सुदूरपश्चिम निर्वाचन : एकीकृत समाजवादी नागरिक उन्मुक्ति पार्टीभन्दा पनि पछि

सुदूरपश्चिम निर्वाचन : एकीकृत समाजवादी नागरिक उन्मुक्ति पार्टीभन्दा पनि पछि

काठमाडौं : ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा ४० स्थानीय तहको प्रमुख जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ। 

यो प्रदेशमा नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र चार महिनाअघि गठन भएको दल नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति बन्दा एकीकृत समाजवादी भने पाँचौमा खुम्चिएको छ।

सुदूरपश्चिममा नेकपा एमालेले २५, माओवादी केन्द्रले १४ र नागरिक उन्मुक्ति पार्टीले चार वटा स्थानीय तह जितेका छन्। एकीकृत समाजवादीले भने दुई पालिकामा मात्र प्रमुख जितेको छ।

दार्चुलामा कांग्रेस, डडेल्धुरामा एमाले र बाजुरामा माओवादी पालिका प्रमुखमा शून्य भएका छन्। एकीकृत समाजवादी ७ जिल्लामा शून्य भएको छ। नागरिक उन्मुक्तिले भने कैलालीमा मात्र चार पालिका जितेको छ।

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवारले प्रमुख जितेका छन्। बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन्। बाजुराको बूढीगंगा नगरपालिकामा विवादका कारण मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय नै टुंगो लागेको छैन। 

बाजुरा
९ स्थानीय तह रहेको बाजुरामा बुढीगंगामा मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय टुंगो लागेको छैन। बाँकी मतपरिणाम सार्वजनिक भएका ८ मध्ये एमालेले ५ स्थानीय तहमा प्रमुख जितेको छ भने कांग्रेसले ३ स्थानीय तह जितेका छ। 

गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडीमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका एमालेले जित्दा त्रिवेणी नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकामा कांग्रेसले जित्यो। बाजुरामा माओवादी र एकीकृत समाजवादी शून्य भए। 

अछाम
१० स्थानीय तह रहेको अछाममा कांग्रेसले ७ स्थानीय तह प्रमुख जित्दा एमालेले २ र माओवादीले १ स्थानीय तह जित्यो। कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ नगरपालिका, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकामा कांग्रेसले जित निकाल्यो। तुर्माखाँद गाउँपालिका र मंगलसेन नगरपालिका एमालेले जित्दा मल्लेख गाउँपालिकामा माओवादी विजयी भयो। अछाममा एकीकृत समाववादी पालिका प्रमुखमा शून्य भयो।

बझाङ 
१२ स्थानीय तह रहेको बझाङमा कांग्रेसले ६, एमालेले ३, माओवादीले २ र एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ। 

खप्तडछन्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका, बुगंल नगरपालिका, मष्टा गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिकामा कांग्रेसले जित्दा साइपल गाउँपालिका, तलकोट गाउँपालिका, चलारा गाउँपालिका एमालेले जित्यो। 

छबीसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका माओवादीले जित्दा केदारस्युँ गाउँपालिका एकीकृत समाजवादीले जित्यो। 

डोटी 
९ स्थानीय तह रहेको डोटीमा कांग्रेसले ७ स्थानीय तह जित्दा एमाले र माओवादीले १/१ स्थानीय तह जितेका छन्। आदर्श गाउँपालिका, केआइसिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, बडिकेदार गाउँपालिका, शिखर गाउँपालिका, सायल गाउँपालिका कांग्रेसले जित्यो। 

जोरायल गाउँपालिकामा एमालेले जित्दा बोगटान फुड्सिल गाउँपालिका माओवादीले जित्यो। 

कैलाली 
१३ स्थानीय तह रहेको कैलालीमा राष्ट्रिय दलहरु पछि परे। अन्यले ५ स्थानीय तह जित्दा कांग्रेसले ३, एमाले र माओवादीले २/२, एकीकृत समाजवादीले १ स्थानीय तह जिते। जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका,  भजनी नगरपालिका गरी ४ स्थानीय तह प्रमुख जित्दै नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो पार्टी बन्यो।

कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र लम्कीचुहा नगरपालिका कांग्रेसले जित्दा गौरीगंगा नगरपालिका, मोहन्याल गाउँपालिका माओवादी, चुरे गाउँपालिका, बर्दगोरिया गाउँपालिका एमालेले जिते। घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले जित्दा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जिते। 

दार्चुला 
९ स्थानीय तह रहेको दार्चुलामा कांग्रेस पालिका प्रमुखमा शून्य भएको छ। एमालेले ५ स्थानीय तह र माओवादीले ४ स्थानीय तह जित्यो। दुहुँ गाउँपालिका, व्यास गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर गाउँपालिकामा एमालेले जित हात पार्यो।

माओवादीले  दार्चुलामा अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका जित्यो। जिल्लामा एकीकृत समाजवादीले पनि पालिकामा एक स्थानीय तह पनि जित्न सकेको छैन।

बैतडी  
१० स्थानीय तह रहेको बैतडीमा कांग्रेस र एमालेले ४/४ स्थानीय तह जितेका छन्। माओवादीले १ स्थानीय तह जित्दा अन्यले पनि १ स्थानीय तह जितेका छन्। पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका प्रमुख कांग्रेसले जित्यो।

दशरथचन्द नगरपालिका, दोकडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्यना गाउँपालिका प्रमुख एमालेले जित्यो। मेलौली नगरपालिका माओवादीले जित्दा डीलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले जिते। 

डडेल्धुरा 
७ स्थानीय तह रहेको डडेलधुरामा ५ स्थानीय तह कांग्रेसलले जित्दा २ मा माओवादीले जितेको छ। अतिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, परशुराम नगरपालिका र भागेश्वर गाउँपालिका कांग्रेसले जित्यो। अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिका माओवादीले जित्यो। डडेल्धुरामा पालिका प्रमुखमा एमाले शून्य भएको छ।  

कञ्चनपुर 
९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा कांग्रेसले ५ स्थानीय तह जितेको छ। एमालेले ३ र माओवादीले १ स्थानीय तह जितेको छ। कृष्णपुर नगरपालिका, पुर्नवास नगरपालिका, बेलडाडी गाउँपालिका, भीमदत्तपन्त नगरपालिका, वेदकोट नगरपालिका नगरपालिका कांग्रेसले जितेको छ।

दोधारा चाँदनी नगरपालिका, लालझाँडी नगरपालिका र सुक्लाफाँटा नगरपालिका एमालेले जित्यो। बेलौरी नगरपालिका माओवादीले जित्दा एकीकृत समाजवादी कञ्चनपुरमा स्थानीय तह प्रमुख जित्न सकेन। 

जेठ १२, २०७९ बिहीबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।