बलात्कारविरुद्धको माहौल हेरेर पलका वकिलले पेशी सारेको सार्‍यै

बलात्कारविरुद्धको माहौल हेरेर पलका वकिलले पेशी सारेको सार्‍यै

काठमाडौँ : सौन्दर्य प्रतियोगितामा सहभागी गराएर बलात्कार गरेको भिडियो सार्वजनिक भएसँगै समाजमा बलात्कार र यौन हिंसाविरुद्ध माहौल बन्दै गएपछि अभिनेता पल शाहका वकिलहरूले उच्च अदालतमा दायर गरेको पुर्पक्षको आदेश विरुद्धको निवेदनको  सुनुवाइ सारेको सार्यै छन्।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन परेसँगै अदालतमा वकपत्रकोक्रममा पीडित नाबालिका, उनको परिवार लगायतकाले जाहेरी र अनुसन्धानकोक्रममा दिइएको बयान अस्वीकार गरेका थिए।

बकपत्र पलको पक्षमा आएपछि उच्चबाट धरौटी निस्कने आसमा रहेका पल पक्षका कानुन व्यवसायीहरूले भने अहिले एकपछि अर्को सुनुवाइको मिति सारेको सार्यै गरेका छन्। बिहीबार रहेको पेशी समेत उनीहरूले एक साताका लागि सारेका छन्।

उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बिहीबार सुनुवाइको पेशी तोकिएको थियो। तनहुँ र नवलपुर अदालतको आदेश विरुद्ध चैत १८ र वैशाख १३ मा पलको तर्फबाट उच्च अदालतमा निवेदन परेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा २५ वैशाखमा कृष्ण जोशीको धरौटीको आदेशविरुद्ध निवेदन दिएको थियो।

चैत २४ मा तोकिएको पेशी दुबैपक्षका कारण स्थगित भएको थियो। वैशाख ८ को पेशी शाहका विकलले स्थगित गराएका थिए।

वैशाख १५ को पेशीमा शाहको तर्फबाट अर्को पनि निवेदन परेको भन्दै त्यसलाई पनि साथै राख्न आदेश दियो। वैशाख २२ को पेशीमा सरकारी वकिल कार्यालयको निवेदन पनि सँगै राखेर ल्याउन आदेश आयो।

जेठ ५ को पेशी शाहका कानुन व्यवसायी बिरामी भएको भन्दै पेशी सारे। जेठ १२ को पेशी पनि पल शाहकै कानुन व्यवसायीहरूले निवेदन दिएर सार्न लगाएका हुन्।

जेठ १३, २०७९ शुक्रबार २३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।