मेयर बालेन्द्रलाई कांग्रेसको असहयोग, सदस्यको नाम नपठाउँदा कार्यदल बैठक भएन
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न कार्यदल गठन भएको निर्णय कार्यान्वयन हुन सकेन। सोमबार बसेको महानगरको पहिलो कार्यपालिका बैठकले मेयर बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गर्न मङ्गलवार बैठक बस्ने निर्णय गरेको थियो।
तर पहिलो निर्णय नै कार्यान्वयनमा आउन सकेन। सोमबार साँझसम्म बसेको बैठकले मेयर शाह संयोजक अनि उपमेयर सुनिता डंगोलसहित ३२ वडाध्यक्षमध्ये चार जना वडाध्यक्ष रहने गरी कार्यदल गठन गरेर बैठक बस्ने भनिएको थियो।
तर मङ्गलवार कार्यदलले पूर्णता पनि पाउन सकेन भने बैठक पनि बसेन। सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध गरेका कारण काठमाडौँ महानगरसँगै नजिकका अन्य महानगरको समेत फोहोर उठ्न सकेको छैन।
फोहोरको समस्या जटिल बन्दै गएपछि मेयर शाहले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नगरेसम्म उत्सव पनि नमनाउने अनि अन्तर्वार्ता पनि नदिने कसम खाएका छन्।
त्यही फोहोर व्यवस्थापन सम्बन्धी काम अगाडि बढाउन कार्यदल बनाउने प्रयास भएको थियो। जानकारस्रोतका अनुसार एमालेका वडाध्यक्षमध्येबाट एक जना, समाजवादीबाट एक जना र बाँकी २ सदस्य कांग्रेसका वडाध्यक्षमध्येबाट समितिमा राख्ने तयारी गरिए पनि कांग्रेसले २ जनाको नाम पठाएको छैन।
कार्यदलमा रहने सदस्यको नामै नआएकाले कार्यदल गठनले पूर्णता पाउन सकेन र बैठक पनि भएन।
जेठ १७, २०७९ मंगलबार २२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।