सामुदायिक विद्यालयमध्येकै अब्बल, तर आर्थिक सङ्कटमा: तलबमा सहयोगकै भर, निःशुल्क पढाउन नसकिने डर
बुटवलः राष्ट्रकै अब्बल सामुदायिक विद्यालयहरूमध्येको एक हो- बुटवलको कालिका मानवज्ञान स्कुल। गत वर्षदेखि विद्यालयले अभिभावकविहीन, द्वन्द्वपीडित, अनाथ, अपाङगलाई निःशुल्क पढाउन थालेको छ।
हाल विद्यालयमा १४ जना त्यस्ता विद्यार्थीहरूले निःशुल्क अध्ययन गरिरहेका छन्। उनीहरूलाई छात्रावासमै राखेर विद्यालयले पढाउने गरेको छ।
विद्यालयका प्राचार्य दिनेश थापा गत वर्षदेखि १३ जना द्वन्द्वपीडित, अभिभावकविहीन र एक जना अपाङगता भएका गरी १४ जनालाई निःशुल्क पढाउन थालिएको बताउँछन्।
‘अहिलेका विद्यार्थीहरूलाई कुन स्रोतबाट पालन पोषण, अध्ययन गराउने समस्या छ। दीर्घकालीन स्रोत भएमा हामीले यो संख्या बढाउन सक्छौँ। सरकारसँग लबिङ पनि भइरहेको छ’
विद्यार्थीहरूको अध्ययन खर्च मात्र नभई उनीहरूको औषधी, उपचार, लालनपालन सबै विद्यालयले नै गर्ने गरेको उनले बताए।
छात्रावासमा बसेर निःशुल्क पढ्न चाहनेहरूका लागि निश्चित कोटा निर्धारण गरेर विद्यालयले विज्ञापन गर्ने गरेको छ। त्यसमध्ये आवेदन दिएर छनोटमा परेकाहरूले मात्र विद्यालयमा निःशुल्क पढ्न पाउने उनले बताए।
गत वर्ष छनोटमा परेकाहरू रोल्पा, रुकुम, रुपन्देही, बाग्लुङ, पाल्पा, डोल्पाका छन्। तर, यो वर्ष भने अझै विज्ञापन खुलाउन नसकेको विद्यालयले जनाएको छ।
एउटा विद्यार्थीका लागि मासिक २० हजारभन्दा बढी खर्च हुने र स्रोत व्यवस्थापन नहुँदा अहिले तत्काल विज्ञापन खुला गर्न नसकिएको प्रचार्यले बताए। स्रोत सुनिश्चितता भएपछि विज्ञापन खुला गर्ने विद्यालयको तयारी छ।
‘विद्यार्थी लिएर मात्र भएन। ९ वर्षसम्म उनीहरूलाई पढाउने, खुवाउने, भरणपोषण गर्ने दायित्व विद्यालयको हो। त्यसकारण हामी स्थायी स्रोतको खोजीमा छौँ। प्रदेश सरकारसँग, स्थानीय सरकारसँग हामीले यो कुरा राखेका छौ’, थापाले भने।
उनले स्रोतको दीगो व्यवस्थापन भए अझ बढी विद्यार्थीहरूलाई निःशुल्क अध्ययन गराउन सकिने बताए। ‘अहिलेका विद्यार्थीहरूलाई कुन स्रोतबाट पालन पोषण, अध्ययन गराउने समस्या छ। दीर्घकालीन स्रोत भएमा हामीले यो संख्या बढाउन सक्छौँ। सरकारसँग लबिङ पनि भइरहेको छ’, उनले भने।
पढ्ने इच्छा भएर पनि पढ्न नपाएका विद्यार्थीहरूलाई राज्यले स्रोत उपलब्ध गराएर उनीहरूप्रतिको दायित्वबोध सरकारले लिनुपर्ने उनको भनाइ छ।
विद्यालयमा आठ हजार बढी विद्यार्थी
सामुदायिक विद्यालयमध्ये राष्ट्रकै अब्बलमध्येको एक कालिका मानवज्ञानमा नयाँ शैक्षिक सत्रमा भर्ना हुन विद्यार्थीहरूको लर्को लाग्ने गर्दछ।
