कबड्डी-४ जत्तिको फिल्म बनाए बलिउड र साउथसँग डराउनु पर्दैन
महिला हिंसाविरुद्ध 'जिरो टोलिरेन्स' भन्दाभन्दै एउटा भद्दा मजाक भयो मङ्गलबार। अहिले चलिरहेको फिल्म कबड्डी-४ की नायिका मिरुना मगरले आफूमाथि दुर्व्यवहार भयो भन्दै फिल्म हेर्न आएका एक युवकलाई थप्पड हानिन्। प्रहरीमा उजुरी समेत दिइन्।
तर, भिक्षुको पोशाक लगाएकोलाई झापड हानेको भन्दै जब मिरुनाको कदमको विरोध भयो, फिल्म र नायिका नै बहिष्कारमा परे- एकाएक 'भाइ सम्झेर माफी दिएको' भन्दै आफ्नै पीडकसँग सम्झौता गर्न बाध्य भइन् मिरुना।
फिल्म चलाउनु परेपछि आफूमाथि भएको दुर्व्यवहार पनि सहजै स्वीकार्न बाध्य भइन् मिरुना। एउटी वयष्कको अवस्था त यस्तो हुन्छ भने नाबालिगले किन बयान नबदल्नु!
लेख्न खोजेको फिल्मबारे हो। तर फिल्म हेरेर आएपछि जोडिएको यो प्रशंग उल्लेख नगरी के फिल्मको मात्र कुरा गर्नु भनेर उल्लेख गरे। अब फिल्ममा प्रवेश गरेँ है त।
विषय हो- कबड्डी-४ कै।
कबड्डी ४: द फाइनल म्याचले हलमा दर्शकको हुल ल्यायो। व्यापार जमेर गर्यो। फिल्म कमजोर छ। तर अर्गानिक कथा अनि चरित्रका कारण रुवाबासी गर्नु परेन यसका निर्माताले। दर्शकहरूले कमजोरीलाई माफ गरेर फिल्मलाई माया गरे।
कबड्डी-४ बारे सहकर्मी पुष्पा थपलियाले समीक्षा नै लेखिसकिन् उकेरामा। त्यसैले यो, समीक्षा होइन। यो नितान्त मेरो भावना हो। एक दर्शकको दृष्टिकोण हो। समीक्षकको समीक्षा हैन। सिनेमा हेरिसकेपछि भन्नैपर्छ जस्तो लागेका दर्शकको दृष्टिको सङ्गालो हो।
फिल्म हेर्दा यस अगाडि नेपाली हलमा दक्षिण भारतीय फिल्मको बढ्दो क्रेज अनि नेपाली फिल्म निर्देशकहरूको रोइलो झल्झली आद आयो। दक्षिण भारतीय फिल्मका सटहरू नबिराई कपी गरेर राष्ट्रियताको गफ गर्नेहरूको अनुहार याद आयो।
सँगै, कबड्डी जत्तिको फिल्म मात्र बनाउन सके पनि नेपाली चलचित्र उद्योग बलिउड र साउथ इण्डियन फिल्मसँग डराउनै पर्दैन भन्ने लाग्यो। प्रविधि र लगानीको सीमितताका कारण गुणस्तर तलमाथि पर्न सक्छन्। तर नेपाली माटोको सुगन्ध दिन सक्ने हो भने 'नेपाली फिल्मलाई माया गरौं' भनेर राष्ट्रवादको बर्को बेच्नु पर्दैन। नेपाली दर्शकले नेपाली माटो बासना आउने फिल्मलाई माया गर्छन् भन्ने प्रमाण पनि हो कबड्डी-४ को क्रेज।
दर्शकको साथ नपाएको भए एक साता नपुग्दै १३ करोड बराबरको ग्रस कलेक्सन कहाँ सम्भव हुन्थ्यो र! आफुमाथि भएको दुर्व्यवहारबारे बोल्दा फिल्म बहिष्कारको गलत अभियान नचलेको भए ग्रस कलेक्सनको अंक पक्कै उचालिन्थ्यो नै।
