दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

काठमाडौंः मुस्ताङको थसाङ गाउँपालिका- २ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमान भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ। हिजो बिहानबाट सम्पर्कविहीन विमान आज बिहान क्षतविक्षत अवस्थामा गोठाला र स्थानीयले भेटाएका हुन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेका अनुसार कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोली घटनास्थल पुगेका छन्।

“पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ”, उनले भने, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन्।” 

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित, फिस्टेल र कैलाश एयरको एक/एक हेलिकप्टर परिचालन गरिएको बताए। 

मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ। कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा विमान ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एन- एईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो।

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए। तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रशासकीय अधिकृत पाण्डेले बताए।

जेठ १६, २०७९ सोमबार ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।