। अहिलेजस्तो फ्ल्याट सिस्टम थिएन। कोठा मात्र हुन्थ्यो। एउटा कोठाको भाडा पाँच रुपैयाँ थियो। पचास पैसामा एक पाथी चाम किन्थ्यौं।
तलब पनि थोरै हुन्थ्यो। मासिक तलब बढीमा ७५ रुपैयाँ, एक सय रुपैयाँ मात्र हुन्थ्यो। मेरो बुबाको तलब महिनाको ९ रुपैयाँ थियो। एक रुपैयाँ बुझाएपछि तलबको रुपमा १० रुपयाँको नोट दिन्थे।
काठमाडौंमा सार्वजनिक यातायात निकै कम थिए। धुलिखेल आएपछि मात्र लरीजस्तो गाडी चढ्न पाइन्थ्यो। लरीले अहिलेजस्तो ट्याँ-ट्याँ टी-टी हर्न बजाउँदैनथ्यो। भ्वाँ-भ्वाँ गर्दै बज्थ्यो।
एक पटक बुबा र म धुलिखेलदेखि बानेश्वरसम्म त्यो गाडी चढेका थियौं। धुलिखेलदेखि बानेश्वसम्मको एक जनाको भाडा २५ पैसा भन्थ्यो। तर हामीले बार्गेनिङ गरीगरी १०/१० पैसा तिरेको याद छ। यी सबै कुराहरु यतिबेला मिथजस्तै भइसक्यो।
फरक शैलीका किताबहरु
बुबाले देख्नुभएको इन्जिनियर बन्ने सपना पूरा नभए पनि म आर्किटेक्ट बनें। अध्ययन सकेपछि अध्यापन थालें। मैले आर्किटेक्चरका किताबहरु पनि लेखेको छु। ती किताब महाकाव्य शैलीमा छन्।
‘शिक्षक शिष्य संवाद’ वाणिक छन्दमा लखिएको पुस्तक हो। सत्यमोहन जोशीले यो पुस्तक लोकार्पण गर्नुभएको थियो। करिब १० वर्षअघि अध्यापनको समयमा लेखेको यस पुस्तकमा जसरी विद्यार्थीलाई पढाउँथें त्यही संवाद छ।
अर्को मुनामदन अर्थात् झ्याउरे शैलीमा ‘पाटनको कृष्ण मन्दिर’ पुस्तक लेखेको छु। यसमा कृष्ण मन्दिरको उत्पति, इतिहास, त्यहाँको कला र वास्तुकलाको वर्णन, पर्यटक आदि सबैथोक छ।
अर्को विपदसम्बन्धी काव्य शैलीमै ‘मैना बुलबुल’ लेखेको छु। यस्तै सेक्सपेरियन सनेटमा लेखेको अंग्रेजी पुस्तक छ, ‘आर्किटेक्चर ओ आर्किटेक्चर’। यी सबै पुस्तक झन्डै १५ वर्षअघि लेखेको थिएँ।
मेरो बुबा र दाइहरुले पनि पहिलेदेखि नै विभिन्न छन्दमा आफ्ना रचना लेख्नुहुन्थ्यो। वास्तवमा हाम्रो त गद्य नभई पद्य परम्परा हो। त्यसको प्रभाव पनि हुनसक्छ। यी सबै पुस्तक अध्यापनकै समयमा लेखेको थिएँ। सबै पुस्तक आर्किटेक्चरसँगै सम्बन्धित छन्।
आर्किटेक्चरलाई सामग्रीमा लेखिएको महाकाव्य पनि भनिन्छ। आर्किटेक्चर आफैंमा कलासँग सम्बन्धित हुने भएकोले मैले पनि यी पुस्तक लेखे। वास्तुकला चित्रकला, मूर्तिकला कला, साहित्य आदि सबै कलाको जननी हो।
आविष्कार, लेखन, अध्यापन, स्थलगत भ्रमण आदि सबै काममै व्यस्त हुन्थें। त्यसबेला यी सबै कामको लागि समय व्यवस्थापन गर्थें। समय व्यवस्थापन त म आज पनि गर्छु। त्यसैले आफूले थालेका हरेक काम सफल छन् जस्तो लाग्छ। अचेल पनि खेलकुद हेर्छु, समाचार पढ्छु। आफूले चाहेको काम गर्न समय मिलाउन सक्छु।
आविष्कारकको रुपमा
चौथो शताब्दीतिर दार्शनिक चाणक्यले ‘अर्थशास्त्र’ नामक किताबमा ‘शहरमा पोखरी बनाउनु, जलासय बनाउनु’ भनेर लेखेका थिए। शहरी योजनामा पोखरीको महत्वबारेमा चाणक्यले उहिले नै लेखेका थिए। चाणक्यको पोखरी दर्शनकै आधार मान्नुपर्छ अचेल पनि।
विकसित मुलुक जापान, चीनतिरका शहरहरुमा हेर्ने हो भने पनि बाढीलाई रोक्नेखालको पोखरी बनाएको पाइन्छ। शहरमा बाढी रोक्न जापानमा पनि निकै गहिरा खाल्डा एवं पोखरी बनाइएका छन्।
