उद्दण्ड कार्यकर्ताले घेरिएका बालेन्द्र

उद्दण्ड कार्यकर्ताले घेरिएका बालेन्द्र

बालेन्द्र साहले जिते काठमाडौं महानगरपालिकाको मेयरको चुनाव। आजको दिन उनी जति खुसी को होला र? उनी पक्कै खुसी होलान्।

तर, मेरो विचारमा बालेन्द्र जति खुसी होलान् त्यो भन्दा बढी उनका समर्थकहरु खुसी होलान्। बालेन्द्रका ती समर्थकहरुले उनलाई साँच्चै समर्थन गर्ने र सघाउने हो भने उनले मेयर पदको शपथग्रहण गर्ने बित्तिकै काठमाडौं शहरको फोहोर उठाउन हातमा साबेल र कुचो समातिहाल्नुपर्छ। किनभने, काठमाडौं महानगरपालिकाको मुख्य काम शहरको सफाइ हो। 

अहिले महानगरपालिकाको रुपमा देखिए पनि मुल रुपले यो सफाइ अड्डा नै हो। जुनसुकै शहरको मेयर चुनिए पनि अधिकार, कर्तव्य र दायित्वका हिसाबले कुरा एउटै हो। 

यो स्तम्भकारले बालेन्द्रले शहरको मेयरका रुपमा कुची समात्न पर्ने टिप्पणी गर्दा उनका समर्थकहरुले सामाजिक सञ्जालमा मलाई अमानवीय हिसाबको नकारात्मक गाली गरे।

उनले प्रयोग गरेको झन्डाबारे प्रश्न उठाउँदा उनका अन्ध समर्थक देखिनेले समूहगत आक्रमण गरेकै थिए। समर्थक हुनु र अन्ध समर्थक हुनु फरक कुरा हो। बालेन्द्रको अहिलेको बल काठमाडौं परिवर्तन भएको हेर्न चाहने समर्थक हुन्। खतरा, उनलाई औँला ठड्याए भाँच्नुपर्छ भन्ने अन्ध समर्थक हुन्।

सत्तामा पुगेको मानिस र उसका समर्थकहरुले सडकको मानिसलाई गाली गर्नु राम्रो संकेत होइन। यो ध्रुवसत्य कुरा हो। मलाई त्यसको कुनै दुःख छैन।

बालेन्द्रका समर्थकहरुले आफूले खाएको मिठो खाजाको उपलब्धि मलाई गाली गरेर हासिल गरे होलान्। मैले उठाएको मेयरको कर्तव्यको कुरा बालेन्द्रले बुझेका होलान्। उनले नबुझे पनि यो शहरमा फरक पर्नेवाला केही छैन। उसै पनि नेपाली जनतालाई नेपालका सरकार र संस्थाहरुको स्वभावका बारे कसैले केही बताइरहनु पर्दैन। जीवनयापनको क्रममा उनीहरुले धेरै इन्द्र देखेकाले बालेन्द्रलाई पनि देख्ने ठानेका छन्।   

बालेन्द्र साहले नेपाली जनताले नेपालको लोकतान्त्रिक आन्दोलनका लौहपुरुष मान्दै आएका स्वर्गीय गणेशमान सिंहकी बुहारी सिर्जना सिंहलाई मात दिए। यो मातको मुख्य कारण बालेन्द्र होइनन्। कांग्रेस सभापतिको पदमा चुनाव लडेर भर्खरै शेरबहादुर देउवाबाट मात खाएका प्रकाशमान सिंह यसको मुख्य कारण हुन्।

सिर्जनाको पराजय अन्ततः सिंह परिवारका लागि साँच्चै ठूलो दुर्घटना हो। सभापति पदको चुनावमा हारे पनि जसोतसो कांग्रेसका वरिष्ठ नेताको लहरमा उक्लिन लागेका प्रकाशमानका लागि नराम्रो झट्का हो सिर्जनाको पराजय। 

हुन त प्रकाशमान सिंह यस्ता कुरा फिल गरिरहने मानिस होइनन्। उनी आफैंले पनि यसअघिको संघीय संसदको चुनाव झण्डै-झण्डै हारिसकेका थिए।

उनले प्रयोग गरेको झन्डाबारे प्रश्न उठाउँदा उनका अन्ध समर्थक देखिनेले समूहगत आक्रमण गरेकै थिए। समर्थक हुनु र अन्ध समर्थक हुनु फरक कुरा हो। बालेन्द्रको अहिलेको बल काठमाडौं परिवर्तन भएको हेर्न चाहने समर्थक हुन्। खतरा, उनलाई औँला ठड्याए भाँच्नुपर्छ भन्ने अन्ध समर्थक हुन्।

