कुनै 'भाइ'ले भिडभाडको मौका छोपेर 'दिदी'को 'बट'मा नचिमटोस्
फ्यानसँग फोटो खिच्दै थिइन्, अभिनेत्री मिरुना मगर। पछाडिको तल्लो बायाँ भागमा केही अनुभूति गरिन् उनले। पहिलो पटक झुक्किएर छोइयो होला भन्ने लाग्यो। भिडभाडका कारण हो कि भन्ठानेर उनी थोरै ठाउँ सरिन्। दोस्रो पटक त झनै पहिलेको तुलनामा झनै मज्जासँग समातेको अनुभूति भयो। सार्वजनिक ठाउँ भएकाले कसैले यतिसम्म गिरेको हर्कत गर्न नसक्ने भन्दै फेरि मनलाई सम्झाइन्। तर तेस्रो पटक त हदै भयो। पक्रेरै चिमोटेपछि उनको पहिलो रियाक्सन गालामा हात गयो। उनले आफूलाई चिमोट्नेलाई हुलमै थप्पड हानिन्।
थप्पड हान्दासम्म मिरुनालाई त्यो व्यक्ति को हो, कस्तो देखिन्छ थाहा थिएन। लामाको भेषमा देखेपछि उनलाई झनै रिस उठ्यो। भन्छिन्, 'म आफू पनि बौद्ध धर्मावलम्बी हुँ। लामाको भेषमा आएको मानिसले नियतवश मलाई नराम्रोसँग छोएकाले सहन सकिन र फेरि थप्पड हानेपछि पनि गाली गरें।'
उनलाई चिमोट्ने र मिरुनाको हातबाट थप्पड खाने युवा फुर्पा तामाङले प्रहरीलाई दिएको बयान भने फरक छ। उनले भनेका छन्, 'दयाहाङ राई मेरो मन पर्ने कलाकार। उनैको फिल्म लागेकाले हेर्न गाएको थिएँ। बाहिर निस्केपछि अरू धेरैले हिरो हिरोनीसँग फोटो खिचिरहेको देखेँ। मैले पनि हिरोनीसँग सेल्फी खिचेँ तर हल्लिएछ। अलि राम्रो फोटो खिच्नका लागि हिरोनीलाई अलि नजिक आउनुस् न भनेर बोलाएँ। पछाडिबाट आएको हुलले मलाई धक्का मार्यो र उहाँलाई छोइन पुग्यो। एक्कासि उहाँको हात मेरो गालामा पुग्यो। मलाई गाली पनि गर्नुभयो। वरपरको हुलले मलाई नै हेरिरहेको थियो। बोल्न खोज्दा नर्भस भएर बोली नै निस्केन।'
अहिले ती युवा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट तीन हजार धरौटीमा रिहा भए। अनि कबड्डी फिल्मसँग जोडिएका आधा दर्जन कलाकार साक्षी बसेर भाइ भन्दै माफी दिएर सहमति पत्र गराए।
मिरुनाको शरीर, मिरुनाकै अधिकार
आरोपी धरौटीमा छुटे पनि मुद्दा प्रशासनमा छ। प्रहरीले प्रतिवेदन बुझाइसकेकाले अब तामाङ दोषी हुन् या थप्पड हान्ने मिरुना त्यसको छिनोफानोको क्षेत्राधिकार पनि प्रशासनमै गइसक्यो। त्यसैले को पिडक अनि को पीडित भन्नेतिर लाग्नु सान्दर्भिक नहुन सक्छ।
तर सामाजिक सञ्जालमा यसै घटनाबारे भएको तर्क-वितर्क हेरिरहँदा भने मिरुना समाजमा फैलिएको पितृसत्तात्मक सोचबाट पीडित भएको प्रस्टै देखियो। आरोपीले धारण गरेको पोसाककै भरमा एक धार्मिक समूह नै मिरुनाको विपक्षमा खनियो सडकमा। सामाजिक सञ्जालमा ' कति निर्दोष अनुहार' भन्दै उनै मिरुनामाथि छेडखानी भइरहेको छ।
'निर्माता, निर्देशक, अभिनेताले जे पनि गर्न पाइने, हामीले छुन पनि नपाइने? स्व. गीता माझीलाई श्रद्धाञ्जली दिएको आलो हातले यस्तै प्रकृतिका स्ट्याटस लेखिरहेको छ यति बेला मिरुनाको विरोधमा। सामाजिक सञ्जाल टिकटकमा लाइभ बसेर भन्दै छन्,'सेलिब्रटी जस्तो मानिसले यदि चिमोटेकै हो भने पनि सहनुपर्छ। उसैको फिल्म हेर्न आएको दर्शकलाई अपमान गर्न हुँदैन।'
अर्का थरी भनिरहेका छन्' बुढापाकाले भनेकै थिए अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु। लामाको अनुहार नै इनोसेन्ट हो। जिउ जोगाउन नसक्नु मिरुनाकै गल्ती हो।'
यी प्रतिक्रिया आइरहँदा मिरुना एक महिला हुन् अनि हुलमुलको मौका छोपेर कुनै यौन कुण्ठाले भरिएकाले उनलाई पीडित बनाएको हुनसक्छ भन्ने सोच धेरैमा हराएको देखियो। उनीहरूले मिरुनालाई फगत पर्दामा अभिनय गर्ने पुतलीको रूपमा लिइरहेको दुखद दृश्य देखियो।
हिजो ८ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा बलात्कृत भिडियो सार्वजनिक हुँदा उद्वेलित भएकाहरू आज मिरुनाको विरोधमा देख्दा झन् छक्क परियो। जसको शरीर उसैको अधिकार भन्ने कति चाँडै बिर्सिएको समाजले?
