ल्यापटपमा भेटिएको भिडियोलाई हतियार बनाएर सात करोडको बार्गेनिङ, मर्मत गर्नेदेखि पत्रकारसम्म हिरासतमा
काठमाडौँ : बनाउन ल्याएको ल्यापटपमा फेला परेको भिडियोलाई हतियार बनाएर सात करोड बार्गेनिङ भएको आरोपमा सात जना पक्राउ परेको प्रहरीले दाबी गरेको छ।
सिनामंगलमा रहेको कम्प्युटर मर्मत केन्द्रमा पुगेको ल्यापटपमा फेला परेको भिडियोलाई देखाएर रकम असुल्न पत्रकारदेखि नेत्रविक्रम चन्द विप्लवको पार्टीमा संलग्न रहेकाहरूसँग सक्रिय रहेको भन्दै उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरूलाई शुक्रवार सार्वजनिक गर्यो।
महाशाखाले उनीहरूमाथि योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी, प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर ७ करोड मागेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने म्याद लिएको छ।
पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा , उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन्। सुजन यस अगाडि प्रहरीसँग मिलेर हिरा लुटेको अभियोगमा २१ महिना जेल परेर छुटेका थिए। धर्मराज थापा, सुरज कार्की र बशन्ता पत्रकार हुन्। पक्राउ परेका उमेश विज्ञापन एजेन्सीमा संलग्न व्यक्ति हुन्।
बशन्ता यस अगाडि चेक बाउन्सको केसमा पक्राउ परेको देखिएको महाशाखाको एक अधिकारीले जानकारी दिए। टेक विक नेत्रविक्रम चन्दको पार्टीमा संलग्न रहेको र उनी यस अगाडि पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा विस्फोट गराइएको कुकर बम केसमा पक्राउ परेका थिए।
सुरज शर्मा र श्रवण कार्की मर्मत गर्न ल्याएको कम्प्युटरमा रहेको ग्राहकको व्यक्तिगत गोपनीयतालाई हतियार बनाएर पैसा उठाउन अन्य व्यक्ति परिचालन गर्न संलग्न देखिएका छन्।
महाशाखा प्रमुख एसएसपी बशन्तबहादुर कुँवरले घटना अनुसन्धानकैक्रममा रहेकाले सबै विवरण खुलाउन नमिल्ने भन्दै भने' यो १० दिनको बिचमा अनुसन्धान गरेर संलग्नहरू पक्राउ गर्न सफल भएको घटना हो। यसबारे विस्तृत अनुसन्धान अझैँ जारी छ।'
पत्रकार, विज्ञापन एजेन्सी अनी नेता मिलेर सात करोड असुल्न हिँडेको आरोपी यी नै हुन्
पूर्व एसएसपीको अनलाइनका पत्रकार सहित सात जना सात करोड रकम असुलीमा पक्राउ
जेठ १३, २०७९ शुक्रबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।