(संवेदनशील समाचार)* दुर्घटनास्थलमा केही शव भीरमा अड्किए, डोरीको सहायताले निकालिने

(संवेदनशील समाचार)* दुर्घटनास्थलमा केही शव भीरमा अड्किए, डोरीको सहायताले निकालिने

पोखराः तारा एयरको दुर्घटनाग्रस्त विमान भएको ठाउँमा पुगेका स्थानीयले शव संकलन गरिरहेका छन्। खोजी तथा उद्धारका लागि पुगेका स्थानीय इन्द्रसिंह शेरचनले १४ वटा शव संकलन भएको र केही शव भीरको खोंचमा अड्किएकाले निकाल्ने प्रयास भइरहेको बताए।

शेरचनले अप्ठ्यारो ठाउँमा शव भएकाले निकाल्न समस्या भएको बताएका छन्। भीरमा अड्किएका शव डोरीको सहायताले निकाल्ने तयारी भइरहेको छ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि खोजीका लागि गएका स्थानीय शव संकलनमा जुटेका छन्।

शेरचनले भने, ‘घट्नास्थलमा आइपुगेपछि हामी शव गन्दै छौं। यत्रतत्र छरिएका शव अंगभंग अवस्थामा छन्। अहिले संकलन गरिएका सबै शवहरू चिनिने अवस्थामा छन्।’ जहाजमा आगो भने नलागेकाले शव चिनिने अवस्थामा रहेको उनले बताए।

दुर्घटना भएको झण्डै २४ घण्टापछि भेटिएको तारा एयरको विमानमा चालक दलका तीन र १९ यात्रुसहित २२ जना सवार थिए। पोखरामा उडेको १८ मिनेपछि विमान सम्पर्कविहिन भएको थियो।

आइतबार नेपाली सेना र फिष्टेल एयरको हेलिकप्टर खोजीका लागि परिचालन गरिए पनि प्रतिकूल मौसमका सम्भावित दुर्घटनास्थलमा पुग्न सकेको थिएन।

दिनभरिको खोजी प्रयास असफल भएपछि हेलिकप्टर पोखरा फर्किएको थियो।

जेठ १६, २०७९ सोमबार १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।