काठमाडौंमा हेर्ने हो भने पनि विभिन्न स्थानमा प्राचीन पोखरी भेटिन्छन्। ऊ बेला नेवारहरुले नेवारी भाषामा पुखु भनिने पोखरी बनाएको हामीले देख्छौं। तराई र पहाडका विभिन्न स्थानमा पनि प्राचीन समयमा बनेका पोखरी हामी देख्छौं। तिनै परम्परागत शैलीमाथि नै मैले थप खोजी गरेर र बाढी रोकथाम एवं नियन्त्रणको सही उपाय बनाएँ।
पहाडी क्षेत्रमा ठूलो पानी पर्दा भिरालो क्षेत्रको पानी माथि नरोकिएर हुइँकिएर तलतिर झर्ने हुँदा बाढी आउँछ। बाढीले निम्त्याउने अन्य समस्या रोकथामको लागि विगत डेड वर्षदेखि ‘पोखरी उत्खनन’ अभियान नै सुरु गरें।
यस अभियान अन्तर्गत बर्दिबासको चुरे क्षेत्रमा मैले १०१ वटा पोखरी बनाएँ। यसमा मलाई रोटरी क्लब ठमेलले सहयोग गरेको थियो। यस्तै नास्टको सहयोगमा मैले खोटाङको खार्पामा ७५ पोखरी बनाएँ। आकाशबाट आउने विपद सम्बोधन, रोकथाम एवं न्यूनीकरणको लागि पोखरी नै महत्वपूर्ण हो।
भूकम्प प्रतिरोधी क्षमताको लागि भने बस्तीको चारैतिर जमिनमुनि ढुंगाको मात्र प्रयोग गरी पर्खाल बनाउनुपर्छ। त्यसले भूकम्पको लहरलाई सुस्त पार्छ र ठूलो क्षतिबाट बच्न सकिन्छ। यो पनि मैले नै आविष्कार गरेको हुँ।
केही वर्षअघि मैले लुम्बिनीमा वायुपंखी रिक्सा बनाएको थिएँ। जुन प्लाष्टिकको सेमिनास टर्वाइन लगाएर रिक्सालाई सजिलो पार्ने प्रविधि थियो। रिक्सामा जडित पंखामा हावा लागेपछि अगाडि धकेलिन्छ र रिक्सावालालाई सहज हुन्छ। चालकलाई थकान कम हुन्छ। रिक्सामा बस्ने यात्रुलाई हावा दिन्छ। लुम्बिनीमा पर्यटकले यस्तोखाले रिक्सालाई निकै मन पराएका थिए।
विस्तारै भवन संरचनामा सबैभन्दा बढी क्षति केले गर्छ भन्ने विषयमा अध्ययन गर्दा विशेषगरी हाम्रो देश र विदेशतिर पनि यो डिजास्टरको मुख्य भूमिका हुँदो रहेछ भन्ने निष्कर्ष निकालें। त्यसमा बाढी, पहिरो, भूकम्प, आगलागी, डढेलो, चट्याङ जस्ता प्राकृतिक प्रकोप र विपदले भवन संरचनामा क्षति पुग्ने रहेछ भन्ने पत्ता लगाएँ।
पछिल्लो समय जलवायु परिवर्तनले भवन संरचनामा ठूलो समस्या खडा गरेको छ। यति मात्र नभई मैले एकदम कम खर्चमा यस्ता विपद्हरुको सामना कसरी गर्ने, स्थानीय सामग्री, स्थानीय सिप तथा स्थानीय स्रोतबाट विभिन्न रैथाने प्रविधि विकास गरें।
पहिलो, खरको छानोमा आगो नलाग्ने प्रविधि, दोस्रो, भूकम्प प्रतिरोधी प्रविधि, बाढी नियन्त्रण एवं रोकथामको प्रविधि, ढुंगा-माटोबाट बनेका भवनमा बाँसले प्रवलीकरण गर्ने प्रविधि आदि आविष्कार गरेको छु।
हाम्रो मुलुकमा आउने विपदलाई मैले दुई भागमा विभाजन गरेको छु। नेपालमा दुई किसिमले विपद् आउँछ, एउटा आकाशबाट पानी परेर र पातालबाट भूकम्पको रुपमा। आकाशबाट आउनेमा बाढी, पहिरो, डढेलो, चट्याङ, जलवायु परिवर्तनका समस्याबाट। यसको समाधान कसरी हुन्छ भन्ने विषयमा अनुसन्धान एवं आविष्कार गरेको छु। यो नितान्त नयाँ आविष्कार भने होइन।
रैथाने प्रविधि
रैथाने प्रविधिलाई आधुनिकीकरण गरेर प्रयोगमा ल्याउने हो। परम्परागत रुपमा प्रयोगमा रहिआएको स्थानीय प्रविधि नै रैथाने प्रविधि हो। त्यसलाई हामीले विज्ञानको कसीमा तौलिनुपर्छ। तिनीहरु वैज्ञानिक भएको खण्डमा मात्र प्रयोग गर्नुपर्छ।