यति भनिरहँदा कबड्डी-४ अति राम्रो फिल्म भन्ने हैन नै। पक्का यो मौलिक छ। फिल्म हेर्दा कुनै हिन्दी या दक्षिण भारतीय वा अंग्रेजी वा कोरियन फिल्मको सटको झल्को आउँदैन। तै पनि चलचित्र त कमजोरै हो।
पहिला सकारात्मक कुरा गरौँ।
सबैभन्दा मौलिक हो- विजय बरालको अभिनय। र विजय, यो फिल्मका अभिनेता मात्र होइनन्। उनी नायकै हुन् यसको।
दयाहाङ राई र सौगात मल्ल हुँदाहुँदै विजय कसरी नायक भन्ने जिज्ञासा लाग्न सक्छ। नायक त्यो हो जसले फिल्म बोक्न सक्छ। दर्शकको मनमा बस्न सक्छ। कसको सट कति लामो छ भन्ने आधार हुन्न नायक हो या हैन भन्न। त्यसैले अभिनयको दृष्टिले विजय यो फिल्मको नायकै हुन्।
दाँत फुकालेर, अनुहारमा कालोमोसो दलेर, कपाल सेतो पोतेर, मुख बङ्ग्याएर अनेक हतकण्डा अपनाएर हसाउनेहरूको कब्जामा हास्य बजार पुगिरहेको बेलामा विजय जस्तो कलाकार छायामा परिरहनु भनेको नेपाली चलचित्रको दुखान्त पक्ष हो।
यही दुखान्तबीच कबड्डीले विजयलाई र विजयले कबड्डी र नेपाली चलचित्रलाई यसमानेमा ठूलो गुण लगाएका छन्।
हलिउडमा रबिन विलियम्स थिए- खाँटी हास्यकलाकार। हलिउडमा रबिनले ओगटेको स्थान नेपाली चलचित्र उद्योगमा विजयले ओगट्ने ठूलो सम्भावना देखायो यो फिल्मको अभिनयले।
फिल्ममा बिकेको भूमिकामा छन् उनी। बिकेले 'तिमी कति किलो छौ?' भनेर सोधेको सिनमा हास्दिन भनेको मान्छे पनि हास्न बाध्य हुन्छन्। अनि कुटाइ खाँदाको 'दुखाइ'को एक्सप्रेसन। क्या जीवन्त छन् ती अभिनय।
अभिनयकै कुरा गर्दा झाँक्रीको भूमिकामा देखिएका उपेन्द्र सुब्बाको पनि मौलिक छ। अन्तिममा 'हिरोइन भगाउने सिन'मा झाँक्रीले फर्केर हेरेर दिने 'क्यु' अभिनयमा पर्फेक्सनको उदाहरण हो। आफ्नो सिन सकिएपछि अभिनय सकियो भन्ठान्ने कलाकारको लागि त्यो 'क्यु' गतिलो पाठ पनि हो। सिक्दा फरक पर्दैन।
भट्टीवालीको भूमिकामा देखिएको गौमाया गुरुङको त के कुरा। डेब्यूमै दिल जितिन्। बुद्धि तामाङ सदाबहार भइहाले। शान्तिको भूमिकामा देखिएकी मिरुना मगरको अभिनयमा पनि दोष लगाउने ठाउँ छैन।
म निराश भएको सौगात र दयाहाङकै अभिनयबाट हो। सौगातको अभिनय ओभरप्लेले ग्रस्त छ। तुलनै गर्नुपर्दा डर र देवदासको शाहरुख खानको जस्तो लाउड। एकदम लाउड।
दयाहाङको अभिनय पूरै अण्डरप्ले। पात्रमाथि न्याय गर्न चुकेका छन् उनी।
बुद्धि तामाङ र विजय बरालले थिएटर अभिनयलाई बिर्सेर अघि बढ्दा दयाहाङ र सौगातमा अझै थिएटरकै अभिनय शिल्प बाँकी छ। उनीहरुले बुझ्न बाँकी पक्ष - थिएटर र फिल्मको अभिनय फरक हुन्छ भन्ने नै हो।
कथा र चरित्र चित्रण
