दिनभरि खोज्दा पनि फेला परेन तारा एयर, सोमबार यी सात ठाउँमा खोज्नेछन् टोलीले 

दिनभरि खोज्दा पनि फेला परेन तारा एयर, सोमबार यी सात ठाउँमा खोज्नेछन् टोलीले 

काठमाडौँ : १९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमानको अवस्था आइतबार खुलेन। पोखराबाट ९: ५५ मा उडेको विमान अन्तिम पटक जोमसोम टावरसँग १०: ०७ को समयमा सम्पर्क भएको थियो। त्यस लगत्तै सम्पर्कविहीन भएको विमान सोही समयमा दुर्घटना भएको आशङ्का गरिएको छ। तर कहाँ दुर्घटना भयो भन्ने एकिन हुन सकेन आइतबार।

विमान सम्पर्कबाट बाहिर जाँदा १३ हजार फिटमाथि उडिरहेको थियो। दुर्घटना हिमाली क्षेत्रमा भएको भन्दै खोजी तथा उद्धारमा खटिएको हवाई र स्थल टोलीले सम्भावित पाँच स्थानमा खोजी केन्द्रित गर्यो। तर आइतबार अँध्यारो नहुँदासम्म पुष्टि हुने गरी कुनै जानकारी आएन।

चालक दलका सदस्यमध्ये विमानमा क्याप्टेन प्रभाकर घिमिरेको मोबाइल नेपाल टेलिकमको टावरको सम्पर्कमा आएपछि स्थान लोकेट गर्ने प्रयास गर्दा धौलागिरि हिमाल क्षेत्र हुनसक्ने देखिएपछि खोजी कार्य त्यतै केन्द्रित गरिएको थियो।

तर विकट क्षेत्र, हिमपात अनि खराब मौसमका कारण न हवाई खोजीमा खटिएको टिम नै सम्भावित घटनास्थलमा पुग्न सक्यो न स्थल मार्गबाट गएको टोली नै पुग्यो।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल विमान दुर्घटना हुनसक्ने सम्भावित स्थान पहिचान गर्न स्थल र हवाई दुवैतिरबाट खोजी गरे पनि विमान रहेको स्थलसम्म पुग्न नसकिएको जानकारी दिए। स्थल मार्गबाट सम्भावित दुर्घटनास्थलका लागि गएको टोली अनुकूलता मिलाएर उतै बस्ने र जोमसोममा अर्को टोली तयारी अवस्थामा राखिएको जानकारी दिँदै उनले स्थानीयहरूबाट आएका सूचनाहरूलाई समेत प्राथमिकता दिए पनि अहिलेसम्म एकिन स्थान भने पहिचान हुन नसकेको बताए।

उनले सोमबार बिहानैबाट विमान खोज्ने काम सुरु हुने जानकारी समेत दिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिवेश लोहनी खराब मौसम र विकट भौगोलिक अवस्थाका कारण आइतबार विमानबारे एकिन हुनसक्ने जानकारी आउन नसकेको बताउँछन्। खोजी तथा उद्धार टोलीमा प्रहरी टिम समेत सहभागी छ।

कहाँ-कहाँ भइरहेछ खोजी ?

विमान बेपत्ता भए लगत्तै स्थानीयले पड्किएको आवाज सुनेको भन्दै दिएको जानकारीको आधारमा प्रारम्भमा घाँसी क्षेत्रमा दुर्घटना भएको आशङ्का गरिएको थियो। पछि क्याप्टेनको मोबाइल सम्पर्कमा आएको नेपाल टेलिकमको टावरको आधारमा विमान धौलागिरि हिमाली क्षेत्र हुनसक्ने देखायो।

स्थानीयले मानापाथी हिमालको फेदीमा केही जलिरहेको र सो विमान हुनसक्ने सूचना आयो। तारा एयरले न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल क्षेत्रमा खोजी भइरहेको उल्लेख गरेको छ। तर विमान कहाँ हुनसक्छ एकिन भने हुन सकेको छैन।

१२ मिनेटमै विमान सम्पर्क बाहिर

विमान बिहान ९: ५५ बजे चालक दलसहित २२ जना लिएर उडेको थियो। विमान अन्तिम पटक जोमसोम टावरसँग १०: ०७ को समयमा सम्पर्क भएकाले सोही समयमा दुर्घटना भएको आशङ्का गरिएको छ। लगत्तै विमान खोज्न सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन गरिएको थियो। पहिला फिस्टेल एयरको हेलिकप्टर खोजीमा परिचालित भए पनि खराब मौसमका कारण फर्कियो।

पछि पोखरा विमानस्थलबाट सेनाको एमआई १७ हेलिकप्टर खोजीमा खटिएको थियो। तर सो हेलिकप्टर पनि विमान दुर्घटनामा परेको अनुमान गरिएको स्थानमा पुग्न सकेन। धुम्म परेको बादलले अवरोध गरेपछि फर्कियो।

को-को छन् जहाजमा ?

विमान हराएको समाचार बाहिरिएसँगै पोखरा विमानस्थलमा शोकाकुल हुँदै यात्रुका आफन्तहरू पुगेका थिए। तारा एयरले सार्वजनिक गरेको सूची अनुसार विमानमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर थिए।

विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सह पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिए।

तारा एयरबारे उकेरा फलोअप

जेठ १५, २०७९ आइतबार २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।