पोखराका मेयर आचार्यको निर्णय: पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गर्ने
पोखरा : पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरले पदभार ग्रहण गरेका छन्। बिहीबार मेयर आचार्यले पदभार ग्रहणगरेपछि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई अनुरोध गर्ने लगायत विभिन्न निर्णय गरेका छन्। त्यसैगरी न्यून आय भएका पोखरेलीका छोराछोरीका लागि आगामी आर्थिक वर्षदेखि वडा कार्यालयको सिफारिसको आधारमा पोषण भत्ता दिने निर्णयसमेत गरेका छन्।
पोखराको पहिचानका लागि मानव निर्मित आकर्षक परियोजना निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि ‘सिम्बोल अफ पोखरा’ बनाउने निर्णय गरेका छन्। परियोजनाको झल्को दिने ‘सिम्बोल अफ पोखरा’ को अवधारणा तयार पार्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिइने गरी आह्वान गर्ने अर्को निर्णय भएको छ।
एक महिनाको समयसीमा तोकेर आह्वान गरिएको ‘सिम्बोल अफ पोखरा’ को परिकल्पनाको डिजाइन गर्ने उत्कृष्टलाई २ लाख रुपैयाँको पुरस्कार दिइने छ।
अक्सफोर्ड युनिभर्सिटी र पेरिस जाँदा त्यहाँ गएर तस्बिर खिच्दा त्यहाँ पुगेको प्रस्टिए जस्तै पोखरामा पनि कुनै व्यक्ति पुगेको पहिचान झल्कने सिम्बोल तयार गर्न चाहेको मेयर आचार्यले बताए।
त्यसैगरी महिला हिंसा विरुद्धको ऐक्यबद्धताका लागि चेतना कार्यक्रमलाई निरन्तरता, महानगरका अपांगता भएका बालबालिकाको शिक्षामा समान पहुँच स्थापित गर्ने, पोखराको सडकका बीचका डिभाइडर भएका ठाउँहरूमा आकर्षक डिजाइन गरेर विभिन्न प्रजातिका फूलहरुले आकर्षक बनाउने समेत निर्णय गरेका छन्।
मेयर आचार्यलाई आज नै कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनी पोखरा महानगर पुगेर पद बहाली गरेका हुन्।
जेठ १२, २०७९ बिहीबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।