कथाको कुरै नगरौं। कमेडी फिल्म हेरिरहेका दर्शक निराश हुन्छन्। पूरै बासी छ कथा। न ट्वीस्ट न टर्न।
फिल्मको कथा पनि यति सुस्त छ कि, हाफ टाइमअघिको कुनै पनि दृश्य कामै छैन। फेरि जहाँ हाफ टाइम हुनुपर्ने त्यहाँ छैन। कथामा द्वन्द्व नै नआई हाफ टाइम हुन्छ। अनि दोस्रो हाफको ५-७ मिनेटपछि बल्ल द्वन्द्व सुरु हुन्छ।
म परेँ अङ्ग्रेजी साहित्यको विद्यार्थी। नेपालीमा के-कसो भन्छन् थाहा भएन। अङ्ग्रेजीमा चाहिँ कथाको संरचना जसलाई न्यारेटिभ स्ट्रक्चर भनिन्छ, त्यसमा Exposition, Rising Action, Climax, Falling Action र Resolution अथवा denouncement हुन्छ।
कथा कस्तो हुन्छ भन्ने सन्दर्भमा यो एरिस्टोटलले दिएको सिद्धान्त हो।
यसविपरीत कथा हुनै सक्दैन। भयो भने, त्यो कथा होइन गन्थन हुन्छ। कबड्डीको पहिलो हाफ यस्तै गन्थन हो कथा होइन।
कथै मान्ने हो भने एक्सपोजिसन एकदमै बढी भयो। क्लाइमेक्सका लागि निर्देशकले गोरुले दाइँ गरेको जस्तो र्याइँ र्याइँ घुमाए।
त्यसमाथि एक्सपोजिसनका लागि पूरै पहिलो हाफ नै लिँदा पनि पात्रहरू स्थापित नै भएका हुँदैनन्। कबड्डीको १, २ र ३ को एउटा मात्र भाग नहेर्ने हो भने पनि ती पात्रले के गरिरहेका छन् भन्ने बुझ्न सकसै हुन्छ दर्शकलाई।
निर्देशकले यहीँ गरेको अर्को चलाखी हो- मास्टर बमकाजी बनाउने अनि बाँकी कथा अर्को फिल्ममा भन्ने। तर फिल्म बनाइसकेपछि अर्को भागमा देखाउँछु भनेर छुट पाउँदैनन् निर्देशकले। सिनेमा चेत भएका दर्शकको लागि यो निर्देशकले गरेको अपराध हो।
जस्तो मिरुना किन दयालाई मन पराउँछिन् त्यति विघ्न? यसको जवाफ दिनुपर्दैन निर्देशकले? मिरुना शिक्षिका हुन् भन्ने पनि संवादले मात्र बोलेको छ, दृश्यले बोलेको छैन। अनि उनी शिक्षिका हुँदा कथालाई के फरक पर्यो र नहुँदा के फरक पर्न सक्थ्यो त्यसको विश्वस्त उत्तर निर्देशक र कथाकारसँग छैन। व्यक्तिगत भेटेर बताउन सक्लान् तर, फिल्ममा त देखाएका छैनन्।
अर्को दयाहाङ विद्यालयको साटो धारो व्यवस्थापन समितिको अध्यक्ष भएको भए पनि फिल्म अघि बढ्ने थियो। विद्यालयकै अध्यक्ष देखाएपछि कथाले त्यसलाई न्याय गर्न पर्ने हो क्यारे!
अर्को, दयाहाङको जस्तो 'औंठा छाप' पात्रलाई विद्यालय व्यवस्थापन समितिकै अध्यक्ष बनाउँदा यसले नेपालको शैक्षिक प्रणालीको जीवन्त र यथार्थ तस्बिर देखाउँछ भन्ने पनि तर्क होला। तर विद्यालय जस्तो संवेदनशील क्षेत्रको जिम्मेवारी पाएको दयाहाङ नै चलचित्रको मुख्य पात्र हुनुले निर्देशकको निर्देशकीय क्षमतामाथि पनि प्रश्न गर्छ।
