अभिनेत्री पूजा शर्माको नयाँ अवतार : रामबाबु, दयाहाङ, विजय बराल र कालीप्रसाद
काठमाडौँ : बिहानै चुच्चेपाटीमा रहेको केएल टावर अगाडि केही व्यक्तिहरू भेला भएर अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी सुरु गर्न थाले। केएल टावरमा मिरुनाको अभिनय रहेको फिल्म कबड्डी-४ लागिरहेको थियो। उनीहरूले पोस्टर च्याते अनि फिल्म चलाए ठिक हुन्न भन्दै धम्क्याए।
अर्को समूह सिटी सेन्टरमा पनि फिल्म लाग्या छ भन्दै त्यता पनि अवरोध गर्न जाने तयारी गर्दै थिए। उनीहरूले दयाहाङ राई अनि मिरुनासँगै भएको पोस्टरबाट मिरुनाको तस्बिर च्यात्दै काजी फेरी एक्लै पर्ने भो भन्दै थिए।
शुक्रवारबाट आक्रामक व्यापार गरिरहेको फिल्ममाथि भएको हमलाको कारण २ दिन अगाडिको घटना देखियो। ताजा हैन, २ दिन अगाडिको घटना। फिल्म हलको भिडभाडको मौका छोपेर मिरुनालाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो फूर्पा तामाङमाथि। उनी विरुद्ध मिरुनाले प्रहरीमा निवेदन पनि दिइन्। तामाङलाई प्रहरी वृत्त जनसेवाले पक्राउ गरेर मुद्दा प्रक्रिया अगाडि बढायो।
टिकटकतिर क्लिप भाइरल नभएसम्म यसबारे त्यति धेरै चर्चा भइसकेको थिएन। सोमबारबाट भने सञ्जालतिर फैलन थाल्यो मिरुनाले गाली गर्दै गरेको क्लिप। लामाहरूले लगाउने पोसाकमा रहेका एक युवाले माफी मागिरहेको दृश्य भाइरल भयो।
मिरुनाले केही युट्युबमा आफूमाथि भएको दुर्व्यवहार खुलाइन्। अनि किन झापड हानेको पनि बताइन्। सायद उनलाई आस लागेको थियो होला अहिले समाजमा देखिएको यौन हिंसाविरुद्धको माहौल। एकाएक मङ्गलवार भिक्षुको पोसाकलाई कारण बनाएर एक समूहले फिल्मको व्यापारमा हमला गरेपछि हलचल ल्यायो। दिनभरको दौडधुपमा तामाङ छुटे। अनि दयाहाङहरु एकै ठाउँमा भेला भएर भाइ हो माफ गर भन्ने शैलीको सहमति पत्रमा साक्षी बसेर मिरुनालाई माफी माग्न लगाए।
विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी भनिएको फिल्मका निर्देशक रामबाबु गुरुङ पनि सहमतिका लागि व्यग्र देखिए। उनीहरूको सक्रियता फिल्म चल्न दिँदैनन् कि भन्ने भयका कारण हो भन्ने प्रस्टै देखियो। शुक्रवारबाट बम्पर व्यापार गरिरहेको दाबी गरेको फिल्मले मङ्गलवारसम्म पक्कै लगानी सुरक्षित गर्यो नै होला।
तर निर्माताका लागि पैसाले कहिले पुग्छ र। फिल्म प्रदर्शन गर्न नदिने भएपछि उनीहरू मिरुनालाई न्याय हैन कि फिल्म चलाउने वातावरण बनाउन केन्द्रित भए। एक अभिनेत्रीले आफूमाथि भएको दुर्व्यवहारको घटनामाथि न्याय खोज्न गएको दृश्य त पर्दाका लागि बिकाऊ कथा हो भने झैँ व्यवहार गर्दै हत्तपत्त तामाङसँग सहमति गराएर सहमति पत्र मात्रै हैन आरोपी र पीडित दुवैले खादा लगाएको अनि झुकेर नमस्कार गरेको तस्बिर गर्वका साथ सार्वजनिक गरे।
अनि बढो प्रफुल्ल भएर यौन दुर्व्यवहारका आरोपीसँग मिलापत्र गराएको सहमति पत्र सार्वजनिक गरे। कानुन अनुसार दण्डनीय गतिविधिमा सहमति गराएर मिलाउन खोज्नु अपराध हो भन्ने बिर्सँदै साक्षी बसे निर्देशक रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई अनि कालीप्रसाद बास्कोटा।
धरौटी निस्किए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा विचाराधीन छ। तर सहमति पत्रमा 'यस विषयलाई लिएर विवाद नगर्ने' उल्लेख गरेकाले भोलिका दिन मिरुना पक्कै प्रशासन जाने छैनन् न्याय माग्न।
अभिनेता पल शाह नाबालिग बलात्कारको आरोपमा फरार रहँदा पूजा शर्मा पल मेरो मुटुमा छ भन्दै हल-हल पुगिरहेकी थिइन्। यी सब दृश्यको लक्ष्य फिल्म चलाउन थियो। फिल्मले लगानी उठायो अनि पल पनि पूजाको मुटुबाट फुत्त खसे।
आज रामबाबु अनि दयाहाङहरुको अनुहार उही पूजाको झैँ देखियो। नत्र यौन दुर्व्यवहार गर्ने भाइ जस्तै लाग्यो भन्दै सहमति गराउन बनेको कागजमा उनी यति सहजै कसरी साक्षी बस्न सक्थे !
जेठ १७, २०७९ मंगलबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।