विमानका क्याप्टेनको मोबाइलले टेलिकमको टावर टिप्यो, धवलागिरि हिमाल छेउछाउ देखायो लोकेसन

विमानका क्याप्टेनको मोबाइलले टेलिकमको टावर टिप्यो, धवलागिरि हिमाल छेउछाउ देखायो लोकेसन

काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको विमानका चालक प्रभाकर घिमिरेको मोबाइलले नेपाल टेलिकमको टावर टिपेको देखिएको छ। उनको मोबाइल नेपाल टेलिकमको नेटवर्कको सम्पर्कमा रहेको र सो क्षेत्र धवलागिरि हिमाल आसपास देखिएको हो।

सो विमान मुस्ताङको घाँसामा दुर्घटना भएको शङ्का गरिए पनि अवस्था अझै फेला परेको छैन। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रमुख डिआइजी दिवेश लोहनीका अनुसार मौसमको खराबीका कारण दुर्घटना भएको शङ्का गरेको स्थानमा खोजीका लागि गएको हेलिकप्टरले समेत पत्ता लगाउन सकेको छैन।

खराब मौसमका कारण हेलिकप्टर फर्किएपछि प्रहरी र सेनाको टोली सम्भावित स्थानतिर पैदलै गएका छन्। सेनाको एम-१७ हेलिकप्टर खोजीमा खटिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट आएको सूचनामा सम्पर्कविहीन भएको प्लेन एक पटक मुस्ताङको आकाशमा देखिएको थियो।

आकाशमा देखिएको प्लेन धवलागिरि हिमालतिर गएको देखिएको सूचना अनि पाइलटको मोबाइलमा देखिएको टेलिकमको नेटवर्क समेत सोही क्षेत्र देखाएकाले अहिले खोजी टोली त्यतै केन्द्रित भएको छ। उच्च हिमाली क्षेत्रमा ठ्याक्कै लोकेशन आउन समस्या हुने भन्दै टिटी लेक क्षेत्रमा समेत खोजी भइरहेको छ।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट १६ जना नेपाली र ६ विदेशी पर्यटकसहित तारा एयर (यति)को जहाज जोमसोमका लागि उडेको थियो।  स्थानीयले घाँसाको पहाडमा ठुलो आवाज आएको सुनिएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ। तर घटना भएको स्थानमा अहिलेसम्म प्रहरी पुगेको छैन।

जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सह पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेका छन्।

जेठ १५, २०७९ आइतबार १४:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।