यो पनि निर्देशक र कथाकार आफ्नो कथामा प्रष्ट नहुनुको परिणाम हो।
यता, फिल्मलाई संवादले बोकेको छ। संवादलाई विजयको कमिक अपियरेन्सले।
अँ त अघि विजय कसरी चलचित्रका नायक हुन् भन्ने भन्दै थिएँ।
नायक त्यो हो जसले केही प्राप्त गर्न केही तत्वसँग जुध्छ। संघर्ष गर्छ। नायकको एउटा लक्ष्य हुन्छ।
तर कबड्डीका हिरो दयाहाङ हरेस खान्छन्। संघर्ष गर्न चाहँदैनन्। उनको लक्ष्य नै छैन।
बरू विजय र बुद्धिको लक्ष्य छ- दयाहाङको विहे गराउने। उनीहरू संघर्ष गर्छन्- कहिले सौगात एण्ड ग्याङसँग। कहिले दयाहाङसँगै।
त्यसैले यो चलचित्रको हिरो बुद्धि र त्योभन्दा बढी विजय हुन्।
अर्को पक्षमा संघर्ष सौगातले गरेका छन्। कसैको चाहनाविपरीत अगुवाई गरेका छन्। यसले बरू उनको भिलेनिज्म प्रष्ट देखाउँछ।
दयालाई हिरोको भूमिका दिएर हिरो बनाउन नसक्नु दयाको कमजोरी भने होइन। यो सरासर निर्देशकको कमजोरी हो। कथाकारको कमजोरी हो।
यसरी पात्रहरूको चरित्र चित्रणमा निर्देशक चुकेको देखिन्छ।
साढे चार सय तिरेर प्रचार हेर्न गए जस्तो
प्रचारको त कुरै नगरौं। क्युएफएक्स जस्तो वान सिनेमाज् प्रचारमुखी छैन भन्ने लागेर कालिमाटीको हलमा फिल्म हेर्न गएको, त्यहाँ पनि प्रचार सुरु भएछ। यसबारे कुनै रङ्ग पत्रकारले लेखिदिए हुने हो।
खैर।
मैले कुरा गरेको साढे चार सय तिरेर हेरेको प्रचार चाहिँ सोनाम र फोनपेको हो। ओहो यति धेरै प्रचार कि कुरै नगरौं।
पात्र जो होस्- सोनामबाहेक त लुगै लगाउँदैनन्। अनि कबड्डी प्रतियोगितादेखि भट्टीसम्म फोनपेको प्रचार।
यसले चलचित्रको प्रोडक्सन कस्ट त घटाउला, सँगसँगै प्रोडक्सन क्वालिटी पनि घटाउँछ।
क्या दामी थ्री सट
शैलेन्द्र कार्कीले खिचेका रहेछन् कबड्डीको यो भाग। तर यो फिल्ममा सिनेमाटोग्राफी भने भएको छैन। भिडियोग्राफी मात्र भएको छ।
फ्रेमिङहरू राम्रो छ। लाइटिङ राम्रो छ। तर तिनले स्टोरी टेलिङमा केही भूमिका निभाउँदैनन्। कथाको घनत्वलाई खिचाइ र प्रकाशले कतै पनि न्याय गर्दैन। बस् खिचिएको छ। त्यत्ति हो।
अर्को 'शेकी' महसुस गराउन कारको सटहरू बढी नै हल्लाइएको छ। एक्सपोजर बढी अनि स्टेडी कम भएर ती भागहरूमा दर्शकलाई सकस हुन्छ। मसँगै फिल्म हेर्न गएका दुई जनाले फिल्म सकिएपछि यही प्रतिक्रिया दिए।
त्यसैले यो सिनेमाटोग्राफी हुँदै होइन। राम्रो भिडियोग्राफी भने हो।
राम्रो कुरा के हो भने दया, बुद्धि र विजयको थ्री-सट र दया, बुद्धि, विजय र उपेन्द्रको फो-सटहरू भने एकदमै राम्रो काम भएको छ। एकदमै सिमेट्रिक छ खिचाइ। वाह!
