तारा एयर दुर्घटनाः मृत्यु भएका दश जनाको शव पोखरामा

तारा एयर दुर्घटनाः मृत्यु भएका दश जनाको शव पोखरामा

पोखरा : मुस्ताङको थासाङ गाउँपालिका–२ सानो स्वाँरेमा तारा एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएका २२ जनामध्ये दश जनाको शव पोखरा ल्याइएको छ। दुर्घटनास्थल सानो स्वाँरेबाट मुस्ताङको थासाङ–२ को कोवाङ गाउँमा झारिएकामध्ये १० जनाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत पोखरा ल्याइएको हो। 

अब,अन्य ल्याउन बाँकी रहेका शव त्यहाँबाट हिडाएपछि पोखरामा ल्याण्ड भएको सेनाको हेलीकोप्टर समेत शव लिएर काठमाडौँ उड्ने बताइएको छ। शव बोकेको सेनाको हेलिकोप्टर पोखरामा केही समयका लागि ल्याण्डमात्र गरिएको बुझिएको छ।

अन्य शव पनि मानापाथी हिमालको सानोस्वारेबाट फिस्टेल र कैलाश एयरको हेलीकोप्टरबाट कोवाङमा झारिएको छ। समुन्द्री सतहदेखि ४५ सय मिटरको उचाईमा रहेका दुर्घटनस्थलबाट कोवाङमा झारिएका १० जनाको शव बोकेको सेनाको हेलिकोप्टर पोखरा ल्याण्ड गरिए पनि काठमाडौँ  लैजाने तयारी भएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए।

सानो स्वाँरेबाट पहिलो चरणमा उद्धार गरिएका १० जना व्यक्तिको शवको प्रहरीले मुचुल्का गरेपछि सेनाको हेलिकोप्टर मार्फत ल्याएको हो। आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ–२ सानो स्वाँरेमा दुर्घटना हुँदा चालक दलका तीन सहित २२ जनाको मृत्यु भएको थियो। 

आज बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएपछि स्थानीयको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाले शव संकलन गरिरहेको छ। आज पनि हिमाली क्षेत्रमा सिमसिम पानी पर्ने र बाक्लो कुहिरो लागेका कारण उद्धारमा कठिनाइ भएको सुरक्षा निकायले जनाएको छ।

जेठ १६, २०७९ सोमबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।