कसैले छोयो। मायाले ढाँडमा थपथप्यायो। अथवा अँगालो मार्यो। त्यसमा असहज कतै महसुस हुँदैन भने त्यो गुड टच हो। तर त्यो छुवाइले राम्रो अनुभूति भएन, असहज महसुस भयो भने त्यो ब्याड टच हो अनि यो देख्नेले भन्दा छुवाई महसुस गर्नेले मात्र अनुभव गर्ने पक्ष हो भन्ने समाजले अझै बुझ्न चाहेको देखिएन।
ए अरूले अँगालो मार्दा हुँदा भिडभाडमा एउटाले यसो छुन नहुने भन्ने प्रतिक्रियाको बाडीले शरीरको अधिकार व्यक्तिको हो,' भन्ने पक्षमा सामान्य रूपमा सोच्न पनि तयार नभएको देखियो।
मिरुनालाई फिल्ममा अर्धनग्न कपडा लगाउन मन छ भने उनले लगाउन पाउँछिन्। त्यो उनको व्यवसायी कुरा हो। निर्माता निर्देशक या अभिनेतासँगै अफेयरमा रहन मन पर्छ भने रहन्छिन्। त्यो उनको व्यक्तिगत रोजाइको कुरा हो। तर त्यसैलाई आधार बनाएर फलानोलाई चाहिँ शरीर नै दिने हामीले चैँ छुन पनि नपाउने भन्ने खालका तर्क मानसिक समस्याका उपज हुन्।
अर्को दृश्य, समाजको अधिकांश सदस्यहरू त जता हावा त्यतै बहने प्रवृत्तिका देखिए।
तामाङको पक्षमा माहौल देखेर तामाङको पक्षमा गए। हिजो टिकटकमा भिडियो सार्वजनिक गर्ने युवतीको साटो अहिले प्रहरी हिरासतमा रहेका मनोज पाण्डेको पक्षमा माहौल बनेको भए त्यतै बहने रहेछन्। किनकि यो पल शाहको केसमा पनि देखिएकै त हो। अर्थात् सामाजिक सञ्जालदेखि सडकसम्म आगो ताप्नेहरूको कब्जा बढिरहेको छ।
ढिलो बोले नि भएन, छिटो बोले नि भएन
नेपाली समाज यति बेला बढो द्विविधामा देखिन्छ। उनीहरू एकातिर नाबालिगको बलात्कार गरेको अभियोगमा जेल पुगेका अभिनेता पल शाहको पक्षमा उभिन्छन्। अनि लामो समयसम्म शारीरिक तथा मानसिक बलात्कार खेपेकी युवतीले आफ्नो समस्याबारे बोल्दा किन ढिला बोलिन् भनेर औँलो पनि उठाउँछन्।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउको माग पनि गर्छन्। स्व. गीता माझीको पाठेघर तान्ने श्रीमान्लाई फाँसीको माग पनि गर्छन्। अनि आफ्नो शरीरमा चिमोट्ने युवालाई ठाउँकाठाउँ थप्पड लगाउँदा उल्टै मिरुनामाथि औला पनि उठाउँछन्।
यो समाजले बुझ्दैन, भिरबाट लडे पनि, हिँड्दा हिँड्दै लडे पनि या सुत्दासुत्दै खाटबाट लडे पनि आखिर उ लडेको हो। फरक यति हो चोटपटकको हिसाब घटनाको प्रकृति अनुसार हुनुपर्छ। पीडित जो भए पनि पीडित हो अनि पीडक कालो, रातो, जे लगाउने भए पनि पीडकै हो। सजायको हिसाब किताब दोष अनुसार हुनुपर्छ।
पल, सामाजिक सञ्जालबाट पुरानो घटनाबारे बोल्ने हिम्मतिली ती युवती, बेड पाट्नर् बन्छौ भन्ने कलेजका कोअर्डिनेटरको पोल खोल्ने छात्रा। यी र यस्ता घटनाले समाजमा अब यौन हिंसाबारे रचनात्मक बहस हुने आश जगाएको थियो तर मिरुनामाथिको व्यवहारले मर्यो ।
कानुनी कारबाहीसम्म पुगेकी मिरुना टिक्नुपर्थ्यो। तर टिकिनन्। कामना यति यो घटनाबाट उत्साहित भएर भोली 'माफी पाइहालिदो रैछ भनेर कुनै पनि भाइले भिडभाडको मौका छोपेर दिदीको बटमा नचिमोटुन्।
जेठ १७, २०७९ मंगलबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।