पोखरा-१८ मा ३ मतले चुनाव हारेका थापाले हाले मुद्दा

पोखरा-१८ मा ३ मतले चुनाव हारेका थापाले हाले मुद्दा

पोखरा । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तीन मतले पराजित भएका पोखरा–१८ का वडाध्यक्षमा पुस्कल बहादुर थापाले मुद्दा दर्ता गरेका छन्। नेपाली कांग्रेसका शिव तिमिल्सिनासंग तीन मतले पराजित भएका थापाले चुनावमा खसेको मत भन्दा ९ मत कम भएकाले त्यसको खोजी गरिदिन भन्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका हुन्। 

थापाले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन्। 

निर्वाचन कार्यालयको रेकर्डमा वडाका ५ हजार ८ सय ४३ मतदाता मध्ये ४ हजार ३ सय ४८ मत खसेको थियो। तर, गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएपछि मत गणनाका क्रममै विवाद भएको थियो। त्यस वेला ९ मत गायब पारिएको आरोप लगाउँदै नेकपा एमालेले पोखरा महानगरमा जारी मतगणना नै छाडेर नाराबाजी गर्दे निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेको थियो। 

एमाले उम्मेदवार थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाको माग सहित निवेदन पनि दिएका थिए। तर पुनः गणना नगरी निर्वाचन कार्यालयले उनको उजुरीकोका बारेमा गम्भीर नभएको भन्दै मतगणनालाई अगाडी बढाएको थियो।

जेठ १९, २०७९ बिहीबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।