केएल टावरको एफक्युबमा 'कबड्डी ४' को टिकट काटेका दर्शकको पैसा भोलि फिर्ता हुने
काठमाडौंः उत्साहजनक व्यापार गरिरहेको चलचित्र 'कबड्डी ४' आज केएल टावरमा प्रदर्शन नै भएन। फिल्मकी नायिकाले एक दर्शकमाथि दुर्व्यवहार गरेको आरोपमा थप्पड हान्दा स्थिति तनावग्रस्त मात्र बनेन, चलचित्र नै बहिष्कार गर्ने भन्दै प्रदर्शन नै रोकियो।
अरू सिनेमा हलमा चलचित्र प्रदर्शन भए पनि काठमाडौंको केएल टावरमा रहेको एफक्युब सिनेमा हलमा आज प्रदर्शनकारीहरूले चलचित्र चल्दै दिएनन्। उनीहरूले चलचित्रको पोस्टर समेत च्याते।
यता एफक्युबले भने आजका लागि टिकट काटिसकेका दर्शकहरूको पैसा भोलि रिफण्ड हुने जनाएको छ।
नायिका मिरुना मगरले सार्वजनिक रूपमा माफी नमागेसम्म एफक्युब मात्र होइन कुनै पनि हलमा चलचित्र चल्नै नदिने भन्दै प्रदर्शनकारीहरू सुन्धाराको सिटी सेन्टरस्थित क्युएफएक्समा पनि पुगेका छन्।
प्रदर्शनकारीहरूले अहिले नायिका र दुर्व्यवहार गरेको भनिएका ती युवालाई मात्र होइन धर्मलाई पनि बीचमा ल्याइरहेका छन्। नायिकाले बौद्ध धर्मावलम्बीहरूमाथि नै प्रहार गरेको भन्दै प्रदर्शनकारीहरू विरोध गरिरहेका छन्।
प्रदर्शनकारीहरू कोही 'लामालाई पिट्ने हिरोइनलाई पाप लाग्छ' भन्दै थिए भने कोही 'नायिकाले सार्वजनिक माफी नमागे हलको सिट च्यात्छु' भनिरहेका थिए।
नायिकामाथि दुर्व्यवहारको आरोप लागेका युवालाई हाल प्रहरीले धरौटीमा रिहा गरिसकेको छ।
जेठ १७, २०७९ मंगलबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।