प्रदेश १ मा आजबाट बजेट अधिवेशन सुरु

प्रदेश १ मा आजबाट बजेट अधिवेशन सुरु

मोरङः प्रदेश नं १ प्रदेश सभाको १०औं तथा बजेट अधिवेशनको पहिलो बैठक आजदेखि सुरु भएको छ। बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकता पेश गरे।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आजको बैठकमा अहिलेको सरकार सिँगारिएको जस्तो नभएर यथार्थपरक रहेको चर्चा गरे। आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर ल्याएको योजनालाई सम्पन्न गर्न वर्तमान सरकार स्रोत र बजेटको व्यवस्थापनमा लागेको उल्लेख गर्दै उनले भने, “प्रदेश सरकार अनावश्यक खर्च कटौती गरिरहेको छ।”

विगतका सरकारले सञ्चालन गरेको योजना अहिले सङ्कटमा रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले स्रोत र बजेटको व्यवस्थापन नगरी ल्याएका योजना सम्पन्न गर्न सरकार उपाय खोजिरहेको बताए।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जनता र जनताबाट छानिएर आएका जनप्रतिनिधिको पनि सल्लाह तथा सुझावलाई समावेश गर्ने उनको भनाइ छ।

जेठ १६, २०७९ सोमबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।