गृहमन्त्री खाँणको वडामा एमाले विजयी
बुटवल : गृहृमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको वडा तिलोत्तमा ८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। गठबन्धनको तर्फबाट वडाअध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका केशवराज अर्याललाई हराउँदै एमालेका कृष्ण पौडेल निर्वाचित भएका हुन्।
पौडेलले १८९ मतको अन्तरले अर्याललाई पराजित गरेका हुन्। वडामा खसेको ३ हजार ४ सय ६८ मत मध्ये एमालेका पौडेलले १ हजार ६१५ मत पाएर बिजयी हुँदा अर्यालले १ हजार ४२६ मत पाए।
वडा नं.८ गठबन्धनबाट मेयरका उम्मेदवार बनेका रामकृष्ण खाण र नगरसभापति हरिलाल पाण्डेको पनि वडा हो। खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन्। १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा अब वडा नं.७ र ९ को अन्तिम मतपरिणाम आउन बाँकि छ। निर्वाचन कार्यालयका अनुसार आजै रातीसम्म नगरपालिकाको सम्पूर्ण मतपरिणाम आउने छ।
जेठ १२, २०७९ बिहीबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।