एमाले ९, माओवादी २५ र समाजवादी ६३ जिल्लामा शून्य
काठमाडौं : ७५३ स्थानीय तहमध्ये ३२९ स्थानमा जित हासिल गर्दै नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्यो। २०७४ सालको निर्वाचनमा २६६ स्थानीय तह जितेको कांग्रेस आफ्नो आकार बढाएर पहिलो पार्टी बन्न सफल भयो।
२०७४ को स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तह जितेर पहिलो बनेको एमाले २०५ स्थानमा जित्दै लिँदै दोस्रो स्थानमा खुम्चियो। गत निर्वाचनमा १०६ स्थानीय तह जितेर तेस्रो भएको माओवादी यस पटक केही सिट थप्दै १२१ तहमा जित निकालेर तेस्रोमै सीमित भयो।
३० स्थानीय तह जितेर जसपा चौथो पार्टी बनेको छ भने एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी २० स्थानीय तहमा विजयी भएको छ। स्थानीय निर्वाचनमा पहिलो पटक सहभागी भएको एकीकृत समाजवादीको हैसियत पाँचौं दलका रुपमा देखियो। लोसपाले १६ स्थानीय तह जित्दै छैटौं बन्यो।
यो स्थानीय चुनावमा कांग्रेस दुई जिल्लामा निल भएको छ। कांग्रेस सुदूरपश्चिम प्रदेशको दार्चुला र लुम्बिनी प्रदेशको रुकुम पूर्वमा निल भएको हो।
प्रमुख प्रतिपक्षी एमालेले भने ९ जिल्लामा एक पालिका पनि जित्न सकेन। एमाले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखा, अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा शून्यमा पुगेको हो। यस्तै हुम्ला, मुगु, कालिकोट, जुम्ला, बाँके र रुकुम पूर्वमा पनि एमालेले कुनै पनि स्थानीय तहको प्रमुखमा जित्न सकेन।
माओवादी केन्द्र देशका विभिन्न २५ जिल्लामा निल देखिएको छ। झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा महोत्तरी, पर्सा, काठमाडौँ, ललितपुर र भक्तपुर, माओवादीले रसुवा, लमजुङ, स्याङ्जा, कास्की, मुस्ताङ, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पूर्व, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, मनाङ र बाजुरामा शून्य भयो।
पहिलो पटक स्थानीय तहमा परीक्षण गरेको एकीकृत समाजवादी ६३ जिल्ला निल भएको छ। १४ जिल्लामा मात्रै निर्वाचन परिणाम आफ्नो पक्षमा पारेर उपस्थिति जनाएको छ।
एकीकृत समाजवादी उदयपुर, सप्तरी, सिरहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, डोल्पा, मुगु, सल्यान बझाङ, कैलाली र कास्कीमा उपस्थिति जनाएको छ।
मधेश केन्द्रित दलबाट देशभरको दल बन्न खोजेको जसपाले १० जिल्लामा उपस्थिति देखायो। जसपाले सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु र बाँकेमा जित निकालेको छ।
लोसपाले ७ जिल्लामा उपस्थिति देखायो। उसले सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र कपिलवस्तुमा पालिका प्रमुख जितेको छ।
निर्वाचनको पूर्वसन्ध्यामा आमसभामा मास देखाएको राप्रपाले जनलहर छ कि क्यो हो भन्ने देखायो। तर उसले तीन जिल्लामा उपस्थिति देखायो। झापा, काठमाडौं र कपिलवस्तुमा राप्रपाले स्थानीय तह प्रमुख जित्यो।
सत्ता साझेदार दल जनमोर्चाले बाग्लुङ, प्युठान र अर्घाखाँचीमा स्थानीय तह प्रमुख जितेको छ।
पृथकतावादी अभियानबाट मूलधारको राजनीतिमा आएका डा. सिके राउतको जनमत पार्टीले सप्तरीको २ स्थानीय तह जित्यो। जनमत पार्टी पनि पहिलो पटक निर्वाचनमा आएको हो।
वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील साझा पार्टीले बारामा एक स्थानीय तह प्रमुख जितेको छ। पार्टीले हार व्यहोरेपछि पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले राजीनामा दिएका छन्।
नेमकिपाले भक्तपुरको भक्तपुर नगरपालिका जित्यो तमलोपाले महोत्तरीको महोत्तरी गाउँपालिका जित्यो।
*एमालेले एक सिट पनि जित्न नसकेका जिल्ला ९ हुनुपर्नेमा १० भएकाले सच्याइएको
जेठ १३, २०७९ शुक्रबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।