हराएको तारा एयरको विमान मानापाथी हिमालको फेदमा

हराएको तारा एयरको विमान मानापाथी हिमालको फेदमा

काठमाडौँ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मानापाथी हिमालको फेदमा दुर्घटनामा परेको सूचनाको आधारमा खोजीमा खटिएको टोली परिचालित भएको छ। स्थानीयले दिएको जानकारीको आधारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विमान रहेको भनिएको स्थान केन्द्रीय गराइएको छ।

विमान सम्पर्कहीन भएसँगै खोज्न सुरु गरिए पनि खराब मौसमका कारण फेला परेको छैन। विमानमा रहेका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलको लोकेसनलाई समेत आधार बनाएर हवाई र स्थल मार्गबाट खोजी सुरु भएको थियो।

प्रारम्भमा स्थानीयले घाँसा क्षेत्रमा केही पड्किएको आवाज आएको बताएको आधारमा कतै विमान सो क्षेत्रमा दुर्घटनामा परेको हो कि भन्ने शङ्का गरिएको थियो। तर खराब मौसमका कारण एकिन हुन सकेको छैन।

नेपाल टेलिकमको नेटवर्कले मोबाइलको लोकेसन क्षेत्र धवलागिरि हिमाल क्षेत्र आसपास देखाएको थियो।

विमानमा १६ जना नेपाली र ६ विदेशी पर्यटक छन्। विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सह-पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा छन्। तारा एयरले विज्ञप्तिमार्फत विमानको खोजी भइरहेको बताएको छ।

हराइरहेको विमानले आइतबारै २ पटक पोखरा- जोमसोम उडान गरिसकेको थियो। तेस्रो पटक उडानको क्रममा विमान एकाएक हराएको हो। योभन्दा अगाडि पोखराबाट जोमसोमका लागि उडेको समिट एयरको विमान भने सकुशल विमानस्थलमा अवतरण भएको थियो।

जेठ १५, २०७९ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।