फिल्म कबड्डीको ब्यापारमा असर परेपछि रामबाबु र दयाहाङ साक्षी बसेर आरोपीसँग मिरुनालाई गराए सहमति

फिल्म कबड्डीको ब्यापारमा असर परेपछि   रामबाबु र दयाहाङ साक्षी बसेर आरोपीसँग मिरुनालाई गराए सहमति

काठमाडौँ : आफूलाई यौन दुर्व्यवहार गरेको आरोपीसँग अभिनेत्री मिरुना मगरले सहमति गरेकी छिन्। हलमा फिल्म यौन दुर्व्यवहार गरेको भन्दै उनको निवेदनमा पक्राउ परेका फुर्पा तामाङको पक्षधरले फिल्म कबड्डी-४ को प्रदर्शनमै अवरोध सुरु गरेपछि दबाबमा आएको निर्माण टिमको प्रभावमा मगरले तामाङसँग सहमति गरेकी हुन्।

मङ्गलवार बिहानैबाटै कबड्डी प्रदर्शन भइरहेको हल बाहिर तामाङको रिहाइको माग गर्दै प्रदर्शन भएपछि फिल्म निर्माण टोली यो केस सहमतिमा टुङ्ग्याउन सक्रिय भएको थियो। उनीहरूकै पहलमा तामाङ मङ्गलवारै जिल्ला प्रशासन कार्यालयबाट तीन हजार धरौटीमा रिहा भए।

धरौटी निस्कनु भनेको आरोपबाट सफाइ पाउनु हैन। सो मुद्दा जिल्ला प्रशासनमा अझैँ विचाराधीन छ नै। तर विचाराधीन रहेको मुद्दामा कबड्डी-४ का रामबाबु गुरुङ, दयाहाङ राई, विजय बराल अनि कालीप्रसाद बास्कोटासहित सात जना कलाकारहरू साक्षी बसेर तामाङलाई माफ गरेको सहमति गराए।

तामाङको तर्फबाट सहमति पत्रमा खेन्पो कमल भण्डारी लगायतका साक्षी बसेका छन्। सहमति पत्रमा तामाङले गल्ती स्वीकार गरी मगरसँग माफी मागेकाले मगरले भाइ सम्झेर माफी गरेको उल्लेख छ।  अभिनेत्री मिरुनाले कसैको जाती, धर्म र सम्प्रदायप्रति असर पुग्ने गरी कार्य नगरेको तर आकस्मिक प्रतिक्रिया जनाउनेक्रममा घटना घटेको भन्दै क्षमा मागिएको छ।

दुवै पक्ष आगामी दिनमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिप्पणी नगर्ने, समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवालाहरूलाई अपिल गर्ने उल्लेख छ।

जेठ १७, २०७९ मंगलबार २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।