पत्रकार रवीन्द्र मिश्रले आफूसँग चुनाव लड्ने कुरा उनले सपनामा पनि चिताएका थिएनन्। सामाजिक स्तरमा रवीन्द्रसँग उनको सम्बन्ध मित्रवत थियो। तर उनले नचिताएको कुरा भयो। रवीन्द्रले प्रकाशलाई उनकै चुनाव क्षेत्रमा झण्डै-झण्डै हराएका थिए।

काठमाडौं शहरको बाहिरी भाग अर्थात् चक्रपथ बाहिर प्रकाशमान सिंह खासै लोकप्रिय छैनन्। चक्रपथभित्र, शहरको भित्री भागमा पनि उनी लोकप्रिय होइनन्। उनी आफ्ना पिता गणेशमान सिंहजस्तो नेपाली समाजका रोल मोडल हुन पनि सकेनन्। उनले नेपाल विद्यार्थी संघका नेताका रुपमा जे-जे गरे गरे। त्यसपछि पनि काठमाडौंको पार्टी राजनीतिमा उनी खासै सान्दर्भिक नै रहेनन्।

अहिले काठमाडौंमा कांग्रेस संगठनको अवस्था उराठलाग्दो देखिएको छ। उनको साथमा एक जना पनि गतिला नेता छैनन् काठमाडौंमा। उनले स्थानीय रुपमा काठमाडौंको टोल-टोलमा घुसेर आक्रामक राजनीति कहिले गरेनन्। उनको राजनीतिमा प्रेम सदभावको भूमिका कहिल्यै देखिएन।

काठमाडौंमा एमालेहरुले स्थानीय सामाजिक गुठीहरुमार्फत राजनीति गरे। टोल-टोलमा घुसे। उनीहरु बलिया भए। प्रकाशमानले त्यस्तो काम गर्नु आफ्नो हैसियत गुमाउनु हो भन्ने ठाने। उनलाई लाग्यो, म गणेशमान सिंह र मंगला माँको छोरा। मलाई कसले भोट नदिने? हेरौंला। यो चुनावमा पनि  उनको हुँकार पटक-पटक सुनियो। त्यो हुँकारमा सिर्जना सिंहको विजयको पुकार थिएन। 

मुल कुरा, उनले आफ्नो परिवारको बृहद राजनीतिक आकारलाई ठम्याउनै सकेनन्। उनले आफ्नो सानो र सुखी परिवारलाई नै परिवार ठाने। गणेशमान र मंगला माँको बृहत राजनीतिक परिवारलाई एकताबद्ध राख्ने क्षमता प्रकाश र सिर्जना दुवैमा देखिएन। 

चाक्सीबारीको सिंह निवासबाट पीएल सिंहको निर्वासन स्वेच्छिक थिएन। यो बाध्यात्मक थियो भन्ने कुरा काठमाडौंका बच्चा-बच्चालाई थाहा छ। पीएलले प्रकाशको राजनीतिलाई सघाउन सक्थे। तर प्रकाशले पीएलको चित्त त दुखाए-दुखाए, सर्वमान्य नेताका अनुयायीहरुको चित्त पनि दुखाए।

नेपालको राजनीतिमा सबैका सुरक्षा र आशाका केन्द्र भनेर मानिएका गणेशमान सिंह र मंगलादेवीको पुत्रका कारण पीएल सिंहलाई डाँडा कटाउनु प्रकाशमानको मूर्खता थियो। अहिले वृद्धावस्थामा पनि पीएल सिंह काठमाडौं शहरको सामाजिक मियो हुन् भने यसको कारण गणेशमान सिंह र मंगलादेवी सिंहको व्यक्तित्व नै हो।

काठमाडौं निवासीहरुसँग पीएलको व्यक्तिगत सम्बन्ध जति बाक्लो र जति सौहार्द्रपूर्ण छ त्यो आफैंमा आश्चर्यजनक छ। अहिलेसम्म शहरका सम्भ्रान्त र दरिद्र दुवै वर्गका मानिसले पीएललाई बिर्सिएका छैनन्।

सर्वमान्य नेता गणेशमान सिंह र महिला नेतृ मंगलादेवी सिंहसँग सर्वसाधारण जनताको दह्रो कनेक्सन थिए पीएल सिंह। अहिले चाक्सीबारीसँग जनताको त्यो कनेक्सन टुटिसकेको छ। त्यसको फाइदा अनेक तत्वहरुले उठाएका छन्।

