फेसबुकमा आएको तस्बिर तारा एयर दुर्घटनास्थलको हो त ?

फेसबुकमा आएको तस्बिर तारा एयर दुर्घटनास्थलको हो त ?

काठमाडौँ : हराइरहेको तारा एयरको विमान दुर्घटना भएर आगो बलिरहेको भन्दै आइतबार सामाजिक सञ्जालमा एक तस्बिर आयो। विमान दुर्घटना भएको स्थान भन्दै लेकको माथिल्लो भागमा आगो बलिरहेको तस्बिरमा देखिन्छ।

सो क्षेत्र मुस्ताङको लार्जुङ क्षेत्रको भएको आधारमा सो क्षेत्र केन्द्रित गरेर खोजी तथा उद्धार टोली समेत परिचालित भएका छन्। तर उनीहरू दुर्घटनास्थल दाबी गरिएको स्थानमा पुग्न सकेका छैनन्।

तस्बिर स्थानीय बुद्ध लालचनले सार्वजनिक गरेको सूचना आएको छ। भेडिगोठमाथिको भागमा आगो समेत देखिन्छ तस्बिरमा। तर विमानकै कारण आगो देखिएको हो या अन्य कुनै कारण खुल्न सकेको छैन।

सैनिक प्रवक्ता नारायण सिलवालसँग यसबारे जिज्ञासा राख्दा उनले सञ्जालमा आएको तस्बिरबारे दुर्घटनास्थलकै हो भन्न नसकिने उकेरासँग बताए।

'सामाजिक सञ्जालमा आएकै तस्बिरका आधारमा दुर्घटनास्थलको तस्बिर हो भन्न सकिने अवस्था छैन। जबसम्म खोजीमा खटिएको टिम घटनास्थलमा पुग्दैन तबसम्म केही भन्न सकिन्न,' उनले भने।

प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख डिआइजी दिवेश लोहनीले पनि स्थानीयले भेडिगोठबाट आगो लागेको देखिएको भन्ने जस्ता सूचना आए पनि एकिन हुन नसकेको बताए। केही तस्बिर सामाजिक सञ्जालमा देखिएको तर त्यो दुर्घटनास्थलकै हो भनेर भन्न सक्ने आधार नभएको उनले उकेरालाई बताए।

सो तस्बिर फेसबुकमा राखेका सञ्चारकर्मी निरज तामाङले स्थानीयबाट सो तस्बिर फेला पारेको बताए। हिमाल प्रेसले मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई उद्धृत गर्दै उक्त तस्बिरबारे जानकारी आएको र खोजीका लागि गएको सुरक्षाकर्मीको टोली उक्त फोटो पछ्याउँदै गइरहेको उल्लेख गरेको छ।

‘तस्बिरकै आधारमा लार्जुङ क्षेत्रमा सुरक्षाकर्मीको टोली गइरहेको छ,’ उनले हिमालप्रेससँग भनेका छन्, ‘त्यो जहाज दुर्घटना भएपछिको आगो हो या अन्य कुनै कारणले लागेको भने खुलेको छैन।’

जेठ १५, २०७९ आइतबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।