चौकुनेमा माओवादीको डबल ‘रोल’ निर्वाचनमा कांग्रेस र कार्यपालिकामा एमालेसँग गठबन्धन गरेर विजयी

चौकुनेमा माओवादीको डबल ‘रोल’ निर्वाचनमा कांग्रेस र कार्यपालिकामा एमालेसँग गठबन्धन गरेर विजयी

सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको कार्यपालिका चुनावमा एमाले र माओवादी गठबन्धन विजयी भएको छ। कार्यपालिकाको चुनावका लागि दुई खुल्ला सदस्य र चार निर्वाचित महिला सदस्यहरू गरी छ पदका लागि चुनाव भएको थियो।

सार्वजनिक परिणामअनुसार एमाले र माओवादी केन्द्रको गठबन्धनबाट खुल्ला सदस्यमा शंकर कामी एमाले र नेकपा माओवादी केन्द्रबाट उजिरे ढोलीले विजयी भएका हुन।

यस्तै महिला सदस्यमा एमालेबाट कमला बिक तथा माओवादी केन्द्रले भने अम्बि बिक, पदमा बिक र हजुरा विष्ट विजयी भएका छन्। स्थानीय तहको निर्वाचनमा भने कांग्रेस र माओवादीबीच गठबन्धन बनेको थियो।

चौकुने गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट खड्क बिक र उपाध्यक्ष पदमा कांग्रेसका नरबहादुर बान्तोला गठबन्धनबाट निर्वाचित भएका हुन। १० वटा वडा रहेको चौकुने गाउँपालिकामा चार वडा नेकपा एमाले, चार वडा नेपाली कांग्रेस र दुई वडा नेकपा माओवादी केन्द्रले जितेको छ।

जिल्ला समन्वय समितिका लागि १८ भोटमध्ये नौ भोट एमाले एक्लैको छ भने एक भोट माओवादीको छ। बाँकी आठ भोट कांग्रेससँग छ। यदि एमाले र माओवादी नमिलेको खण्डमा जिल्ला समन्वय समितिमा गोलाप्रथाबाट नौ जना चयन हुनेछन्, तर चौकुने गाउँपालिकामा भएको सहमतिले एमाले र माओवादीले समन्वय समितिमा गठबन्धन बनाउने निश्चित भएको छ। यसबाट जिल्ला समन्वय समितिको नेतृत्व पनि एमाले ( माओवादीले लिने संकेत देखिएको छ।

जेठ १८, २०७९ बुधबार २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।