भलबारीमा तत्कालका लागि टर्याे ठुलो दुर्घटना
बुटवल । रुपन्देही तिलोत्तमा भलबारी स्थित नेपाल आयल निगमको डिपो ठुलो दुर्घटनाबाट बचेको छ। भलबारीको बस्ती नजिक रहेको डिपोमा आज आगो लागेको थियो। बिहान ११ः४० बजेको समयमा तेल खनाउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आगलागी भएको थियो।
लागलागिबाट लु २ ख २६५६ नम्बरको ट्याङ्कर पूर्ण रूपमा क्षति पुगेको छ भने लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए। आगलागीबाट ट्रयाङ्करका हेल्पर तिलोत्तमा नगरपालिका ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएको प्रहरी प्रवक्ता पौडेलले बताए। उनको हात र खुट्टा जलेको छ ।
घाइते चौधरीको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको पौडेलले बताए। उनको अवस्था सामन्य रहेको छ। आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले नियन्त्रणका लिएका थिए।
बुटवल तथा भैरहवाको बीचमा रहेको भलवबारीमा खासै आवादी नरहेको अवस्थामा तत्कालीन आवश्यकताका आधारमा ४ बिघा ४ कठ्ठा जग्गामा डिपो निर्माण भएपनि बिस्तारै बजारको विकास हुँदा अहिले त्यो ‘एम्बुस’ जस्तै बनेको छ। २०३९ सालमा स्थापना भएको डिपो अहिले बढ्दो सहरीकरणले गर्दा ठूलो जोखिम निम्त्याउने खतरा बढेको छ।
पटक–पटक यसलाई स्थान्तरण गर्नुपर्ने आवाज उठेपनि अहिले सम्म स्थान्तरण भने हुन सकिरहेको छैन। बजार क्षेत्रसँग जोडिएको यस डिपोमा कुनै पनि कारणले आगालागी भए बस्ती नै सखाप पार्नेछ। ‘डिपोको चारैतिर सहरीकरण बढ्दै गएका कारण थप जग्गा एकिकरण गर्न नसक्ने अवस्था छ। त्यसैले दीर्घकालीन समधानका लागि निगमले भैरहवाको रोहोणी खोला छेउमा किनेको करिब १४ बिघा जग्गामा डिपोको नयाँ निर्माण हुनेछ,’ नेपाल आयल निगम भलबारी डिपोका प्रमुख नवविनोद पोखरेलले भने।
हाल डिपोको क्षमता पेट्रोल ५ लाख १९ हजार लिटर रहेको छ। यसअघि जम्मा १ लाख ४० हजार मात्र रहेकोमा पछिल्लो ५ महिनापछि क्षमतामा अपग्रेड गरिएको छ।
त्यस्तै डिजेल ३० लाख ४० हजार र मट्टितेल १ लाख ४० हजार क्षमता छ। अहिले दैनिक डिपोबाट पेट्रोल ३ लाख लिटर, डिजेल १२ लाख लिटर र मट्टितेल ६ हजार लिटर बिक्री हुने गरेको छ।
भलबारी डिपो अन्तर्गत भैरहवा अञ्चलपुरमा ११ कठ्ठा क्षेत्रफलमा पेट्रोल पम्प, ५ कठ्ठा क्षेत्रफलमा हवाई इन्धन एयरपोर्टमा रहेको छ। डिपोका अनुसार प्रादेशिक कार्यालयतर्फ कार्यालय प्रमुख सहित १० जना अधिकृत, १३ जना सहायक कर्मचारी र १५ जना करार कर्मचारी रहेका छन्। हवाई इन्धन डिपोतर्फ कार्यालय प्रमुख सहित २ जनाअधिकृत, २ जना सहायक तथा १२ जना करार दरबन्दी रहेको छ भने अञ्चलपुरको पेट्रोल पम्पमा १ अधिकृत ६ सहायक सहित १९ जना करार दरबन्दी रहेको छ।
प्रादेशिक डिपो भलबारीमा पेट्रोलियम पदार्थको आयात इण्डियन आयलको बेतालपुर डिपो तथा मुगलसरायबाट पेट्रोल आउने गर्दछ। त्यस्तै डिजल इण्डियन आयलको बेतापुर डिपो तथा निगमको अमलेखगञ्ज डिपोबाट, मटिट्तेल इण्डियन आयलको गोण्डा डिपोबाट, एटिएफ इण्डियन आयलको इलासाबाद डिपोबाट र एलपिजी इण्डियन आयलको बरौनी, मधुरा, कर्नाल तथा पारादिप रिफाइनरीबाट आयात हुने भलबारी डिपोका कार्यालयका प्रमुख नवविनोद पोखरेलले बताए।
डिपो मात्र जोखिममा छैन, रुपन्देहीको बुटवलमा रहेका अधिकांश पम्पहरु पनि घरभित्र सञ्चालन हुँदा खतरा बनिरहेको छ । घरभित्रै पम्प सञ्चालन हुँदा नियमन निकायले खासै चासो देखाएको छैन् । व्यवसायीहरूले समेत हुन सक्ने सम्भावित घटनालाई नजरअन्दाज गरिरहेका छन् । बुटवलमा रहेका कुनैपनि पम्पले मापदण्ड पुरा नगरी पेट्रोलिय पद्धार्थ विक्रि गरिरहेका छन् ।
जेठ १३, २०७९ शुक्रबार १४:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।