भक्तपुरको एक प्राचीन बस्ती जो बल्ल चोरपुर नामबाट मुक्त हुँदैछ
काठमाडौँ : भक्तपुरको दक्षिण भेगमा अवस्थित छ, एउटा सानो नेवार बस्ती। चोपूँ दय् नाम लेखिएको बस्ती प्रवेशअघि आगनद्धार (गेट) छ। गेटनजिकै पिपल चौतारी छ। छेवैमा परम्परागत शैलीको पोखरी बनाइएको छ। गेटभित्र पसेपछि गणेश मन्दिर आउँछ शुभ कार्यका देवता। अनि मन्दिर प्रवेश लगत्तै दायाँ-बायाँ लहरै छन् घरहरू।
सदियौँदेखि चोपूँ दय् नाम रहिआएको यो बस्ती विजयपुर, चोरपुर हुँदै यति बेला चित्रपुर नामले परिचित छ।
एकाध घर मल्लकालीन शैलीका छन्। अधिकांश कङ्क्रिटका। प्राचीन समयमा सो टोलको भुईँ इट्टाले छाएको भए पनि यति बेला नगरपालिकाले ढुङ्गा बिछ्याएको छ।
यो सबै २०७२ को भूकम्पपछि बदलिएको स्वरूप हो। तर अहिले पनि मुख्य सहरमा झैँ सवारी साधनको होहल्ला अनि मानिसको कोलाहल भिड टोलभित्र छैन।
‘टोलभर नेवारी शैलीका घरहरू थिए। २०७२ सालको भूकम्पपछि परम्परागत शैलीका घरहरू लडे र कङ्क्रिटका घरहरू बने’ टोलकी एक स्थानीय महिलाले सुनाइन्, ‘पुराना शैलीका घरहरू भत्काउन मिल्दैनथ्यो। भूकम्पले भत्काएपछि नयाँ बनाउन सहज भयो। नयाँ संरचना त थपिए, सहज त भयो तर प्राचीन मौलिकता भने खासै देख्न पाइँदैन।’
भक्तपुरको दक्षिणतर्फ रहेको अनन्तलिङ्गेश्वर मन्दिर छेउछाउका गुण्डु, गाम्चा, दधिकोट र लुभुको बिचमा रहेको यो बस्ती यति बेला सूर्य विनायक नगरपालिका वडा नम्बर ४ भित्र पर्छ।
पहिले चोरपुर, अहिले चित्रपुर
उसो त काठमाडौँ उपत्यकाभित्र रहेका अधिकांश स्थानको नाम नयाँ छन्। इतिहास अध्ययनका लागि पुरातात्त्विक उत्खनन र विश्लेषण वैज्ञानिक प्रक्रिया हो। वैज्ञानिक प्रक्रियाअनुसार गएमा त्यहाँ भेटिने अभिलेखमार्फत चोपुको वास्तविकता मौलिकताको अध्ययन तथा विश्लेषणबाट इतिहासको विभिन्न पाटो खुल्ला।
तर हालको चित्रपुर वरपरका बुढापाकालाई सोध्यो भने उनीहरू चित्रपुरलाई चोरपुर भनेर चिन्छन्। त्यहाँकी अर्की एक स्थानीय महिलाले पनि चित्रपुरको नाम चोरपुर सुनेको बताइन्।
‘हाम्रो बाजेहरूले पनि चोरपुरै भन्थे। अहिले हामीलाई त के था र? अचेल त चोरपुर भन्यो भने यहाँ झगडै पर्छ। हाम्रो गाउँलाई यस्तो भन्ने भन्दै सबैले उद्धुम मच्चाउँछन्’ उनले भनिन्, ‘पहिलेजस्तो चोरपुर भन्न मिल्दैन।’
तत्कालीन समयका भक्तपुरका राजा भुपतिन्द्र मल्लको पालामा चित्रपुर वरिपरि ठुलो पर्खाल लगाइएको थियो। पर्खालभित्र हत्तपत्त बाहिरको व्यक्ति पस्न सक्दैनथे।
एक पटक पर्खाल नाघेर टोलभित्र चोर पसेको र चोरलाई टोलभित्रै पुरेकोले त्यस बेलादेखि चोरपुर कहलिन थालिएको कथन वरपरका अधिकांश स्थानीयले सुनेका छन्।
वि.स १९९५ सालमा चोपूँ टोलमै जन्मे हुर्केका ८४ वर्षीय स्थानीय सानु राजथलाले पनि चोरपुरबारे यस्तै यस्तै कहानी सुनेका हुन्। तर आफ्नो स्थानीय भावनासँग जोडिएको बस्तीको वास्तविक नामलाई बाहिरबाट आएका मानिसले बिगारिदिएजस्तो लाग्छ उनलाई।
