एमाले सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरिएको ओलीको आरोप
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा प्रतिपक्षलाई सिध्याउन घोषित रुपमै राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोप लगाएका छन्।
आजदेखि संसदमा सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले स्थानीय निर्वाचन शान्तिपूर्ण नभएको र एमालेलाई सिध्याउन कतिपय ठाउँमा धाँधलीसमेत गरिएको बताए।
‘मैले त निर्वाचन शान्तिपूर्ण रुपमै भयो होला भन्ने ठानेको थिएँ,' उनले भने, 'दुर्गम र दूरदराजको रिपोर्ट आएपछि पो थाहा पाएँ, धाँधली गरेर पो एमालेलाई हराइएको रहेछ। कति ठाउँमा बुथ कब्जा भएका रहेछन् त कति ठाउँमा बम पड्काइएछन्।’
ओलीले यस्तो चुनाव त पञ्चायतमा समेत नभएको टिप्पणी समेत गरे। 'यही गठबन्धन २०७४ सालमा पनि थियो। त्यो बेलामा यस्तो चुनाव भएको थिएन। यति आक्रामण र हिंसात्मक भएको थिएन। अहिले त कीर्तिमान नै राख्यो।'
उनले सत्तापक्षप्रति कटाक्ष गर्दै भने, ‘सतापक्षले प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो? चुनावमा जित्न सक्छौैँ भन्न सकिन्छ। तर समाप्त पारिदिन्छौं। धुलो चटाइदिन्छौँ। गायब गराइदिन्छौँ। टर्च बालेर खोज्नुपर्छ। टर्च बालेर पनि भेटिँदैन होला होइन्? त्यहाँ पुर्याउने?,’
'एकातिर नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति र प्रतिवद्धताको कुरा गर्ने अनि अर्कातिर विपक्षीलाई समाप्त पार्न सम्पूर्ण राज्यशक्ति लगाउने? यस्तो पनि हुन्छर?,' ओलीले प्रश्न गरे।
अहिलेको सरकार जस्तै नीति तथा कार्यक्रम पनि जेरी जस्तै गुजुल्टिएको बताउँदै उनले यो नीति तथा कार्यक्रमको कुनै गन्तव्य नभएको बताए। उनले भने, 'एउटै बुँदामा ठाउँ-ठाउँमा अन्तरविरोध छ। यो मस्यौदा गठबन्धनको आफ्नो होइन, अन्त कतैको प्रतिवेदनका आधारमा आएको छ।'
जेठ १२, २०७९ बिहीबार ११:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।