निजी विद्यालयहरूसँग कडा प्रतिस्पर्धा गरिरहेका सामुदायिक विद्यालयहरूलाई सरकारले पर्याप्त दरबन्दी त दिँदैन नै स्रोत उपलब्धतामा समेत कन्जुस्याँइ गर्ने गर्दछ।
यो विद्यालयमा यतिको आकर्षण हुनुको कारण हो- अंग्रेजी माध्यमबाट उत्कृष्ट सिकाइ।
वर्षेनी नयाँ विद्यार्थी भर्नाका लागि चार हजारभन्दा बढीले आवेदन दिने गरे पनि विद्यालयको क्षमता, पूर्वाधारको उपलब्धताले गर्दा बढी विद्यार्थी भर्ना हुन सक्दैनन् ।
यो वर्ष विद्यालयले प्राविधिकतर्फ बाहेक जम्मा १४० जनाका लागि मात्र भर्ना खुला गर्यो।
१३ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा चार वटा कक्षामा गरी १४० जना विद्यार्थीलाई मात्र भर्ना गर्न सकिएको विद्यालयका प्राचार्य थापाले बताए।
‘हाम्रो क्षमताअनुसार भर्ना लिएका हौँ। थप भर्ना लिन सक्ने अवस्था छैन। बाहिरबाट आएका विद्यार्थीहरूले पढ्न पाएका छैनन्। हाम्रो स्रोत, साधन पूर्ण परिचालन गर्दा पनि नयाँ भर्ना बढी ल्याउन नसकेको यथार्थ हो’, उनले भने।
हाल विद्यालयमा आठ हजार ७२ विद्यार्थी छन्। साविक कालिका र मानवज्ञान विद्यालय बीच मर्जरपछि कालिका मानवज्ञान विद्यालय बनेको विद्यालयले कालिकानगरको भवनलाई सेक्टर 'ए' र रामनगरको भवनलाई सेक्टर 'बी' बनाइ अध्ययन-अध्यापन गराउँदै आएको छ।
स्रोत व्यवस्थापनमा अभिभावकको भर
राज्यले माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि त्यो केवल घोषणामा मात्र सीमित छ। निजी विद्यालयहरूसँग कडा प्रतिस्पर्धा गरिरहेका सामुदायिक विद्यालयहरूलाई सरकारले पर्याप्त दरबन्दी त दिँदैन नै स्रोत उपलब्धतामा समेत कन्जुस्याँइ गर्ने गर्दछ।
अहिले विद्यालय पनि स्रोत व्यवस्थापनमा अभिभावकको भर पर्नुपर्ने बाध्यता रहेको प्राचार्य थापाले बताए।
विद्यालयमा जम्मा ६२ जना शिक्षक, कर्मचारीको स्थायी दरबन्दी छ। कुल ३३२ जना शिक्षक कर्मचारी यो विद्यालयमा छन्। सरकारले न्यून दरबन्दी दिँदा निजी स्रोतबाट तलब खुवाउने गरी शिक्षक, कर्मचारी राख्नुपर्ने बाध्यता छ।
मासिक तलब खुवाउन र विद्यालय प्रशासन चलाउन अभिभावकको सहयोगको भर पर्नुपर्ने थापाले बताए।
अहिले विद्यालयको मासिक तलब खर्चमा मात्र एक करोड १० लाख रुपैयाँ खर्च हुँदै आएको छ। त्यसमा विद्यालयले १७ वटा सटर भाडामा लगाएको र त्यसबापत मासिक तीन लाख ४० हजार आउने बाहेक विद्यालयको कुनै पनि स्रोत छैन। सबै अन्य खर्चका लागि अभिभावकको भर पर्नुपर्ने उनले बताए।
जेठ १५, २०७९ आइतबार ०८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।