‘मेरा पालामा यो बस्तीको नाम विजयपुर थियो। मल्ल राजाले आफ्ना छोराको नामबाट विजयपुर राखेका थिए’ उनी सुनाउँछन्, ‘राजा बस्ने बस्ती भएकोले चारैतिर बार लगाइएको थियो। तर त्यसलाई मान्छेहरूले मन गढन्ते कहानी बनाए। बाहिरको अरू मान्छेहरू आएर गाउँलाई चोरपुर नाम राखिदिए। चोरपुर नामले हाम्रो बस्तीकै बदनाम र अपहेलित बनायो। बल्ल अहिले चित्रपुर बन्यो।’
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका एकीकरण गर्ने क्रममा उपत्यकाभित्रको मल्ल शासन अपदस्थ हुन पुग्यो। सो समयमा भक्तपुरका मल्ल राजाहरू अन्यत्र सरेपछि चोरपुर नामकरण गरिएको त्यहाँका स्थानीयहरू बताउँछन्।
चित्रपुरको इतिहास
स्थानीय सामुदायिक विद्यालयका इतिहासका शिक्षक एवम् स्थानीय बासिन्दा आनन्द राजथलाकाअनुसार नेवारी अथवा मल्लकालीन भाषामा ‘चो’ भनेको चुच्चो र ‘पु’ भनेको बस्ती हो। यसर्थ तिनैतिर खाल्डो भएको र चुच्चोमा बनेको बस्ती भएकाले सदियौँदेखि चोपूँ नाम राखिएको हो।
चोपुको पुरा नाम चोपूँ देय् हो। नेवारी भाषामा अचेल देय् भनेको देशलाई जनाउँछ भने मल्लकालमा टोललाई जनाउँथ्यो। १० वा २० घरधुरी भएमा भन्ने ‘ट्वा’ भनिन्थ्यो भने ५० देखि १०० भन्दामाथि घर भयो भने त्यसलाई देय् भन्ने चलन थियो।
सुरुवाती चरणमा करिब १ सय वटा घरधुरी भएको चित्रपुरभित्र यति बेला घर सङ्ख्या तेब्बर पुगेको छ। चोपूँ अपभ्रंश हुँदै र स्थानीय भावनाको शब्दावलीलाई बिगारेर चोरपुर बन्न गएको हो। चोपुबाट चोपुर र त्यसबाट पनि चोरपुर हुन गएकोमा कुनै विभेद नभएको आनन्द राजथलाको बुझाई छ।
बस्तीको चोरपुर नामका कारण आफूहरूले निकै अपहेलित हुनुपरेको र बस्तीको नयाँ नाम राख्न बाध्य बनेको उनी बताउँछन्।
‘२०३६ सालतिरको कुरा हो। यहाँका बालबालिका अरूहरूको विद्यालयमा पढ्न जान्थे। उनीहरूलाई नामले नभई ‘ओए चोरपुरे’ भन्दै होच्याएर बोलाउँथे, हेप्थे। हामी स्थानीयलाई पनि चोरपुरे भनेर चिनाइन्थ्यो’ उनी सुनाउँछन्, ‘त्यसपछि यहाँका स्थानीय र बुद्धिजीवी सबै बसेर ‘बस्तीको नाम र त्यसको पहिचान गतिलो भएन, नराम्रो भो’ भनेर छलफल गरियो। हाम्रो बस्तीमा माथिल्लो तहसम्म अध्ययन गरेका दुई जना इन्जिनियरहरू, पूर्ण कुमार राजथला र बाबुकाजी राजथला हुनुहुन्थ्यो। उहाँहरूले नै चित्रपुर नामकरणको प्रस्ताव गर्नुभयो र हामी सबैको सहमतिमा नाम परिवर्तन भयो। अनि चोपूँ, चोपुर, चोरपुर हुँदै यति बेला चित्रपुर बन्यो।’
चारैतिर पर्खाल, बिचमा पोखरी र मल्लकालीन सम्पदाको बगैँचाको रूपमा यो एउटा सुन्दर बस्ती थियो भन्ने इतिहास अहिलेको पुस्ताले बुढापाकाबाट सुन्दै आएका छन्।
मल्लकालीन समयमा चित्रपुरलाई उपत्यका विशेष गरी पाटनका मल्ल राजाहरूले भारतसँग जोड्ने पूर्वी नाकाको बाटोको रूपमा प्रयोग गर्थे। मल्लहरूले सुन्दर बगैँचाको बस्ती छोडेर अन्यत्र सरेपछि राजाको वंशका मानिसहरूले नै त्यहाँ बसोबास गर्न थालेका बताइन्छ।
चित्रपुरको विशेषता
यस पटकको स्थानीय निर्वाचनको चुनावमा नगरपालिकामा एमालेका उम्मेदवारहरूले जिते। विजयोत्सव मनाउँदा चित्रपुरभित्र र बाहिरका मुख्य सडक र टोलको आँगनमा सूर्यको चित्र कोरिएको थियो।