जस्तो: पहाडमा परम्परागत रुपमा चलिआएको भल काड्ने, चपरी पुर्ने भन्ने थियो। जुन रैथाने प्रविधि थिए। ती वैज्ञानिक छन् या छैनन् भनेर मैले रिसर्च गरेको थिएँ। वैज्ञानिक भएका भएको पुष्टि भएपछि मात्र आधुनिकीकरण गरेर पहिरो गएको स्थानभन्दा माथितिर कुलो बनाएर पानिलाई दुईतर्फ निकास गर्ने र पहिरो जाने संवेदनशील क्षेत्रमा पानी जान नदिई पोखरी बनाएर पहिरो रोकथाम गर्न विधिको रुपमा प्रयोग गर्न थालिएको हो।
रैथाने प्रविधिमा पनि कतिपय चाहिँ वैज्ञानिक पक्ष हुँदैन। त्यस्तालाई हामीले अवलम्बन गर्नु हुँदैन। तर वैज्ञानिक भएकालाई भने हामीले अवलम्बन गर्नुपर्छ। विभिन्न प्रक्रियामार्फत हामीले पुष्टि गरेर मात्र प्रयोग गर्छौं।
यो सत्य अनुमानलाई खण्डन गरेर प्रमाणित गर्ने हो। यसो गर्न सकेमा रैथाने प्रविधिको पहिचान हुन्छ। निरन्तरता रहन्छ। हाम्रो आफ्नो पहिचान हुन्छ। नेपालमा रैथाने प्रविधि हाम्रो भु-बनोट अनुसार फरक भएको मैले पाएको छु।
‘रैथाने आविष्कार नपत्याउँदा दु:ख पाएको छुँ’
कुनै चलिरहेको प्रविधिलाई प्रयोग गर्दा कसैले पनि प्रतिवाद गर्दैन। तर जब नयाँ आविष्कार हुन्छ, मानिसमा हुने एकखाले जडताको कारण स्वभाविक रुपमा त्यसलाई पत्याउने कम हुन्छन्। नयाँ आविष्कारलाई अवलम्बन गर्ने कमै हुन्छन्। रैथाने प्रविधिले जब निरन्तरता पाउँदैन तब त्यो प्रविधिलाई कसैले नपत्याउने रहेछ।
सोही कारण भन्नुपर्छ, रैथाने प्रविधि प्रयोगमा ल्याउने विषयमा मैले दु:ख पाएको छु। जस्तो: २०७२ सालको भूकम्पअघि नै मैले बाँस प्रवलीकरण गर्दा घरहरु लड्दैनन्। भूकम्प प्रतिरोधी हुन्छन् भनेर सन् २००६ तिरै आविष्कार गरिसकेको थिएँ। वैज्ञानिक ढंगबाटै पुष्टि गरेको थिएँ।
विभिन्न जर्नलमा आफ्नो रिसर्च प्रकाशित गरें। विभिन्न ठाउँमा आफ्नो प्रिजेन्टेसन दिएँ। थुप्रै लेख लेखें। तर त्यतिबेला मान्छेले ती घरहरु प्राविधिक नभएको भन्दै पत्याएनन्। भूकम्पपछि पनि मानिसले बाँसको प्रवलीकरणबारे पत्याइदिँदैनन्। यदि त्यो प्रविधिले पहिलेदेखि नै निरन्तरता पाएको भए २०७२ सालको भूकम्पमा यतिका भवन संरचनामा क्षति पुग्ने थिएन।
यो प्रविधिलाई व्यापक प्रयोगमा ल्याइएको भए मानिसले बाँसको प्रवलीकरण गर्थे होला। पिल्लरवाला कंक्रिटका घरहरु कम बन्थे होला। तर यो रैथाने प्रविधिबाटै नयाँखाले प्रविधि पत्ता लगाउँदा चाहे विगतमा होस् या वर्तमानमै मानिसले सहजै नपत्याउने रहेछन्।
यसमा मैले भोगेको अर्को पाटो भनेको कुनै पनि प्रविधि तुलनात्मक रुपमा महँगो छ भने त्यो प्रविधि अधिकतमको अभिरुचिमा पर्दोरहेछ। महँगो प्रविधि बलियो र राम्रो हुन्छ भन्ने धारणा हुँदोरहेछ। कम मूल्य र खर्चका प्रविधिहरुले प्रयोगकर्तालाई राहत दिए पनि कार्यान्वयन गर्ने मान्छेलाई कम राहत दिने हुँदा लोकप्रिय नबन्ने रहेछन्।
साथै, हाम्रो देशमा विदेशीले त्यही आविष्कार गरिदियो भने त्यसको उच्च मूल्यांकन हुन्छ। त्यही काम हामीले गर्यौं भने अवमूल्यांकन हुन्छ। उच्च मूल्यांकन र अवमूल्यांकनले गर्दा मैले दु:ख पाइरहेको छु। मैले आविष्कार गरेका विभिन्न रैथाने प्रविधि कार्यान्वयन नहुँदा र मान्छेले नपत्याइदिँदा दु:ख पाएको छु।
जेठ १९, २०७९ बिहीबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।