सानुसरेको १४ हजार पाँच सय फिटमा ठोक्किएको थियो तारा एयर

सानुसरेको १४ हजार पाँच सय फिटमा ठोक्किएको थियो तारा एयर

काठमाडौँ : हराइरहेको तारा एयरको विमान मुस्ताङको सानुसरेको १४ हजार पाँच सय फिटमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

खोज तथा समन्वय केन्द्रका अनुसार बिहान ८: १० मा फिस्टेल एयरमा रहेको खोजी दलले प्लेनको दुर्घटनास्थल फेला पारेको हो। आइतबार पोखराबाट जोमसोम जानेक्रममा प्लेन हराएको थियो।

ट्विनअटर विमानमा १९ यात्रुसहित २२ जना थिए। आइतबार खोजी कार्य सफल नभएपछि सोमबार बिहानैबाट खोजी कार्य सुरु भएको थियो।

बिहानै देखि नेपाली सेना, एयर डाईनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरू खोजीमा खटिएका थिए।

'फिस्टेल एयरको हेलिकप्टर 9N-AJR ले मुस्ताङ जिल्लाको थासाङ गाउँ पालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उँचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको र बिहान ८:१० बजे उक्त हेलिकप्टर दुर्घटना स्थलमा अवतरण गरेको साथै हाल उद्धारको कार्य तीव्र रूपमा जारी रहेको ब्यहोरा जानकारी गराइन्छ' विज्ञप्तिमा भनिएको छ।

जेठ १६, २०७९ सोमबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।