नगर टोलमा जुनसुकै पार्टीले जिते पनि त्यहाँको मौलिकता बचाउ कुनै पनि पार्टीले नगर्ने र आफ्नो मौलिकताको संरक्षणमा आफूहरू नै सक्रिय बन्नुपर्नेमा स्थानीयहरू निश्चित छन्। त्यसैले त स्थानीयहरूको आँगनमा अझै पनि चित्रपुर नाममा बस्तीको विशेषता झल्किन्छ।
सिजनअनुसार आँगनमा बियर तथा लोकल रक्सी तयार पार्नका लागि बनाइने हरियो गहुँको च्याँख्ला र चिउराको लागि धान हुन्छ। यस पटक भने अधिकांशको आँगनमा तराईबाट ओसारिएको भुस्सासहितको हरियो गहुँ सुकाइएको छ।
‘तराईबाट गहुँ ल्याएर मेसिनमा कुटाउने र त्यसलाई कुवाएर सुकाउने गरिन्छ। बचेको परालको कुन्यो बनाएर तरकारी उत्पादनको समयमा प्रयोग गरिन्छ’ स्थानीय सानु राजथला सुनाउँछन्, ‘पहिले पनि यहाँ यस्तै गरिन्थ्यो। अचेल नयाँ बस्ती बढेकोले खेती गर्ने ठाउँ छैन। उत्पादन छैन। पहिला यसरी उत्पादन गरेको सामान किनबेच गर्न ठिमी, भक्तपुर र काठमाडौँसम्म पुग्थ्यौ। अहिले आफैलाई पनि पुग्दैन।’
उबेला ढिकीबाट टाइचिन चिउरा कुटिन्थ्यो। चित्रपुरको टाइचिन चिउरा अन्यत्र विक्री हुन्थ्यो। चित्रपुरको चिउराको स्वाद र उत्पादन राम्रो भएकोले राम्रो व्यापार हुन्थ्यो।
यति बेला परम्परागत ढिकीलाई आधुनिक मिलले विस्थापित गरिदिएको छ। चिउरा कुट्ने आधुनिक मिलहरू बस्तीदेखि केही मिटरको दुरीमा सारिएका छन्। चिउरा कुट्ने मिलले चिउरा उत्पादनमा सहजता त ल्यायो तर स्थानीयको घाटा भने दोब्बरले बढ्यो।
‘दुख भए पनि त्यो बेला एक बोरा धान ढिकीमा कुट्दा एक बोरा नै फाइदा हुन्थ्यो। दिनरात नभनी ढिकीमा चिउरा कुटिन्थ्यो। धान कम फले पनि पुग्दो थियो। त्यसैले त्यस बेला जग्गा पनि जोडिएन। चिउरामा जति लगानी गर्यो त्यति नै फाइदा थियो रे’ ८४ वर्षीय राजथला सुनाउँछन्, ‘अचेल त धान गहुँ सबै तराइबाट ल्याउनुपर्छ। यहाँको माटोमा धान गहुँ नभई अचेल घरहरू मात्र फलेका छन्। अचेल घाटा बढी छ। तैपनि हाम्रो चित्रपुरको आफ्नै विशेषता छ।’
उसो त चित्रपुर अझै पनि तीन वटा कुराले प्रचलित छ, एउटा यहाँका स्थानीयको परम्परागत चिउरा बनाउने काम। स्थानीय सम्पदा, लोकल नेवारी खाजा र लोकल रक्सी।
‘पहिला-पहिला ढिकीबाट उत्पादन गरेको चिउरा खाने र व्यापार गर्ने गरिन्थ्यो। यो ठाउँ नेवारी खाजा र नेवारी लोकल रक्सीको लागि पनि फेमस छ। खाजा हबको रूपमा पनि विकास भएको छ’ स्थानीय आनन्द राजथला सुनाउँछन्, ‘साथै यो उपत्यकाको सेन्ट्रल विन्दु पनि हो। प्राचीन समयमाझै भौगोलिक रूपले उपत्यकाका तिन जिल्लामध्ये चित्रपुर सेन्टरमा छ। यहाँ विभिन्न विशेषतः थपेर थप आकर्षक बनाउन सकिन्छ।’
चित्रपुरमा आफ्नै खाले विभिन्न जात्रा हुन्छन् । विशेष गरी यहाँ गणेश भगवानको ठुलो जात्रा हुन्छ। हरेक वर्ष चैत ३० गते सुरु भएर वैशाख ३ गतेसम्म जात्रा चल्छ।
यहाँका बासिन्दाहरू रथ तान्न र विस्का जात्रा मनाउन मुख्य काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्रसम्म पुग्छन्।
आफ्नो समुदायभित्रका संस्कृति र चलन चित्रपुरको विशेषता भएको टोलका अर्का स्थानीय दिलीप राजथला बताउँछन्।