प्रकाशमान सिंह जति गुर्राए पनि, जति गर्जिए पनि उनको बजार भाउ घटेको छ। नेपाली कांग्रेसको काठमाडौं शाखा सबभन्दा गएगुज्रेको अवस्थामा छ। कार्यकर्ताको मूल्यांकनको प्रश्नमा प्रकाशमान सिंह धेरै पछाडि पुगेका छन्।

काठमाडौंको राजनीति धमिलिएको छ। प्रकाशमान सिंहको नेतृत्वको गणेशमान सिंह प्रतिष्ठानले गणेशमान सिंहको व्यक्तित्व उजागर गर्ने एउटै कार्यक्रम ल्याउन सकेको छैन। जनतामा लोकतन्त्रप्रति चेतना जगाउने एउटै उल्लेखनीय कार्यक्रम आयोजना गर्न सकेको छैन। 

प्रकाशमान सिंह जति गुर्राए पनि, जति गर्जिए पनि उनको बजार भाउ घटेको छ। नेपाली कांग्रेसको काठमाडौं शाखा सबभन्दा गएगुज्रेको अवस्थामा छ। कार्यकर्ताको मूल्यांकनको प्रश्नमा प्रकाशमान सिंह धेरै पछाडि पुगेका छन्।

जिल्लाका पुराना कांग्रेसीहरु सर्वमान्य नेता गणेशमान सिंह र महिला नेतृ मंगलादेवी सिंहको सम्मानका खातिर पनि केही बोल्न चाहँदैनन्। तर नयाँ जमानाका कांग्रेसी युवाहरु चुप लागेर बस्ने मनस्थितिमा देखिँदैनन्। अहिलेको स्थानीय निर्वाचनमा कांग्रेसको मत जति पातलिएको छ, त्यसैले प्रकाशमानको पोल खोलिदिएको छ।

काठमाडौंमा राजनीति गर्छु भन्नेले आफ्नो साख जोगाउनु निकै कठिन छ। किनभने, यो ठाउँ सचेत छ। काठमाडौंका मानिसहरुको राजनीतिक प्रशिक्षण पनि त्यही हिसाबले भएको छ। यो ठाउँमा कसैले पनि मतदातालाई टेकेन फर ग्राण्टेड गर्न सक्दैन।

मतदाता प्रकाशमान सिंहसँग चिढिएको छ। नचिढिएको भए, शहरको भित्री भागमा, यसका अन्तर-कुन्तरमा बालेन्द्र साहको स्वागत हुने थिएन। बालेन्द्र साहलाई काठमाडौंले जसरी अपनाएको छ त्यसैगरी बालेन्द्र साहले पनि शहरबासीको सम्मान गर्नुपर्छ। उनका उद्दण्ड कार्यकर्ताहरुले सामाजिक सञ्जालको जसरी दुरुपयोग गरेका छन् त्यो सबैको मनमा चसक्क बिझेको छ।

बालेन्द्र काठमाडौं शहरको मेयरमा निर्वाचित भएका हुन्। काठमाडौं होस् वा ठूला-साना अरु शहर हुन् सबैको औकात र अवस्था भिन्न छैनन्।

केही वर्ष अघिसम्म काठमाडौं शहरलाई दरिद्र देशको सम्पन्न शहर भन्ने गरिन्थ्यो। अहिले त्यो अवस्था छैन। देशसँगै देशको राजधानी शहर हरिकंगाल भइसकेको छ। दरबारमार्ग र नयाँ सडकमा अहिले देखिने उज्यालोमा कुनै चमक छैन। शहरमा एकछाक मात्र खाएर बाँच्न बाध्य मानिसहरुको संख्या बढदो छ। शहरी विकासका काम ठप्प छन्। बागमती, बिष्णुमती र रुद्रमतीका करिडरको खासै विकास हुन सकेको छैन। यस्तो अवस्थामा शहरको मेयर चुनिनु भनेको चुनौतीको सामना गर्नु हो।

नवनिर्वाचित मेयर साहबले यो पुरानो शहरको प्रतिष्ठा कायम राख्न पक्कै पनि सुझबुझ पुर्याउनु हुनेछ। शहरका बासिन्दाले आफ्ना मेयरलाई आफ्नै घर-दैलोमा स्वागत गर्न चाहेका छन्। यो कुरा मेयर बालेन्द्र साहले पक्कै बुझ्नुभएको हुनुपर्छ।

जेठ १३, २०७९ शुक्रबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।