अँध्यारो र खराब मौसमका कारण हराएको तारा एयर खोज्ने काम रोकियो

अँध्यारो र खराब मौसमका कारण हराएको तारा एयर खोज्ने काम रोकियो

काठमाडौँ : अँध्यारो र खराब मौसमका कारण हराइरहेको तारा एयरको विमान खोज्ने काम सोमबार बिहानसम्मका लागि रोकिएको छ। सैनिक प्रवक्ताका अनुसार अँध्यारो भएको र मौसम समेत खराब भएपछि आइतबारका लागि विमान खोज्ने काम रोकिएको हो।

उनले सोमबार बिहानैबाट विमान खोज्ने काम सुरु हुने ट्विटमार्फत जानकारी दिएका छन्। हवाई र स्थल दुवै स्थानबाट हराइरहेको विमान खोजिए पनि आइतबार कुनै प्रगति भएन। भेडिगोठमा रहेका स्थानीयले मानापाथी हिमालको फेदीमा केही जलिरहेको र सो विमान हुनसक्ने सूचना दिएको आधारमा सो क्षेत्रमा उद्धार टोली केन्द्रित गरिएको थियो।

सामाजिक सञ्जालमा दुर्घटनास्थलको तस्बिर दाबी गर्दै एक तस्बिर समेत सार्वजनिक भएको छ। तर सो तस्बिरको आधिकारिकता पुष्टि भने हुन सकेको छैन। सो तस्बिर फेसबुकमा राखेका सञ्चारकर्मी निरज तामाङले मुस्ताङका एक स्थानीयले आफुलाई सो तस्बिर पठाएको उकेरासँगको कुराकानीमा बताएका थिए। 

पोखरा विमानस्थलबाट जोमसोम जानेक्रममा विमान एकाएक सम्पर्कविहीन भएको थियो। विमान हराएको सूचनासँगै पोखरा विमानस्थलमा विमानमा रहेका यात्रुहरू आफन्तको अवस्थाबारे जानकारी लिन शोकाकुल हुँदै भेला भएका थिए। विमान दुर्घटनामा परेको शङ्का गरिए पनि के भएको हो आधिकारिक पुष्टि हुन सकेको छैन।

विमान दुर्घटना भएको स्थान हुनसक्ने भन्दै फेसबुकमा राखिएको तस्बिर। तस्बिर : निरज तामाङको फेसबुकबाट 

विमानका चालकको मोबाइल नेपाल टेलिकमको टावरसँग सम्पर्कमा आएको भन्दै सम्भावित स्थानमा समेत खोजी केन्द्रित गरिएको थियो। खोजीमा निजी र सेनाको हेलिकप्टरको प्रयोग गरे पनि खराब मौसमका कारण विमानबारे एकिन जानकारी हिल्याउन सफल भएन।

तारा एयरले जारी गरेको विज्ञप्तिमा न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल क्षेत्रमा खोजी भइरहेको उल्लेख गरेको थियो।

पोखराबाट जोमसोमका लागि ९: ५५ मा उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०: ०७ को समयमा सम्पर्क भएको देखिएको थियो। त्यसपछि एकाएक सम्पर्कविहीन भएको विमान र सवार यात्रुबारे केही जानकारी खुलेको छैन।

विमान खोज्न सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन गरिएको थियो। सेनाको एमआई १७ सँगै फिस्टेल एयरको हेलिकप्टर समेत खोजीमा प्रयोग गरिए पनि आइतबार कुनै उपलब्धि भएन।

जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सह पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेका छन्।

जेठ १५, २०७९ आइतबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।