‘मच्छिन्द्रनाथलाई उपत्यकाका सबै नेवारहरूले मान्छन्। अलगअलग हुँदैन। तर हाम्रो यस टोलभित्र भने आफ्नै तरिकाले विभिन्न जात्रा र पर्वहरू मनाउने गरिन्छ’ दिलीप सुनाउँछन्, ‘पहिला पहेँलो माटो र इट्टा लगाएर घर बनाइन्थ्यो। घर बलियो हुन्थ्यो। मलाई याद छ, घरभित्र पोतेको माटोमा मौलिकता झल्किने गरी चित्र कोरिएको हुन्थे। अझै पनि बाँकी रहेको हाम्रो मौलिकता नै यहाँको विशेषता हो। यसको संरक्षण हाम्रो कर्तव्य हो।’
दिलीप सानो छदा चित्रपुरमा पानीको निकै अभाव थियो। उनी लगायत स्थानीयले टाढा टाढाबाट पानी बोकेर गुजारा चलाउँथे। गाविस सरकार बनेपछि मात्र चित्रपुरमा पानीको समस्या टरेको थियो। यति बेला चित्रपुरमा पानीको अभाव निकै कम भएको महसुस उनले गरेका छन्।
‘पहिला पानीको कम्ता दुख थियो र ? म सानो छदा यहाँ पानीको समस्या धेरै नै थियो। खोलाको छेउछाउमा बनेका जरुवा (कुवा जस्तो खनेर बनाइएको खाल्डो)को पानी बोकेर पिएको याद छ’ उनी सुनाउँछन्, ‘नुहाउन र लुगा धुन त उतै जानुपर्थ्यो। पहिला साइकल लिएर गाग्री बोकेर काहाकहाँबाट पानी ल्याइन्थ्यो हिसाबै छैन। त्यस बेला हामी दधिकोट गाविसअन्तर्गत थियौ। गाविसले डिप बोरिङ हालेपछि पानीको समस्या हल भयो। अहिले दिन बिराएर पानी आउँछ तर पनि पुग्दो छ।’
नमुना बस्ती
चित्रपुरभित्र नेवार समुदायहरू मात्र छन्। त्यसमध्ये पनि सबैभन्दा बढी प्रजापति, राजपुत्र र राजथलाहरुको रहेको आनन्द बताउँछन्। सम्पदा संरक्षण समितिका संयोजकसमेत रहेका राजथला आफूहरूलाई अल्पसङ्ख्यकको सुचीमा राख्नुपर्ने माग गर्छन्।
‘हामीलाई मल्ल भनिए पनि राजथलाहरु मल्ल वंशकै हुन् या अरू नै वंशका हुन् भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन। वंशाणु अभिलेखहरूमा हेर्दा पनि स्पष्ट छैन’ उनी भन्छन्, ‘हाम्रो जनसङ्ख्या भनेको ५५ सय ६ हजार जति मात्र छ। प्रजापति र राजपुत्रहरूको जनसङ्ख्या भने बढी छ। त्यसैले राजथला भनेको अल्पसङ्ख्यक लोपोन्मुखमा पर्छ। त्यस कारण राज्यले राजथलालाई अल्पसङ्ख्यकमा राख्नुपर्छ भन्ने हाम्रो माग छ।’
करिब २८ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुरलाई चित्रपुरवासीले भक्तपुरको नमुना बस्तीको रूपमा विकास गर्ने कल्पना गरेका छन्। मौलिक संरचना र प्राचीन कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने सोच बनाएका छन्।
‘अब हाम्रा अवशेषहरू, पौराणिक मौलिकता र संरचनाहरूलाई पनि उजागर गर्ने प्रवर्धन गर्नुपर्ने हाम्रो माग छ’ स्थानीय आनन्द राजथला भन्छन्, ‘स्थानीय चुनाव सकिएको छ। सुरुमा यो चोपूँ देयलाई सुर्यविनायक नगरपालिकाको नमुना बस्ती घोषणा गरिदिनुस् भनेका छौ।'
उनी आधुनिकतामा गए पनि मौलिकताको संरक्षण गर्नुपर्ने विषयलाई जोड दिइरहेको बताउँछन्। इतिहास बोकेको बस्ती अस्तित्वमा छ भन्ने जनाउन पोखरी, मल्लकालीन संरचना, ढुंगेधारा, इनार, कुवा पाटी, मठमन्दिर, परम्परागत कार्यशैली आदी सबैको संरक्षणको माग गरिएको उनले बताए।
'स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने सोच बनाएका छौ। यी सबै काम भएमा चित्रपुर साँच्चै नमुना बस्ती बन्छ,’ उनले भने।
जेठ १४, २०७९ शनिबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।