हारको बदला जितबाट लिनेहरू: कसैले पुरानै प्रतिस्पर्धीलाई हराए, कसैले नयाँलाई
बुटवल: २०७४ सालको स्थानीय तह निर्वाचनमा हारेका कतिपय उम्मेदवारहरूले यस पटक जित हासिल गरेका छन्। कतिले आफूलाई पराजित गर्ने उम्मेदवारलाई नै हराएका छन् भने कतिले नयाँ उम्मेदवारलाई।
रुपन्देहीको सैनामैना नगरपालिकामा कांग्रेसका फणिन्द्र शर्मा ०७४ सालमा दुई हजार ७३० मतान्तरले एमालेका चित्रबहादुर कार्कीसँग हारे। अहिलेको चुनावमा उनै कार्कीलाई शर्माले पराजित गरे।
पाँच वर्षपछि हारको बदला जितबाट लिएका शर्माले यस पटकको निर्वाचनमा कार्कीलाई ५८२ मतान्तरले हराए। शर्माले १५ हजार ६८६ मत ल्याउँदा कार्कीले १५ हजार १०४ मत प्राप्त गरे।
रूपन्देहीकै सियारी गाउँपालिकामा कांग्रेसका थानेश्वर घिमिरे ०७४ सालको निर्वाचनमा एमालेका अयोध्या थारुसँग ६५२ मतान्तरले पराजित भएका थिए।
यस पटक घिमिरेले थारुलाई दुई हजार ७७७ मतान्तरले उछिने। घिमिरेले १० हजार ४५ मत ल्याउँदा थारुले सात हजार २६८ मत मात्र प्राप्त गरे।
त्यस्तै प्यूठानको माण्डबी गाउँपालिकामा माओवादी केन्द्रका नवराज अधिकारी विजयी भए। पाँच वर्षअगाडि एमालेका श्रीधर रोकासँग पराजित भएका अधिकारीले अहिलेको निर्वाचनमा उनै रोकालाई पराजित गरे।
०७४ सालमा जम्मा १२ मतले हारेका अधिकारीले अहिलेको निर्वाचनमा रोकलाई २६५ मतले पराजित गर्दै हारको बदला जितबाट लिएका छन्। अधिकारीले तीन हजार ६७६ मत प्राप्त गर्दा रोकाले तीन हजार ४१९ मत प्राप्त गरे।
त्यस्तै प्यूठानकै नौवाहिनी गाउँपालिकामा एमालेका दिलबहादुर थापा विजयी भए। उनले पनि आफ्नो पुरानै प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन्।
०७४ सालमा कांग्रेसका शिवराज रिजाल ९५१ मतान्तरले विजयी भएका थिए। यस पटकको रिजाल ८८४ मतान्तरले पराजित भए।
थापाले ६ हजार ५३६ मत ल्याउँदा रिजालले पाँच हजार ६६२ मत प्राप्त गरे।
यी त केही प्रतिनिधि उदाहरण हुन्। अघिल्लो निर्वाचनमा सँगै प्रतिस्पर्धा गरेका केही उम्मेदवारहरू अहिलेको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए। कतिपयले हारको बदला जितबाट लिए भने कतिपय पुनः पराजित भए। कतिपयले उही उम्मेदवारलाई पुनः पराजित गर्न समेत सफल भए।
जस्तो मायादेवी गाउँपालिकामा। त्यहाँ ध्रुवनारायण चौधरी ०७४ सालको निर्वाचनमा विजयी भएका थिए। स्वतन्त्रबाट उम्मेदवार बनेका रामअधारे अहिरलाई पराजित गरेका थिए।
यसपटक पनि उनै चौधरी अध्यक्ष पद दोहोर्याउन चुनावी प्रतिस्पर्धामा थिए। विपक्षीबाट चुनावी प्रतिस्पर्धामा थिए- अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचन उठेर पराजित भई लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामअधारे अहिर।
उनै अहिरलाई दोस्रो पटक पनि हराउँदै ध्रुवनारायण चौधरी दोस्रो पटक गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्।
अहिलेको निर्वाचनमा चौधरीले पाँच हजार ३८६ मत ल्याउँदा अहिरले चार हजार ९८८ मत प्राप्त गरे।
यस्तै ०७४ सालमा पराजित भएका कतिपय भने अहिले विजयी भएका छन्। तर, नयाँ प्रतिस्पर्धीसँग।
जस्तो बुटवल उपमहानगरपालिकाका खेलराज पाण्डेय।
अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेयले अहिले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे। ३० वर्षपछि बुटवलमा कांग्रेसको साख फर्काए।
तिलोत्तमामा यसअघि एमालेका बासुदेव घिमिरेसँग पराजित भएका कांग्रेसका रामकृष्ण खाँण यो निर्वाचनमा विजयी भए। एमालेका मोहन चापागाईँलाई पराजित गर्दै खाँण दोस्रो प्रयासमा नगर प्रमुखमा विजयी भए।
रुपन्देहीको चुनावी परिणाम हेर्ने हो भने दोस्रो पटक चुनावमा प्रतिस्पर्धा गरेकाहरूमध्ये अपवाद बाहेक धेरैले चुनाव हारेका पनि छन्।
रुपन्देहीका १६ स्थानीय तहमध्ये ११ वटामा प्रमुख तथा अध्यक्षले उही पद दोहोर्याउन चुनावी प्रतिस्पर्धा गरेका थिए। तीमध्ये १० वटा स्थानीय तहका उम्मेदवारले चुनाव हारे।
सैनामैना नगरपालिकाबाट उम्मेदवार बनेका एमालेका चित्रबहादुर कार्की यसपटक हारे। उपाध्यक्षमा विना राना पनि पराजित भइन्।
देवदहमा कांग्रेसका हिरा खत्री उम्मेदवार थिए। उनी एमालेका ध्रुव खरेलसँग पराजित भए।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा मनमोहन चौधरी, सियारी गाउँपालिकामा अध्यक्षमा अयोध्या चौधरी, उपाध्यक्षमा अमृता चौधरी, शुद्धोधन गाउँपालिकाका किशुनचन्द्र चौधरी, सम्मरीमाई गाउँपालिकामा जितेन्द्रनाथ शुक्ला, रोहिणीका सनोजकुमार यादव दोस्रो पटक दोहोरिन उम्मेदवार बनेका थिए। यी सबै पराजित भए।
किन यस्तो भयो ?
राजनीतिक विश्लेषक ऋषि आजात मतदाताले द्रुत गतिमा परिवर्तन खोजेकाले पनि दोहोरिएका उम्मेदवारलाई विश्वास गर्न नसकेको बताउँछन्।
परिवर्तनसँगै समृद्धि पनि मतदाताले खाजेकाले त्यो आशा नयाँ अनुहारमा हुनसक्ने भएकाले मत जायर गर्दा मतदाताले ध्यान दिएको हुनसक्ने उनले बताए।
कतिपय उम्मेदवार वा पात्रको प्रवृत्तिका कारण पनि जनताले नेतृत्त्व अस्वीकार गरेको उनको भनाइ छ।
‘आम नागरिकले पाँच वर्षमा गरेको कामलाई मूल्याङ्कन गरेर मत दिएका पनि हुन सक्छन्। त्यही कारण उसको कामबाट सन्तोष नहुँदाको परिणाम पनि यो होला’, उनले भने।
जेठ १४, २०७९ शनिबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।