झुर एडिटिङ
फिल्ममा कथापछिकै झुर पक्ष हो- एडिटिङ।
कबड्डीको एडिटिङमा संवादका अधिकांश सिनमा 'एल कट' प्रयोग भएको छ। एडिटिङ आफैंमा ट्रान्जिसन हो। त्यसमाथि 'एल कट', 'जे कट' भनेको ट्रान्जिसन इफेक्टबिनाको ट्रान्जिसन हो।
तर एल कटमा टाइमिङ नमिलेको हो वा साउण्ड- त्यसले जर्क महसुस गराउँछ।
त्यस्तै सिनहरूको लाइटिङमा एक्कासि परिवर्तन आउँछ। दिउँसोको सिन र रातिको सिन ओभरल्याप भएको महसुस हुन्छ। यो एडिटिङ र पटकथा लेख्ने बेला ध्यान दिनुपर्ने विषय हो। दिइएनछ।
केही टेकहरू लामो लाग्यो मलाई त। एल कट हाल्ने बहानामा केही टेक छोटो भएका छन्।
पहिलो हाफमा त एडिटिङमा जर्कहरू टन्नै छन्। एक सिनबाट अर्को सिनमा जम्प हुँदा जर्क महसुस हुन्छ।
साउण्ड
एउटा अर्को लापरवाही भएको छ कबड्डीको यो भागमा। कहिले स्टुडियो साउण्ड प्रयोग भएको छ। कहिले लोकेशन साउण्ड।
लोकेशन साउण्ड प्रयोग गर्न नहुने भन्ने होइन। गरे त सबैभन्दा राम्रो। तर घरि एकथोक घरि अर्कोथोक प्रयोग गर्नुले चाहिँ फिल्मको स्तर घटाएको छ।
निर्देशक र निर्देशन
फिल्म कस्तो बनाउने भन्ने पूरै अधिकार निर्देशकमा हुन्छ। त्यसैले अरूभन्दा निर्देशकलाई ताली पनि बढी र गाली पनि बढी नै गर्नुपर्छ। पत्रकारितामा प्रधानसम्पादकलाई जस्तो।
पहिला त कबड्डीका निर्देशक रामबाबु गुरुङको तारिफै गर्छु।
दयाहाङ यसपटक पनि विहे क्यान्सिल भएपछि मनको शान्ति खोजिरहेको देखिन्छ। गुम्बामा लामा भएर बसेको देखिन्छ।
कत्तिको याद गर्नुभयो- फिल्ममा हिरोइनको नाम पनि शान्ति नै हुन्छ।
मनको शान्ति खोज्दा खोज्दै शान्ति नै पाएको देखाउनु चाहिँ निर्देशकको निर्देशकीय क्षमताको उत्कृष्ट प्रदर्शन हो। यत्तिको मेटाफोरिकल सिन नेपाली फिल्ममा हेर्न पाउनु पनि सौभाग्य नै हो।
अनि नामअनुसार शान्तिको शान्त चरित्र देखाएर पनि निर्देशकले आफ्नो कला प्रस्तुत गरेका छन्।
धेरै दर्शक र समीक्षकले कबड्डीको यो भागलाई पनि दयाहाङको विहेमै सीमित गरिदिएका छन्। तर दया यसपटक विहे होइन, शान्तिको खोजीमा छन्। जुन पाउँछन् पनि।
तर यो सिनहरू प्रष्ट देखाउन सकेका छैनन्- रामबाबुले। समीक्षात्मक आँखामा देखिन्छ। दर्शकको आँखामा देखिएको भए दयाहाङलाई हिरोको भूमिका दिइनुको तात्पर्य पनि प्रष्ट हुन्थ्यो।
अब गालीको पालो।
फिल्मको अन्तिमतिर 'बाइक चेजिङ' सिन छ। यो सिनमा निर्देशक पूरै चिप्लिए। उनलाई यो सिन खिचाउनै आएन।
फिल्मको नाम कबड्डीसँग भागदौडको सिन देखाएर मेटाफोरिक बनाउन खोजे पनि त्यहाँ भागदौड नै छैन। मोटरसाइकल विस्तारै चलेको प्रष्ट देखिन्छ। यहाँनिर त कलाकार पनि चिप्लिन्छन्। उनीहरूको एक्सप्रेसन पनि फिक्का छ।
अर्को फिटिक्कै चित्त नबुझेको सिन दयाले मिरुनालाई उनको घरसम्म छोडेको सिन। यो सिन एक्लै पात्रहरूको चरित्र विकास गर्न काबिल थियो। तर सौगातलाई यो सिनमा हावी हुन दिएर निर्देशकले फिल्मलाई फितलो बनाए।
अनि स्वर्गीय जयनन्द लामालाई फिल्ममा किन राखियो भन्ने पनि खुल्दैन। त्यत्तिका खारिएका कलाकारलाई कास्ट गरिसकेपछि फेरि किन कमजोर भूमिका दिनु?
नायिकाको बुवा छैनन् भनेर भनेको सिनमा पनि दर्शकको इमोशनसँग खेल्न खोजिएको छ। तर त्यो सिनको कुनै महत्त्व छैन। न त सान्दर्भिकता नै।
जेठ १९, २०७९ बिहीबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।