तेस्रो उडानमा हरायो तारा एयरको विमानको  स्थल र हवाई मागर्बाट खोजी जारी

तेस्रो उडानमा हरायो तारा एयरको विमानको  स्थल र हवाई मागर्बाट खोजी जारी

काठमाडौँ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान विहान ९: ५५ बाट हराइरहे पनि दिउस साढे ३ सम्म विमानको अवस्थाबारे केही जानकारी खुल्न सकेको छैन। विमान सम्पर्कहिन भएसँगै खोज्न शुरु भए पनि खराब मौसमका कारण सम्भव भएन।

अहिले निजी र सेनाको हेलिकप्टर विमान रहेको सम्भावित स्थानमा हवाई र स्थल मार्गबाट खोजी गरिरहेका छन्। खोजीका लागि स्थानीयबाट आएको प्रारम्भिक सूचनालाई आधार बनाइए पनि अहिले भने विमानमा रहेका क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलको लोकेसनलाई आधार बनाइएको छ।

प्रारम्भमा स्थानीयले घाँसा क्षेत्रमा केही पड्किएको आवाज आएको बताएको आधारमा कतै विमान सो क्षेत्रमा दुर्घटनामा परेको हो कि भन्ने शङ्का गरिएको थियो। तर खराब मौसमका कारण एकिन हुन सकेन। पछि क्याप्टेन घिमिरेको मोबाइलसँग नेपाल टेलिकमको टावरको सम्पर्क भएपछि त्यसैलाई आधार मानेर खोजी भइरहेको छ।

नेपाल टेलिकमको नेटवर्कले मोबाइलको लोकेसन क्षेत्र धवलागिरि हिमाल क्षेत्र आसपास देखाएको छ। सँगै टिटीताल क्षेत्रमा समेत हुनसक्ने भन्दै अहिले यी नै क्षेत्र लक्षित गरेर नेपाली सेनाले हवाई र स्थल मार्गबाट खोजी गरिरहेको छ भने सेना, सशस्त्र र नेपाल प्रहरीको टिम स्थल मार्गबाट समेत खोजीमा खटिएको छ।

पोखरा विमानस्थलमा रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रमुख डिआइजी दिवेश लोहनीका अनुसार अहिले खोजीमा सेनाको एम-१७ हेलिकप्टर समेत खटिएको छ। तर विमानबारे एकिन जानकारी आएको छैन।

सम्पर्कविहीन भएको प्लेन एक पटक मुस्ताङको आकाशमा देखिएर धवलागिरि हिमालतिर गएको सूचना अनि पाइलटको मोबाइलमा देखिएको टेलिकमको नेटवर्कका आधारमा समेत खोजीलाई टिटी ताल र धवलागिरि क्षेत्र केन्द्रीय गरिएको हो।

विमानमा १६ जना नेपाली र ६ विदेशी पर्यटक छन्। विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सह-पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा छन्। तारा एयरले विज्ञप्तिमार्फत विमानको खोजी भइरहेको बताएको छ।

हराइरहेको विमानले आइतबारै २ पटक पोखरा- जोमसोम उडान गरिसकेको थियो। तेस्रो पटक उडानको क्रममा विमान एकाएक हराएको हो। योभन्दा अगाडि पोखराबाट जोमसोमका लागि उडेको समिट एयरको विमान भने सकुशल विमानस्थलमा अवतरण भएको थियो।

जेठ १५, २०७९ आइतबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।